वसन्तयाममा हुने हिमाल आरोहणलाई अनुगमन तथा सहजीकरण गर्न समिति गठन भएको छ।
पर्यटन विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायको संयोजकत्वमा सरोकारवाला निकायका प्रतिनिधि राखेर समिति गठन भएको विभागले जनाएको छ।
विभागका अनुसार सन् २०२२ को वसन्त ऋतुमा खुम्बु क्षेत्रमा हुने पर्वतारोहणसम्बन्धी विभिन्न गतिविधिलाई नियमित, मर्यादित र व्यवस्थित बनाउने काममा उक्त समितिले आवश्यक समन्वय तथा सहजीकरणमा गर्नेछ।
समितिको सदस्यमा सेनानी किशोर अधिकारी, प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डे र सगरमाथा आरोही संघबाट निशा अधिकारी सदस्य रहेका छन्। त्यस्तै हिमालयन उद्धार संघ, सगरमाथा प्रदूषण नियन्त्रण समितिबाट एक/एक जना प्रतिनिधि सदस्य रहेका छन्। नापी अधिकृत खिमलाल गौतमले सदस्य सचिवको भूमिकामा रहेका छन् ।
अहिले आरोहणका लागि अनुमति दिने काम सुरू भइसकेको छ। अहिलेसम्म सबभन्दा धेरै अन्नपूर्णका लागि २५ जनाले अनुमति लिएका छन्। त्यस्तै आमा डब्लुमका लागि २३, हिमलुङका लागि १६, धवलागिरिका लागि ११, सगरमाथाका लागि ९, ल्होत्सेका लागि ५, थापा पिक (धम्प'स) का लागि ४, गंगापूर्णका लागि २ जना र नुप्त्सेका लागि २ जना गरी ९७ जनाले हिमाल चढ्न अनुमति लिएका छन्।