मोरङ व्यापार संघले विराटनगरमा आयोजना गर्ने ‘ट्रेड एक्स्पो’ भोलि शुक्रबार सुरू हुँदैछ।
चैत १८ देखि २६ गतेसम्म सञ्चालन हुने एक्स्पोमा ४५ करोडको कारोबार हुने आयोजकको अनुमान छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले उद्घाटन गर्ने एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको व्यापार संघले जनाएको छ।
एक्स्पोमा ८० वटा एसीसहितका, ६० वटा कुलरसहितका र १०६ वटा सामान्य स्टल रहने एक्स्पो आयोजक समितिका संयोजक एवम् संघका उपाध्यक्ष विकासकुमार बेगवानीले जानकारी दिए।
एसीसहितका स्टलका लागि ६० हजार, कुलर स्टलका लागि ४० हजार र सामान्य स्टलका लागि ३० हजार रुपैयाँ शुल्क संघले लिएको छ। एक्स्पोमा अटोमोबाइल्सका १० स्टल रहनेछन्। अटो स्टलका लागि ७० हजार शुल्क निर्धारण गरिएको छ।
एक्स्पोमा फुडकोर्टका लागि १० स्टल छन्। यसका लागि ६० हजार तोकिएको छ। एस्क्पोमा रहने सम्पूर्ण स्टलहरू बुक भएको आयोजकले जनाएको छ।
संयोजक बेगवानीका अनुसार एक्स्पोमा स्वदेशी तथा विदेशी विद्यमान उत्पादन र सेवाको प्रदर्शन तथा व्यापार गर्ने लक्ष्य राखिएको छ। त्यस्तै, एक्स्पोमा उत्पादक र उपभोक्तालाई एकै ठाउँमा ल्याएर यसलाई व्यापार र लगानीका सम्भावना खोज्ने थलोका रूपमा स्थापित गर्ने लक्ष्य छ।
एक्स्पोले उत्पादक तथा वितरकलाई आफ्ना उत्पादन र सेवाको प्रदर्शनी एवम् देश र विदेशमा आफ्नो बजार विस्तार र विविधिकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको बेगवानीले बताए। एक्स्पोमा दर्शकलाई मनोरञ्जन प्रदान गर्न विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरिनेछ। त्यस्तै जिप लाइन, रिभर्स बन्जी र जिप साइक्लिङ लगायतका साहसिक खेलकुदको व्यवस्था पनि रहनेछ।
एक्स्पोमा आयोजकले लण्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट वेसिल जस्ता अन्तर्राष्ट्रिय संरचनाको नमुना राखेर आकर्षण थपेको छ। फोटो खिच्न मन पराउनेहरुका लागि सेल्फी जोन र साहसिक खेलहरू पनि रहेको छ। नौ दिन चल्ने एक्स्पोमा नेपालसँगै भारत, बंगलादेश र पाकिस्तानका उत्पादनहरुसमेत बिक्री वितरण हुनेछन्।