पछिल्लो समय होटल व्यवसायमा लगानी बढ्दै गएको छ। केही समयअघि सहरकेन्द्रित व्यवसायीहरू खुला र स्वच्छ वातावरण खोज्न थालेका छन्। विदेशी पर्यटकका लागि सीमा-नाका तथा विमानस्थलबाट नजिक। घुमघामपछि बस्न पायक पर्ने ठाउँ। होटलमा साजसज्जा र आकर्षक सेवासुविधा थपिरहेका छन्।
यस्तै सेवासुविधालाई मध्यनजर गर्दै पूर्वी जिल्ला झापामा पाँचतारे डिलक्स होटल 'मेची क्राउन' सञ्चालनमा आएको छ। पूर्वको मुख्य नाका काकडभिट्टा र पर्यटनको राम्रो सम्भावना देखेर होटल बनाइएको सञ्चालकहरू बताउँछन्। धुलाबारीमा रहेको मेची क्राउन प्रदेशकै पहिलो र एक मात्र डिलक्स पाँचतारे होटल हो।
झापाको भद्रपुर विमानस्थलबाट १७ किलोमिटर र भारतको बागडोग्रा विमानस्थलबाट २५ किलोमिटर दुरीमा रहेको यो होटल गत वैशाख १ गतेबाट सञ्चालनमा आएको हो। होटलमा पर्यटन व्यवसायीहरू पवित्रकुमार कार्की, सुरेशमान श्रेष्ठ, राजकुमार बस्नेत, रामबहादुर गौतम र बलराम सापकोटाले डेढ अर्ब लगानी गरेका छन्।
होटल व्यवसायमा एक दशकभन्दा बढी समय काम गरेका उनीहरू कसरी पुगे त झापा?
'पूर्वी नाका काकडभिट्टादेखि भारत, बंगलादेश र भुटान छोटो दुरीमा रहेकाले त्यहाँका नागरिकलाई लक्षित गरेर होटल खोलिएको हो,' सञ्चालकमध्येका एक बलराम सापकोटाले भने।
पूर्वमा घुम्न प्रसिद्ध ठाउँहरू छन्। सापकोटाका अनुसार त्यहाँ पुगेर बस्न, खान र सुत्न सुविधासम्पन्न होटल भने अभाव छ। यही अभाव महसुस गर्दै पाँच जना मिलेर पाँचतारे होटल सञ्चालन गर्न झापा पुगेको उनले बताए।
'कञ्चनजंघा हिमाल, पाथिभरा, इलाम, भारतको दार्जिलिङ, सिक्किम लगायत गन्तव्यमा आउने पर्यटक सुविधासम्पन्न होटलको खोजीमा थिए,' सापकोटाले भने, 'यी क्षेत्र पुग्ने पर्यटकको रोजाइमा अब मेची क्राउन पर्नेछ।'
यो होटल सञ्चालनमा आएको एक वर्ष हुन लाग्यो। यसबीच आन्तरिकभन्दा बढी विदेशी पर्यटक आइरहेका उनले बताए। जम्मा ग्राहकमध्ये ५ प्रतिशत आन्तरिक हुन् जो मनोरञ्जनभन्दा पनि व्यावसायिक हिसाबले आउँछन्। एक-दुई रात बसेर फर्किन्छन्।
मेची क्राउन सन् २०१६ बाट बन्न थालेको हो। सरकारले सन् २०२० लाई 'नेपाल भ्रमण वर्ष' मनाउने भनेको थियो। त्यही बेला मेची क्राउनको उद्घाटन तयारी थियो। सोचेअनुरूप काम अघि बढ्यो। चार वर्षमा बनिसक्यो।
२०७७ साल वैशाख १ गतेबाट होटल सञ्चालनमा ल्याउने तयारी सञ्चालकहरूको थियो। तर २०७६ चैतदेखि नै कोरोनाका कारण लकडाउन भइदियो।
'होटलमा पाहुना आउने र अग्रिम बुकिङको काम सुरू भइसकेको थियो। नयाँ वर्षमा भव्य उद्घाटन गर्ने तयारीमा थियौं,' सापकोटाले भने, 'तर कोरोनाले सबै योजना सपनाजस्तै बनाइदियो।'
कोरोना संक्रमण कम हुँदै गए पनि होटल खुल्ने सम्भावना भएन। अन्य क्षेत्र बिस्तारै खुल्न थाले, पर्यटन क्षेत्रमा भने चहलपहल बढेन। करिब दुई वर्ष उनीहरूले पर्खेर बिताए। २०७८ वैशाख १ गतेबाट बल्ल होटल पूर्ण रूपमा सञ्चालनमा आएको हो।
सापकोटाका अनुसार होटल मेची क्राउन एक सय चार रोपनी क्षेत्रमा फैलिएको छ। ७० प्रतिशत जमिनमा हरियाली बगैंचा बनाइएको छ। होटलको मुख्य भवन चारतले छ। नौ वटा ब्लक छन्। फरक–फरक भवनमा पाँच वटा भिला, एउटा मुख्य होटल, कन्फरेन्स हल, स्पा, क्यासिनो लगायत छन्।
सामान्यतया काठमाडौंमा पाँचतारे डिलक्स होटल हुन एक सय ५० कोठा चाहिन्छ। उपत्यकाबाहिर भने सय कोठा भए पुग्छ। मेची क्राउनमा एक सय ५ वटा कोठा छन्- पाँच वटा स्विट, पाँच वटा भिला र ९५ वटा डिलक्स।
