नेपाल चेम्बर अफ कमर्स तथा वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारी र कार्य समिति सदस्यबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले हाल देशमा भएको तरलताको अभावले अर्थतन्त्रमा शिथिलता देखिएको र ब्याजदरमा भएको वृद्धिले लगानीको वातावरणमा हास आएको विषय अवगत गराए।
यसै सन्दर्भमा निजी क्षेत्र साझा अवधारणा लिएर अगाडी बढ्नु पर्ने र कृषिलाई निजी क्षेत्रले उद्यमको रुपमा प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए।
अध्यक्ष मल्लले वीरगंज उद्योग वाणिज्य संघ पनि नेपाल चेम्बर अफ कमर्स जस्तै पुरानो संस्था भएको बताउँदै व्यवसायीका हक-हितका विषयमा दुई संस्थाबीच
एकीबद्धता रहनु आवश्यक रहेको बताए। उनले देशको बिग्रदो अर्थतन्त्रलाई सुधार्न सामयिक सुधारका सुझाव समेत दिए।
वीरगंज प्रमुख औद्योगिक नगर भएकोले निर्यात गृहको अवधारणामा निर्यात प्रबर्धनको लागि अग्रसर हुनुपर्ने बताउँदै यसमा नेपाल चेम्बर र अफ कमर्स सहकार्य गर्न तयार रहेको समेत उनले उल्लेख गरे। बढ्दो व्यापार घाटालाई पूर्ति गर्न कृषिको उत्पादकत्वमा जोड दिनुपर्ने र यसको लागि कृषि क्षेत्रको व्यावसायीकरण तथा उत्पादकत्वमा वृद्धि गर्न जिल्लास्थित उद्योग वाणिज्य संघको पनि भूमिका महत्वपूर्ण रहेको बताए।
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध गुप्ताले व्यावसायीहरू जुनसुकै क्षेत्रका भएता पनि चुनौतिहरू साझा रहेको उल्लेख गरे। उनले नेपालको ट्रान्जिटको लागि भारतका सबै बन्दरगाहहरूबाट नेपालमा सामाग्री ल्याउन खुला हुन आवश्यक रहेको समेत बताए।
उनले पर्यटन क्षेत्रमा भारतीय पर्यटकको ठुलो योगदान रहेको तर भारतीय पर्यटकहरू नेपाल आगमनमा वृद्धि गर्न २५ हजार रुपैयाँ मात्र बोक्न पाउने, भारतीय ठुला नोटहरू नचल्ने, डेबिट-क्रेडिट कार्ड भरपर्दो नरहेको कारणले असहज रहेको विषय खुलाए।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठ तथा वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष माधव राजपाल उपाध्यक्ष हरी गौतम, महासचिव मनोज कुमार दास, सह-कोषाध्यक्ष प्रेमचन्द गोयल लगायतको उपस्थिति थियो।