हिमालयन हाइड्रो एक्स्पोको तेस्रो संस्करण आउँदो शनिबारदेखि काठमाडौंमा हुँदैछ। हिमालयन हाइड्रो एक्स्पोमा रोबटिकमार्फत ब्लास्टिङ गर्ने प्रविधिबारे प्रदर्शनी हुने भएको छ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको सहकार्यमा सोमबारसम्म काठमाडौंको भृकुटीमण्डपमा हुन एक्स्पोको क्रममा प्रर्दशनी हुने इप्पानका उपाध्यक्ष आशिष गर्गले जानकारी दिए। उनका अनुसार, जलविद्युतसँग सम्बन्धित क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा विकसित पछिल्लो प्रविधिका बारेमा जानकारी दिने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको हो।
हाल नेपालमा बारुदको प्रयोग गरेर ब्लास्टिङ गरिँदै आएको छ। टनेल खन्ने क्रममा बोरिङ मेसिनमार्फत पनि खन्न नसकेको अवस्थामा बारुदको प्रयोग गरेर ब्लास्ट गरिन्छ तर यसले जमिन थर्किने र प्रकोप निम्त्याउने गरेको छ। यसको कारणले स्थानीयदेखि धेरै समस्या भोग्नुपरेको छ। प्रर्दशनीमा नयाँ प्रविधिको रुपमा एक्स्पोमा रोबटिकमार्फत रसायन प्रयोग गरेर हाइड्रो निमार्णका क्रममा ठूलाठूला पहाड तथा खोलाका चट्टान ब्लास्टिङ गर्न सकिने बारेपनि प्रदर्शनी गरिने उपाध्यक्ष गर्गले जानकारी दिए।
यस्तो समस्या निराकरणका लागि पछिल्लो समय बारुदको सट्टा रसायन प्रयोगमार्फत ब्लास्टिङ गर्न सकिने प्रविधि पनि आएको र यसका लागि लागि आवश्यक रसायन पनि पत्ता लागिसकेको स्ट्रोबेटिक उपेन्द्र ढुंगाना बताउँछन्। उनका अनुसार, चट्टान फुटाउन बारुदको सट्टा ‘डेक्स्पान’ नामक रसायन प्रयोग गर्न सकिन्छ।
रोबटिकमार्फत यसरी ब्लास्टिङ
एक्स्पोमा उक्त रसायनमार्फत कसरी ब्लास्टिङ गर्न सकिन्छ भनेर देखाइने उनले बताए। उनका अनुसार, यो रसायन रोबटिकको प्रयोगमार्फत चट्टानमा हाल्न सकिने र चट्टानमा यस्तो रसायन हालेको २४ घण्टाभित्र सजिलै चट्टान फुट्नेछ। यसबाट जमिनमा धेरै ठूलो कम्पन नहुने हुँदा निकै उपयोगी हुने उनको भनाई छ। ‘सहरी क्षेत्रमा वा वस्ती नजिकै बारुदको प्रयोग गर्दा यसले जमिन धेरै हल्लाउँछ । जसले वस्ति नै जोखिममा पर्छ। नेपालमा यस्ता धेरै घटनाहरु घटेका छन् विकास निमार्णका कामपछि पहाडमा पहिरो जाने अवस्था छ। रसायनको प्रयोगपछि यस्तो अवस्थामा न्यूनीकरण हुने विश्वास छ,’ उनले भने।
यो बारुदको तुलनामा निकै सुरक्षित रहेकाले हाइड्रो क्षेत्रमा यसको प्रयोग बढाउनुपर्ने उदेश्य एक्स्पो आयोजकले लिएको छ। ‘हामी यो विषयमा डिल गर्छौ, प्रदर्शनका लागि हामीले डेक्स्पान पनि ल्याउँछौँ। यसले कसरी चट्टान फुटाउँछ भनेर त्यो पनि देखाउँछौँ,’ ढुंगानाले भने।
जलविद्युत क्षेत्रले यसमा रुचि देखायो भने ‘रोबटिक्स कमिटी’ स्थापित हुने उनले बताए। रोबटिक्स हाइड्रोपावरमा जोड्नैपर्छ भनेर एक्स्पोमार्फत सबैलाई घच्घच्याउने योजना आयोजकको छ। उनका अनुसार बारुदको तुलनामा रसायन प्रयोग गर्दा केही बढी लागत लाग्छ तर ठ्याक्कै कति बढी लाग्छ भनेर हिसाब भने गरिएको छैन। ‘माइक्रो हाइड्रोपावर तिर प्रयोग गर्ने हो भने महँगो पर्न जान्छ । किनभने त्यो माइक्रो हाइड्रो पावरले थोरै लगानीमा धेरै मानिसलाई फाइदा पुग्ने गरी योजना बनाएको हुन्छ, हाइड्रोमा समग्र लागत नै बढी लाग्ने हुँदा त्यहिअनुसार योजना बनाउन सकिन्छ,’ उनले भने।
