नेपालमा स्वदेशी तथा विदेशी निजी लगानी प्रवर्द्धन गर्न सहकार्य गर्ने उद्धेश्यका साथ लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघबीच आइतबार समझदारी पत्रमा हस्ताक्षर भएको छ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गरेका हुन्। कार्यक्रममा अर्थमन्त्री तथा लगानी बोर्डका उपाध्यक्ष जनार्दन शर्माको पनि उपस्थिति थियो।
नेपालमा निजी लगानी तथा सार्वजनिक निजी साझेदारीको प्रवर्द्धन गर्न दुवै पक्षले साझा हित र सरोकारका विषयमा सहकार्य गरी आपसी समझदारीको विकास गर्ने समझदारी पत्रमा उल्लेख छ। महासंघले देश र विदेशमा प्रत्येक्ष विदेशी लगानी र लगानी प्रवर्द्धन सम्बन्धी गतिविधिहरू संयुक्त रूपमा सञ्चालन र आयोजना गर्नको लागि लगानी बोर्डसँग समन्वय गर्नेछ।
नेपालमा लगानीका अवसरहरू खोज्ने लगानीकर्ताहरूलाई केन्द्रित गर्दै महासंघमा प्रत्येक्ष विदेशी लगानी ‘हेल्प डेस्क’ स्थापना गर्ने र त्यसका लागि लगानी बोर्डले महासंघलाई प्राविधिक सहयोग उपलब्ध गराउनेछ।
यसका लागि लगानी बोर्डले क्षमता अभिवृद्धि, सीप विकास र ज्ञान आदानप्रदानमा समेत सहयोग गर्ने समझदारी पत्रमा उल्लेख छ।
त्यस्तै, राष्ट्रिय महत्वकांक्षा पूरा गर्न महासंघले विश्वव्यापी रूपमा आफ्नो सम्पर्कहरू मार्फत लगानीकर्ताहरू पहिचान गर्ने र सो अनुरुप परियोजना निर्माणमा लगानी बोर्डलाई सहयोग गर्ने उल्लेख छ। महासंघले लगानी बोर्डलाई रोड शो र नेपाल इन्भेस्टमेन्ट समिट २०२२ आयोजना गर्न समेत सहयोग गर्नेछ।
महासंघले लगानी अवसर निर्देशिका तयार गर्न लगानी बोर्डसँग समन्वय गर्नेछ। उक्त निर्देशिकामा स्वदेशी निजी क्षेत्र र विदेशी लगानीका परियोजनाहरू प्रदर्शन गरिनेछ।
लगानी बोर्डको कार्यालयमा आइतबार आयोजित हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले अब सरकारले नागरिकमा ऋणको भार नबोकाउने प्रतिवद्धता व्यक्त गरे। त्यसका लागि वैदेशिक ऋणलाई लगानीका रुपमा लिइने र सो ऋणको दायित्व सम्बन्धित परियोजनाको पुँजी निर्माणबाट ब्यहोर्ने नीतिगत, कानुनी र व्यवहारगत संरचना निर्माण गर्दै जाने कुरामा जोड दिए।
शर्माले मुलुकभित्रै छरिएर रहेका पुँजी परिचालनको सम्भावनालाई मूर्तरुप दिन महासंघ सँगको सम्झौताले गुणात्मक फड्को मार्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले पूर्वाधार विकासका क्षेत्रमा विदेशी तथा आन्तरिक क्षेत्रको समेत लगानी परिचालनका लागि तल्ला तहका सरकारसम्म समन्वय गर्ने लगानी बोर्डको जिम्मेवारीलाई थप परिभाषित गर्न महासंघसँगको यस समझदारीले महत्वपूर्ण भूमिका खेल्ने जानकारी दिए।
उनले बोर्डको कार्यालयले व्यवसायिक योजना सहितको रणनीतिक योजना तयार गरी अघि बढेको र यसै रणनीतिक योजनाको एक खम्बाको रुपमा रहेको सहकार्य, समन्वय र साझेदारीका लागि निजी क्षेत्रसँगको समझदारीलाई महत्वपूर्ण रुपमा लिइएको बताए।
प्रमुख कार्यकारी अधिकृत भट्टका अनुसार हाल लगानी बोर्डले करिब ३ खर्ब रुपैयाँ बराबरका परियोजनाहरू सहजीकरण गरिरहेको छ। त्यस्तै,आगामी ५ वर्षमा थप १० खर्ब लगानी भित्र्याउने बोर्डका लक्ष्य छ।
कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष शेखर गोल्छाले देशको विद्यमान शोधनान्तर घाटा, व्यापार घाटा जस्ता संकट समाधान गर्न लगानीका क्षेत्रहरू र स्रोतहरू खोजी गर्नुपर्ने बताए। त्यसका लागि साना तथा मझौला उद्योगमा समेत वैदेशिक लगानी भित्र्याउने व्यवस्थाका लागि जोड दिए।
उनकाअनुसार लगानी सम्मेलनमा भएका वैदेशिक लगानीका प्रतिवद्धता अनुरुपका लगानी भित्रन नसकेको वर्तमान सन्दर्भमा यसको खास कारण खोजी गर्न अध्ययन अनुसन्धान गर्नुपर्नेछ। समय-समयमा निजी क्षेत्र नै वैदेशिक लगानीका बाधक भएको भन्ने अफवाह गलत भएको प्रष्ट पार्दै विभिन्न अध्ययनले यसलाई स्पष्ट गर्नुपर्ने उल्लेख गरे।
लगानी बोर्डसँगको सहकार्यमा महासंघमा नै वैदेशिक लगानी सहायता डेस्क स्थापनाले महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गर्दै लगानी बोर्डसँगको समझदारी ऐतिहासिक कार्य भएको उनको भनाइ छ।