बहुप्रतिक्षित चोभार सुख्खा बन्दरगाह आजदेखि सञ्चालनमा आएको छ। वीरगञ्जबाट डिजिटल लक लगाएर आएको मालबाहक कन्टेनर बन्दरगाहमा प्रवेश गराई प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरेका हुन्।
गत असारमा निर्माण सम्पन्न भएको चोभारको सुख्खा बन्दरगाह हालसम्म सञ्चालनमा आउन सकेको थिएन। काठमाडौंका व्यवसायीको आयात तथा निर्यात सहजीकरणका लागि चोभारमा सुख्खा बन्दरगाह बनाइएको हो।
हाल बन्दरगाहमा आवश्यक भन्सार कार्यालय, क्वारेन्टाइन, बैंकलगायत सबै निकाय आइसकेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेले जानकारी दिए।
विश्व बैंकको ऋण सहयोगमा बनेको बन्दरगाहको लागत एक अर्ब ५३ करोड रूपैयाँ हो।
दुई सय २० रोपनी क्षेत्रफलमा बनेको बन्दरगाहमा पाँच सय ट्रक पार्किङ गर्न सकिन्छ। त्यस्तै, परियोजनाअन्तर्गत पाँच सयसम्म कन्टेनर राख्न मिल्ने गरी यार्ड बनाइएको छ।
समितिका निर्देशक गजुरेलका अनुसार चार वटासम्म कन्टेनर खप्टिएर राख्न सकिने गरी कन्टेनर यार्ड बनाइएको छ। बन्दरगाहमा सवारी साधन प्रवेशका लागि ठूला तीन वटा गेट बनाइएको छ। साथै, बन्दरगाह क्षेत्र बाहिरको सडकसमेत सुधार गरिएको छ।