सन् २०२२ को मार्च महिनामा कोरोना महामारीपछिकै सबैभन्दा धेरै पर्यटक नेपाल भ्रमणका लागि आएका छन्। अध्यागमन विभागको तथ्यांकअनुसार मार्च महिनामा ४२ हजार ६ जना पर्यटक नेपाल भ्रमणका लागि आएका हुन्।
अघिल्लो वर्षको तुलनामा यस वर्ष मार्च महिनामा पर्यटकको संख्या तेब्बरले बढेको तथ्यांकले देखाउँछ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२१ मार्चमा मा १४ हजार ९७७ जना पर्यटक नेपाल आएका थिए। त्यस्तै, सन् २०२० को मार्च महिनामा भने ४२ हजार ७ सय ७६ पर्यटक भ्रमणका लागि आएका थिए। कोरोना महामारीअघि सन् २०१९ मा भने मार्च महिनामा मात्र १ लाख २७ हजार ३५१ जना पर्यटक भ्रमणका लागि आएका थिए।
हाल पर्वतारोहणको सिजन सुरू भएको छ। हिमाल चढ्ने र पदयात्रामा जाने सिजन भएकाले पर्यटकको संख्या यो सिजनमा बढी हुन्छ। सिजनमा पर्यटकको आगमन उत्साहजनक देखिएको बोर्डका निर्देशक मणि लामिछाने बताउँछन्।
‘पर्यटन क्षेत्र चलयामान हुँदै गएको छ। अघिल्ला वर्षको तुलनामा मार्चमा पर्यटकको आगमन ३३ प्रतिशतले रिभाइभ भएको छ। यो राम्रो संकेत हो,’ उनले सेतोपाटीसँग भने।
नेपाल भ्रमणमा आउने पर्यटकको संख्या हेर्दा सबैभन्दा धेरै भारत, अमेरिका, बेलायत, बंगलादेश र जर्मनबाट रहेका छन्।
सन् २०२२ को मार्च महिनामा सबैभन्दा धेरै भारतबाट १५ हजार १३ नाम पर्यटक आएका छन्। जुन कुल पर्यटक संख्याको ३५.७४ प्रतिशत हो। लामिछानेकाअनुसार भारतीय पर्यटक आगमनको संख्या लगभग रिभाइभ भइसकेको छ।
सन् २०१८ मा १४ हजार ४११, २०१९ को मार्चमा १८ हजार २५६ जना पर्यटक नेपाल आएका थिए। सन् २०१८ को तुलनामा ४ प्रतिशत र २०१९ को तुलनामा ८० प्रतिशतले बढेको छ। यसले भारतीय पर्यटक आगमनको संख्या रिभाइभ भएको देखिन्छ।
बंगलादेशबाट २ हजार १५२ जना पर्यटक नेपाल आएका छन्। सन् २०१९ मा २ हजार ७२ जना र २०१८ मा २ हजार ११९ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए।
त्यस्तै, यसपालि मार्चमा अमेरिकाबाट ४ हजार ८९८ पर्यटक आएका छन्। महामारीअघि सन् २०१९ मा ९ हजार ४५० पर्यटक आएका थिए। यो आगमनको संख्याले ५२ प्रतिशतले रिभाइभ भएको देखिन्छ।
‘महामारीअघि आएका पर्यटकको संख्यासँग तुलना गर्दा भारतबाट ८२, अमेरिकाबाट ५२, बंगलादेशबाट ४ प्रतिशतले पर्यटकको संख्या रिभाइभ भएको छ,’ उनले सेतोपाटीसँग भने, ‘चीनबाट पर्यटकको संख्या घटेको छ। अन्य देशबाट आउने पर्यटकको संख्या सकरात्मक देखिएको छ।’
त्यस्तै, बेलायतबाट ४ हजार २१, जर्मनीबाट १ हजार ८१७ र चीनबाट ४३१ नेपाल भ्रमणमा आएका छन्। यसअघि सन् २०२२ को जनवरीमा १६ हजार ९६५ जना र फेब्रुअरीमा १९ हजार ७७६ जना पर्यटक नेपाल भ्रमणका लागि आएका थिए।