पर्वतारोहण मुख्य सिजन मानिने वसन्तयाम अर्थात् अप्रिल र मेका लागि यति बेला 'बुकिङ' चलिरहेको छ। यो सिजनमा हरेक वर्ष ६ सयभन्दा बढी विदेशी पर्यटक पर्वतारोहणका लागि मात्र आउने गरेको नेपाल पर्यटन विभागले जनाएको छ।
विभागकाअनुसार गत वर्ष ६ सय ३५ जना विदेशी पर्वतारोहणका लागि आएका थिए। यो संख्या हालसम्मकै बढी रहेको विभागको पर्वतारोहण शाखाका निर्देशक सूर्यप्रसाद उपाध्यायले जानकारी दिए।
'महामारीका कारण सन् २०२० मा पर्वतारोहणका लागि आउने पर्यटक संख्या कम थियो। २०२१ मा सोचेभन्दा बढी आए। विगतका वर्षहरूमा पनि ६ सयभन्दा कम हुन्थ्यो,' उनले सेतोपाटीसँग भने।
पर्वतारोहणका लागि आउनेमध्ये सबभन्दा बढी सगरमाथा पुग्छन्। विभागको तथ्यांकअनुसार २०२१ को वसन्तयाममा ४ सय १६ जनाले सगरमाथामा आरोहण गरेका थिए।
त्यस्तै ७२ जनाले ल्होत्से, ६८ जनाले अन्नपूर्ण, २४ जनाले आमा डब्लम, १० जनाले पुमोरी र २ जनाले बरुन्त्से आरोहण गरेका थिए। सगरमाथा चढ्न आउनेमध्ये सबभन्दा बढी युरोपेली हुने उपाध्यायले बताए।
उनका अनुसार कोरोना महामारी कम भएसँगै गत वर्षको वसन्त ऋतुमा पर्वतारोहणका लागि आउने पर्यटकमा उत्साह थियो। त्यहीअनुसार यस वर्षका लागि सम्बन्धित निकायहरूले तयारी पनि गरिरहेका छन्।
यद्यपि रसिया र युक्रेन युद्धका कारण सिजनमा पर्यटक संख्या कम भएको उनी बताउँछन्।
सन् २०१९ मा रुसबाट ५० जना आरोहीले पर्वतारोहण अनुमति लिएका थिए। जसमध्ये ३१ जनाले सफल आरोहण गरेका थिए। त्यस्तै युक्रेनबाट २० जनाले अनुमति लिएका थिए जसमा ७ जनाले सफल आरोहण गरे।
अहिलेसम्म सबभन्दा धेरै अन्नपूर्णका लागि २५ जनाले अनुमति लिएका छन्। त्यस्तै आमा डब्लुमका लागि २३, हिमलुङका लागि १६, धवलागिरिका लागि ११, सगरमाथाका लागि ९, ल्होत्सेका लागि ५, थापा पिक (धम्पूस) का लागि ४, गंगापूर्णका लागि २ जना र नुप्त्सेका लागि २ जना गरी ९७ जनाले हिमाल चढ्न अनुमति लिएका छन्।
दुई देशबीचको युद्धका कारण पर्वतारोहण पर्यटक संख्या घटेको पर्वतारोहण संघले जनाएको छ। संघका अध्यक्ष सन्तवीर लामाका अनुसार सन् २०१९ मा संघमार्फत हिमाल चढ्न २ सय ८३ जना रूसी नागरिकले अनुमति लिएका थिए। त्यस्तै युक्रेनबाट एक सय ३ जनाले अनुमति पाएका थिए।
तर यस वर्ष यी दुई मुलुक युद्धमा होमिए। यसको प्रत्यक्ष प्रभाव आसपासका देशलाई पनि पर्यो। जसकारण ती देशबाट पर्वतारोहणका लागि गरिएका बुकिङ पनि रद्द भएको उनी बताउँछन्।
