पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघले जारी आन्दोलनलाई केही समयका लागि स्थगित गर्ने भएको छ। संघले बुधबार विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेको हो।
पश्चिमाञ्चल क्षेत्रका एलपी ग्यास व्यवसायी, पेट्रोलियम ढुवानी र पेट्रोलियम विक्रेता आफ्नो मागहरू पुरा गर्न भन्दै गत सातादेखि आन्दोलनमा उत्रिएका थिए। तर हालको अवस्थामा यसले समाजमा नकारात्मक सन्देश जाने देखिएकाले संघले आन्दोलन कार्यक्रम केही समयको लागि स्थगित गर्ने घोषणा गरेको जारी विज्ञप्तिमा उल्लेख छ।
सो घोषणासँगै ट्यांकर व्यवसायी संघले पेट्रोलियम पदार्थ ढुवानी कार्य यथावत सञ्चालन गर्ने बताएको छ। साथै, संघले अन्य दुई संस्थालाई समेत अहिलेको अवस्थामा आन्दोलन कार्यक्रम स्थगित गर्न र नेपाल सरकारले मागेको समयसम्म आफ्नो व्यवसायिक कार्यक्रमहरू यथावत सुरू गर्न अनुरोध गरेको छ।
नेपाल आयल निगमको मातहतमा रही व्यवसाय गर्ने तीन संस्थाहरू मध्येका ग्यास व्यवसायी, पेट्रोलियम ढुवानी व्यवसायी र पेट्रोलियम विक्रेताले विगत केही समयदेखि आन्दोलमा जाने निर्णय गरेको हो।
यस्तो अवस्थामा नेपाल आयल निगम, नेपाल सरकार र व्यवसायीबीच पटक-पटक वार्ता भएपनि केही निर्णय हुन सकेन। तर संस्थाको मागलाई सम्बोधन गर्न नेपाल सरकारले केही सयम मागेको छ।