सुनसरी-मोरङ औद्योगिक क्षेत्रमा दैनिक १२ घन्टासम्म लोडसेडिङ हुन थालेको छ। उद्योगीहरूका अनुसार दुई सातायता औद्योगिक क्षेत्रमा निरन्तर लोडसेडिङ भइरहेको छ।
दैनिकजसो लोडसेडिङ हुन थालेपछि उद्योग कलकारखाना चलाउनै नसक्ने अवस्था सिर्जना भएको उद्योगीहरूले बताएका छन्।
‘दुई वर्यदेखि कोभिडको महामारीबाट थला परेका उद्योग व्यवसाय क्षेत्रले केही महिनायता भोग्नुपरेको वित्तीय संकट तथा बढ्दो ब्याजदरले मरणासन्न पुर्याएको अवस्थामा १२ घन्टासम्म गरिएको लोडसेडिङले कलकारखाना चलाउनै नसक्ने अवस्था सिर्जना भएको छ,’ नेपाल उद्योग परिसंघ प्रदेश १, मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले मंगलबार संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ।
उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलका अनुसार अघोषित रूपमा बिजुली आपूर्ति बन्द हुने गरेको छ।
नेपाल विद्युत प्राधिकरणले भारतबाट आयातित बिजुली आपूर्ति बन्द गरेपछि सुनसरी-मोरङ औद्योगिक क्षेत्रमा लोडसेडिङ सुरू भएको हो।
गत मंगलबारदेखि भारतबाट आइरहेको विद्युत आपूर्ति बन्द छ।
नेपालले अहिले दैनिक ४ सय मेगावाटको हाराहारीमा बिजुली भारतबाट आयात गरिरहेको छ। त्योमध्ये ठूलो मात्रा खुला बजारबाट किन्छ भने केही बिजुली राज्यस्तरका निकायबाट किन्दै आएको छ।
भारतमा कोइलाबाट बढी बिजुली उत्पादन हुने गरेको छ।
राष्ट्रिय प्रसारण लाइनको ९०५ मेगावाट आपूर्ति भइरहेकोमा अहिले पानीको सतह घटेका कारण आपूर्ति भइरहेको छ।
विद्युतको नियमित आपूर्ति गर्नुपर्नेमा भारतबाट विद्युत खरिदका लागि दैनिक हुने खरिद बोलकबोलमा महंगो दररेट प्रस्ताव गर्दा समेत विद्युत नपाएको भनी विद्युत प्राधिकारणले औद्योगिक क्षेत्रहरूमा गत हप्तादेखि लोडसेडिङ गरिरहेको छ।
‘तत्काल विद्युत आपूर्ति सुचारू नगर्ने हो भने सम्पूर्ण उद्योगहरू बन्द गर्न बाध्य हुने र यसबाट सिर्जना हुने थप भयावह अवस्थातर्फ गम्भीर हुन सम्बन्धित पक्षलाई समयमै आग्रह गर्दछौं,’ संयुक्त विज्ञप्तिमा भनिएको छ।
पछिल्लो समय प्रायः दैनिकजसो सरकार तथा प्राधिकरणका जिम्मेवार पदाधिकारीहरूबाट उद्योगमै पुगेर चाहिएजति विद्युत दिन्छौं भन्ने गरेको तर अहिले मूल्यवृद्धि भयो विद्युत् आयात गर्न सकिएन भन्नु गैरजिम्मेवारी भएको विज्ञप्तिमा उल्लेख छ।