सिजी उन्नती कल्चर भिलेजको ‘उन्नती मेला’ सम्पन्न भएको छ। नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका हर्कपुरस्थित सिजी उन्नती कल्चरल भिलेजले आफ्नो स्थापनाको पहिलो वर्ष पुरा गरेको अवसरमा ‘उन्नती मेला’को सम्पन्न गरेको हो।
कला, संस्कृति, साहित्य र खानाको समिश्रण रहेको मेलामा पन्चेबाजाको संगीत, मगर र थारु नाच र स्थानीय कलाकारहरूको प्रस्तुतीहरू मेलाको प्रमुख आकर्षण बन्यो। स्थानीय महिला र विभिन्न समुदायका हस्तकला र सिर्जनाहरू प्रदर्शनमा राखिएको मेलामा कलाकारहरू, संस्कृति एवं कला प्रेमीलगायत उत्साही सर्वसाधारणहरूको जमघट थियो।
उन्नती कल्चरल भिलेज चौधरी फाउन्डेसनको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालित छ। नेपाली सांस्कृतिक र कला सम्पदाको संरक्षण र प्रवर्धन गर्दै महिलाहरूको नेतृत्वमा लघु उद्यमीहरूमार्फत महिला सीप र क्षमता निर्माण गर्न उन्नती कल्चरल भिलेज क्रियाशिल छ। उन्नतीले आफ्ना गतिविधि तथा कार्यक्रमहरूलाई आगामी दिनमा सातवटै प्रदेशमा सञ्चालन गर्ने लक्ष्य राखेको छ ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव देवेन्द्र लामिछानेले गत फागुन २८ गते मेलाको शुभारम्भ गरेका थिए। कार्यक्रममा उनले कला, संस्कृती र साहित्यलाई उद्यमशीलता र रोजगारीसँग जोड्नुपर्ने आवश्यकता औलाएका थिए।
उक्त अवसरमा गैंडाकोट नगरपालिका नगरप्रमुख चन्द्रराज पौडेलले परम्परागत जीविकोपार्जनको महत्वबारे जोड दिँदै मौलिक कला र संस्कृतिको संरक्षण र प्रवर्धनका लागि जनस्तरबाटै लग्नुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरेका थिए। उनले उन्नती कल्चरल भिलेजले आफ्नो स्थापनाको छोटो समयमै स्थानीय मौलिक कला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको समेत बताए।
चौधरी फाउन्डेसनकी निर्देशक सुरभी चौधरीले भिलेजको उदेश्य अनुरुप सातै प्रदेशमा नमुना सांस्कृतिक घर निकट भविष्यमा निर्माण गरिने बताइन्। सो अवसरमा सिटिइभिटिका प्रमुख प्रमोद आचार्यले साना उद्यमी र व्यवसायी उत्पादन गर्नका लागि आफ्नो संस्थाले चौधरी फाउन्डेसनसँग सहकार्य गर्न तयार भएको बताए।
कार्यक्रममा नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, वरिष्ठ कलाकार गोपाल कलाप्रेमी लगायतको उपस्थिति थियो। चौधरी फाउन्डेसनका प्रबन्ध निर्देशक राहुल चौधरीले आगामी दिनमा फाउन्डेसनले यस्ता कार्यक्रम जारी राख्ने समेत बताए।
मेलाका अवसरमा चौधरी फाउन्डेसन र भिक्कु सेभिङ एन्ड क्रेडिट कोअपरेटिभकाबीच स्थानीय कला, संस्कृत र सिपको विकास गर्दै स्थानीयको स्तर उन्नती गर्नेसम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएको थियो।
मेलामा करिअर कार्यशाला र आर्ट कार्यशालाको पनि आयोजना गरिएको थियो। सोही अवसरमा भविष्यमा कला प्रदर्शनीलगायतका विभिन्न कार्यक्रम आयोजना गर्नकालागि निर्माण गरिएको ‘कला दीर्घ’को उद्घाटन गरिएको थियो।