यी सबै कोठामा गरेर एकपटकमा १६० जना बस्न सक्ने क्षमता छ। प्याकेजअनुसार सुविधा दिइन्छ।
मेची क्राउनका डिलक्स कोठामा बस्न दिनको दस हजार रूपैयाँ तिर्नुपर्छ। यसमा दुई जनासम्म बस्न सकिन्छ। भिला कोठा दिनको १८ हजार रूपैयाँ पर्छ। त्यस्तै स्विटको ५० हजार रूपैयाँ तिर्नुपर्छ। यो शुल्कमा ब्रेकफस्ट समावेश हुन्छ।
खानपिनका लागि तीन वटा रेस्टुरेन्ट छन्। स्वीमिङ पुल, जिमहल, स्पा, पार्लर सुविधा पनि छ। होटलमा हेलिकप्टर अवतरण गर्ने हेलिप्याड बनाइएको छ। तीन हजार मान्छे अट्ने क्षमताको ब्यांकेट र तीन वटा सेमिनार हल छन्। बिहे भोज तथा समारोह गर्न करिब दुई हजार मान्छे अटाउने सभाहल छ। यहाँ आउने सवारीका लागि पर्याप्त पार्किङ व्यवस्था भएको सापकोटाले बताए।
'अहिले हामीकहाँ भोजहरू भइरहेका छन्। पहिलेपहिले स्थानीयहरू राम्रो बिहे भोज गर्न भारततिर पुग्नुपर्ने स्थिति थियो। अहिले हामीले त्यो सुविधा दिएका छौं। बरू भारतीहरू नै पार्टी गर्न यहाँ आइरहेका छन्,' सापकोटाले भने, 'एकै पटक चार वटासम्म बिहे भोज गराउन मिल्ने हल हामीसँग छ।'
नेपालीको खर्च गर्ने क्षमता बढ्दै गएकाले बिहे, समारोह गर्न र स्वदेशी तथा विदेशी संस्थाका कार्यक्रमका लागि उपयुक्त हुने गरी होटलले पूर्वाधार बनाएको उनले बताए।
होटलमा अहिले एक सय ४० जना कर्मचारी छन्। उनीहरू सबै स्थानीय बासिन्दा भएको सापकोटा बताउँछन्। ठाउँ हेरेर होटल सञ्चालनमा ल्याउन सके स्थानीय स्तरको विकास पनि अघि बढ्ने उनको अनुभव छ।
'मेची क्राउन सञ्चालनमा आएसँगै स्थानीय डेढ सय जनाले रोजगारी पाएका छन्। यहाँ उब्जेका तरकारी होटलमा खपत हुन्छ। आसपास जग्गाको मूल्य पनि बढेको छ,' उनले भने।
होटलमा स्थानीय परिकार पनि पाक्छ। पर्यटकको इच्छाअनुसार स्थानीय धिमाल र मेचे स्वादको खाना पाइने सापकोटाले बताए।
मेची क्राउनको अर्को विशेषता यहाँको 'क्यासिनो भेगास' हो। होटलले यसलाई मुख्य प्राथमिकतामा राखेको छ। यसको व्यवस्थापन भारतीय क्यासिनो कम्पनी बिग ड्याडीले गरेको छ।
'पूर्वी सीमा-नाका क्षेत्रमा क्यासिनो पर्यटनको सम्भावना धेरै छ। त्यसैले नेपालकै ठूलो क्यासिनो भेगास सञ्चालनमा ल्याएका हौं,' सापकोटाले भने।
यो क्यासिनोका प्रमुख ग्राहक भारतीय हुन्। क्यासिनोको मनोरञ्जन लिन उताबाट ठूलो संख्यामा आउने व्यापारी तथा धनाढ्यलाई नै लक्षित गरेर खोलिएको हो क्यासिनो भेगास। सापकोटाका अनुसार बाहिरबाट आउने पाहुनालाई बस्न, खान, हेल्थ क्लब र स्पा सुविधा समावेश हुन्छ। क्यासिनो चौबीसै घन्टा चलिरहेको पनि उनले बताए।
'एक पटकमा नौ सय जनाभन्दा बढीले खेल्न सक्छन्,' उनले भने, 'क्यासिनो चलाउन मात्र चार सय जना कर्मचारी छन्। दैनिक ५० देखि दुई सय जना हाराहारी क्यासिनो खेल्न भारतीयहरू आइरहेका छन्। क्यासिनोकै कारण पनि होटलको व्यवसाय राम्रो हुने अपेक्षा छ।'
उनका अनुसार होटल व्यवसायमा लगानी बढ्दै गए पनि दक्ष जनशक्ति भने अभाव छ। होटल म्यानेजमेन्ट र सम्बन्धित विषय पढ्नेहरू काम सिक्न विभिन्न होटल पुग्छन्। सिकेपछि राम्रो सेवा-सुविधा खोज्दै विदेशिन्छन्। यो प्रवृत्तिले नेपाली होटल क्षेत्रमा दक्ष कर्मचारी अभाव हुँदै गएको सापकोटाको भनाइ छ।
सबै तस्बिर सौजन्यः होटल मेची क्राउन