रोबर्ट भनेको मानिसकै कार्यक्रम र योजनाअनुसार चल्ने एउटा सिस्टम भएकोले मानिसबाट सहजै सम्भव नभएका कामहरु यसले छिटो छरितो र सहज तरिकाले गर्न सकिन्छ । रोबर्टको प्रयोग गर्न सके मानिसले जोखिम मोलेर गर्नुपर्ने काममा पनि सहज हुने उनी बताउँछन्। ‘भर्खरैको मेलम्ची बाढीको कुरा गरौँ । त्यो बाढीमा टनेलभित्र कति जना मानिस फसे, कति मरे त्यसको केही तथ्यांक आएको छैन, तर हामीले रोबर्टिकको प्रयोग गरेको भए त्यहाँ कति मान्छेहरु फसेका छन्, कहाँनेर छन् भनेर पनि पत्ता लगाउन सकिन्थ्यो। खोजी र उद्धार सजिलो हुन्थ्यो,’ उनले भने।
खोजि र उद्धार मात्रै नभएर मानिसले जोखिम मोलेर गर्दै आएका कामहरु पनि रोबर्टले गर्न सक्ने भएको यसलाई सुरक्षाको दृष्टिकोणले पनि महत्वपूर्ण मानिएको छ। ‘पानी भित्र पसेर काम गर्ने रोबर्टहरु पनि बनाउन सकिन्छ, पानीको ड्यामहरु बिग्रिएको छ÷छैन भनेर भित्रै गएर रोबर्टले नै पत्ता लगाउन सक्छ’ उनले भने। टनेलभित्र र बाहिरका साथै रोबर्टले ड्याम तथा साइट सर्वेमा पनि रोबर्टमार्फत काम गर्न सक्छ । ‘बोरिङ गर्दागर्दै कति मानिसहरुले ज्यान गुमाउनु परेको अवस्था छ, रोबर्टमार्फत काम गर्दा मानिसले यसमा ज्यान गुमाउनु पर्दैन, हाम्रो काम त रोबटलाई काम लगाउने मात्रै हुन्छ,’ ढुंगानाले भने।
पछिल्लो समय हरेक क्षेत्रमा प्रविधिको प्रयोग बढ्दो छ। विश्वका विभिन्न मुलुकहरुमा हाइड्रोमा रोबर्टिकको प्रयोग बढ्दै गएको भए पनि नेपालमा हाइड्रोकै लागि भनेर अहिलेसम्म यस्तो अध्ययनसमेत नभएको ढुंगानाले बताए।‘ तर नेपालमा पनि अब यसबारे सोच्नुपर्छ भन्ने हाम्रो धारणा हो, उनी भन्छन्, यसलाई एउटा प्रदर्शनमा मात्रै सिमित गर्ने होइन विस्तारै प्रयोगमा लैजानुपर्छ भन्ने उदेश्य एक्स्पोको हो,’ उनले भने।
विद्यार्थी बीच रोबटिक प्रतिष्पर्धा
हिमालयन हाइड्रो एक्स्पोको तेस्रो संकरणले विद्यालय तहदेखि इन्जिनियरिङतहसम्मका मानिसबीच थिनेटिक प्रतिस्पर्धा पनि गर्नेछ। यसमा हाइड्रोको कुन कुन क्षेत्रमा रोबर्टले कसरी काम गर्न सक्छ भनेर विद्यार्थीहरुले प्रयोग गरेर देखाउँनेछन्। यसरी विद्यार्थीहरुले देखाएपछि हाइड्रोमा त्यो रोबर्टको काम, महत्व तथा आवश्यकताअनुसार सबैभन्दा बढी उपयुक्त छनोट गरी पुरस्कृत गरिने कार्यक्रम छ। इप्पानका अनुसार, अहिलेसम्म कतिवटा समुहबीच प्रतिस्पर्धा हुने भन्ने विषयमा टुंगो नलागिसके पनि १० देखि १२ वटा समुह इच्छुक रहेको आयोजकले बताएको छ। ‘रोबटिक्स बारे आफूले जानेका कुरा देखाउनका लागि यो एक्स्पो आयोेजना गरिएको हो, तर चैत महिना ठ्याक्कै विद्यार्थीहरुको परीक्षाको समय पर्ने भएकाले चाहाना हुँदाहुँदै पनि कतिपय सहभागी हुन नसक्ने अवस्थामा हुनुहुन्छ, जति सहभागी हुन सक्ने अवस्थामा हुनुहुन्छ उहाँहरु निकै उत्साहित हुनुहुन्छ,’ ढुंगानाले भने।
यो एक्सपोले हाइड्रो पनि बुझिने र रोबर्टिक क्षेत्रमा रुचि भएकाहरुले आफूलाईअगाडि बढाउन सक्ने विश्वास लिइएको छ। रोबर्टिकको प्रयोगको महत्व बढाउन यो कार्यक्रमले निकै भूमिका खेल्ने विश्वास पनि लिइएको छ।
ढुंगाना भन्छन्, ‘प्रतिस्पर्धा लागि रोबर्ट बनाउनु र कामका लागि बनाउनु फरक कुरा हो। प्रतिस्पर्धाका लागि बनाइएका रोबर्टहरु प्रयोगका लागि बनाउन पनि यसले प्रोत्साहन हुन्छ भन्ने विश्वास छ।’ तुरुन्तै रोबटिकको प्रयोग गर्न नसके पनि भविष्यमा रोबर्टिकले नेपालको हाइड्रो क्षेत्रमा ठूलो परिवर्तन ल्याउने विश्वास उनको छ।