वसन्तयाममा हिमाल आरोहणमा आउनेका लागि मार्च सुरू भएसँगै बुकिङ खुल्छ। अहिले विदेशीहरू नेपाल आउने र पर्वतारोहणमा जाने क्रम चलिरहेको छ। लामाका अनुसार अहिले धेरै पर्यटक बेसक्याम्प पुगिसकेका छन्। ढिलो आउनेहरू मार्च २५ सम्म बेसक्याम्प पुगिसक्छन्। अप्रिल मध्यसम्म उनीहरू हिमाल चुचुरो पुगिसक्छन्।
'वसन्तयाममा सबभन्दा बढी पर्यटक सगरमाथा जान्छन्। त्यस्तै धवलागिरि, अन्नपूर्ण, मकालु, कञ्चनजंघा र आमा डब्लममा बढी हुन्छन्,' लामाले भने, शरदयाममा चाहिँ बढीजसो मनास्लुमा पुग्छन्।'
सरकारले चार सय १४ वटा हिमाल चढ्न खुला गरेको छ। विभाग र संघले छुट्टाछुट्टै हिमालका लागि आरोहण अनुमति दिने गर्छन्। सरकारले संघलाई २७ वटा हिमाल व्यवस्थापनको जिम्मा दिएको छ। यसमा पनि ६ हजार ५ सयभन्दा कम उचाइ भएका हिमाल पर्छन्। बाँकी ३ सय ८७ वटा हिमालको व्यवस्थापन र अनुमति दिने काम विभागबाट हुन्छ।
हिमालको उचाइअनुसार आरोहण अवधि अर्थात् दिन तोकिएको हुन्छ। आठ हजारमाथिका हिमाल चढ्न ७५ दिन, ७ हजारदेखि ८ हजारसम्मका लागि ६० दिन र त्योभन्दा कम उचाइका लागि ४५ दिनको अवधि हुन्छ।
पर्वतारोहण र हिमाली क्षेत्रमा पदयात्रा गर्न आउनेहरू खर्चालु पर्यटकको सूचीमा पर्छन्। लामो समय नेपालमा रहनुपर्ने भएकाले बसाइअनुसार खर्च धेरै गर्नुपर्ने हुन्छ।
कोरोना महामारी कम भएसँगै चलायमान हुने क्रममा रहेको पर्यटन क्षेत्रमा रसिया-युक्रेन युद्ध प्रभाव परेको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने बताउँछन्। रसियाबाट वार्षिक दस हजार पर्यटक नेपाल भ्रमण आउने गरेका छन्। यो सिजनमा मात्र एक हजार हाराहारीमा आउने गरेका उनले बताए।
त्यस्तै युक्रेनबाट वार्षिक ५ हजारभन्दा बढी आउँथे। यो देशबाट सबभन्दा बढी पदयात्राका लागि आउने गरेको पाइन्छ।
'यी देशमा युद्ध सुरू भएसँगै हाम्रो पर्यटन क्षेत्रमा असर परेको छ। यी दुई देश मात्र होइन, युरोप रूट हुँदै आउने पर्यटकलाई पनि प्रभाव पारेको छ। अर्को रूट प्रयोग गर्दा बढी खर्च हुन्छ। त्यसकारण यो सिजनमा हामीकहाँ युरोपेलीको संख्या घट्ने सम्भावना छ,' निर्देशक लामिछानेले भने।
विगतमा पर्वतारोहण, पदयात्रा लगायतका लागि यो सिजनमा एक लाख २० हजारको हाराहारीमा विदेशी पर्यटक नेपाल आउथे।
बोर्डको तथ्यांकअनुसार २०२० जनवरीमा ७९ हजार सात सय २, फेब्रुअरीमा ९८ हजार एक सय ९०, मार्चमा ४२ हजार सात सय ७६ जना पर्यटक आएका थिए। २०२१ को जनवरीमा ८ हजार ८ सय ७४, फेब्रुअरीमा ९ हजार १ सय ४६ र मार्चमा १४ हजार ९ सय ७७ जना पर्यटक आएका थिए।
यस वर्ष जनवरीमा १६ हजार ९ सय ७५, फेब्रुअरीमा १९ हजार ७ सय ६६ जना पर्यटक आएका छन्।