कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठले कतारका श्रममन्त्री डा.अलवीन समिख अल मारीसँग भेटवार्ता गरेका छन्।
भेटमा नेपाल–कतार सम्बन्धका साथै आपसी हितका विषयमा छलफल भएको थियो। मन्त्री श्रेष्ठले नेपाल र कतारबीच श्रम सम्झौता नवीकरणका लागि नेपाल सरकारले पठाएको मस्यौदाबारे मारीलाई जानकारी गराएका छन्।
सो क्रममा कार्यदलस्तरमा छलफल गरी मस्यौदालाई छिट्टै अन्तिम रुप दिने र नेपालमा हस्ताक्षर समारोह आयोजना गर्ने सहमति भएको श्रम मन्त्रालयले जनाएको छ। मन्त्री श्रेष्ठले समकक्षी मारीलाई हस्ताक्षर समारोहमा उपस्थितिका लागि नेपाल निमन्त्रणा गरे
गत मंसिरमा काठमाडौंमा भएको नेपाल-कतार संयुक्त समितिको चौथो बैठकमा भएका निर्णय कार्यन्वयनबारे पनि उक्त भेटवार्तामा छलफल भयो।
नेपाल-कतार संयुक्त समितिको चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको थियो।
कतारमा काम गरेर फर्केका नेपालीहरूको आर्थिक सामाजिक पुनः एकीकरणमा सघाउन नेपालले प्रस्ताव गरेको छ। नेपालबाट लैजाने श्रमिकको दक्षता वृद्धिका लागि कतार सरकारले नेपालका सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्न सहयोग गर्ने जनाएको थियो।
भेटवार्तामा श्रमिकको सामाजिक सुरक्षाको प्रत्याभुति गर्ने, कार्यस्थलमा सुरक्षा, स्वास्थ्य र बीमाको व्यवस्था, सामाजिक सुरक्षामा सहभागिता लगायतका विषयमा पनि छलफल भएको छ। मन्त्री मारीले कतारमा आयोजना हुने विश्वकपमा नेपाली श्रमिक लैजान इच्छुक रहेको बताएका छन्।
भेटवार्तामा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा थानेश्वर भुसालका साथै नेपाली दूतावासका अधिकारीहरू उपस्थित थिए। कतारको श्रम मन्त्रालयका सचिव मोहम्मद हसन अल लवाद्ली समेत थिए।
नेपाल र कतारबीच दौत्य सम्बन्ध स्थापना भएको करिब तीन दशक भइसकेको छ। श्रम आप्रवासनलाई व्यवस्थित र सुरक्षित गर्न नेपाल र कतारबीच सन् २००५ मा श्रम सम्झौता भएको हो।