तीन दशकदेखि पर्यटन व्यवसायमा लागेका पोखराका सिपी चक्र सुवेदीले जापानी हस्पिटालिटी झल्काउने होटल खोलेका छन्। पोखरा, लेकसाइडमा खुलेको 'होटल शारा'ले हाल सञ्चालन भइरहेका होटलभन्दा फरक सेवा-सुविधा दिने सुवेदीको दाबी छ।
होटलका प्रबन्ध निर्देशक सुवेदीका अनुसार अत्याधुनिक सुविधासहितको होटल शारा जापानी सेवाशैलीमा बनेको हो।
'शारा जापानी मोडलबाट बनेको होटल हो। अन्य होटलमा नभएका सुविधा यहाँ पाइन्छ,' उनले दाबी गर्दै भने, 'यहाँ आपतकालीन द्वार, अर्थोपेडिक ट्रिटमेन्ट लगायत थुप्रै जापानी शैलीका सुविधा छन्।'
होटलमा आपतकालीन द्वार हुँदा कुनै दुर्घटना भए निस्किन सकिन्छ। त्यस्तै जापानी पद्धतिको अर्थोपेडिक ट्रिटमेन्ट (हाडजोर्नी), रक्त सञ्चालन तथा नशा, छालाको प्राकृतिक उपचार व्यवस्था पनि यहाँ रहेको उनले बताए।
होटलको शौचालयमा पनि जापानमा चल्तीमा रहेको वासलेट कमोड प्रयोग गरिएको छ। यसको कमोडभित्रैबाट पानीको स्प्रे हुन्छ।
सुवेदीलाई जापानी मोडलमै होटल बनाएर सुविधा भित्र्याउने सोच कसरी आयो त?
पोखराको कास्कीकोटमा जन्मिएका उनलाई यो आइडिया जापान पुगेरै आएको हो। उनलाई सानैदेखि पर्यटकीय गतिविधिमा रूचि थियो। सानो हुँदा सराङकोटमा पर्यटकको घुँइचो देख्थे। पर्यटकीय नगरमा हुर्किएर पनि होला, पर्यटक र पर्यटनले उनलाई तानिरह्यो।
त्यसैले विद्यालय तहको शिक्षा पूरा गरेलगत्तै उनी पर्यटन व्यवसायमा प्रवेश गरे। ट्राभल एजेन्सीहरूमा काम गरेर केही अनुभव बटुले।
उनलाई पर्यटन सम्बन्धी नै पढ्न मन थियो। तर यहाँ पठनपाठन नहुने भएपछि उनी पढ्नै भनेर सन् २००५ मा जापान पुगे। उनले त्यहाँ 'मनोविज्ञानको हिसाबले यसको पर्यटन र यसको प्रभाव' विषयमा अध्ययन गरे।
सुवेदी टोकियो बस्थे। पढ्दापढ्दै उनी टोकियोको हस्पिटालिटी क्षेत्रमा आकर्षित भए। सन् २००६ मा एउटा रेस्टुरेन्टमा काम थाले।
'जापानमा करिब एक दशक बस्दा मैले आधा दर्जनभन्दा बढी रेस्टुरेन्टमा काम गरेँ। पछि आफैं लगानी पनि गरेँ,' उनले भने, 'अनि मलाई जापानको हस्पिटालिटीलाई पोखरामा किन नलैजाने भन्ने लाग्यो।'
यही योजना बोकेर उनी देश फर्किए।
उनका अनुसार नेपालमा जति पनि होटल छन्, तिनमा प्रायः एकै खाले सेवा-सुविधा छन्। नयाँनयाँ प्रविधि अझै भित्रिन सकेका छैनन्। त्यसैले आफ्नो ठाउँमा पर्यटन व्यवसायको प्रचुर सम्भावना देखेका उनले आएलगत्तै लेकसाइडमा होटल निर्माण थाले। होटल बनिसक्न पाँच वर्ष लाग्यो।
'होटल शारा चार तारेस्तरको मापदण्डमा बनेको छ,' उनको भनाइ छ, 'यसमा ६५ करोड रूपैयाँ लगानी भएको छ।'
उनले जापानी हस्पिटालिटी क्षेत्रमा देखेका अधिकांश सामग्री उतैबाट ल्याएका छन्। पाहुनाले जापानकै कुनै होटलमा बसेझैं आभास गर्न पाउने दावी उनी गर्छन्। एघार तले भवनमा बनेको यो होटलमा दुइटा जापानी प्रविधिका लिफ्ट छन्। यसबाट कोठाकोठामा पुग्न सकिने उनले बताए।
यसबाहेक होटलमा योग गर्ने ठाउँ, बार, स्विमिङ पुल, स्पा, ब्युटिकेयर, ड्राइ र स्टिम साउना छ। होटलमा तीन सयभन्दा बढी मानिस एकैपटक बस्न मिल्ने ब्यांकेट र सेमिनार हल छन्।
होटलको अर्को विशेषता ग्लास मिटिङ हल हो। चारैतिर सिसैसिसाले घेरिएको यो हल पनि जापानी मोडलमै बनाइएको उनले बताए।
होटलको सबभन्दा माथि वरिपरि देखिने् ३६० डिग्रीको भ्युटावर छ। यो टावरबाट थुप्रै हिमाल र पोखरा उपत्यकाको दृश्य अवलोकन गर्न सकिन्छ।
'टावरबाट विभिन्न हिमाल, फेवाताल, शिवको मूर्ति, पोखरा उपत्यका, रानी वन, विश्वशान्ति स्तुप, शिवको मूर्ति अवलोकन गर्न सकिन्छ,' उनले भने।
होटलको एक तलादेखि आठ तलासम्म कोठाहरू छन्। नवौं तलामा मिनी स्विमिङ पुल छ। दसौं तलामा रेस्टुरेन्ट छ भने एघारौं तलामा शारा भ्युटावर भइहाल्यो।
होटलमा सामान्यसँगै भिआइपी गरी ६४ वटा कोठा छन्। प्रायःजसो होटलमा एकैखाले कोठा हुन्छन्। तर सुवेदीले होटल शारामा प्रधानमन्त्री, राष्ट्रपति, मन्त्रीका लागि भनेर छुट्टै कोठा बनाएका छन्। उनका अनुसार होटलमा बीस वटा डिलक्स, तीस वटा सुपर डिलक्स, चौध वटा स्विट कोठा छन्।
यसमध्ये चार वटा स्विट मन्त्रीहरूका लागि, चार वटा परिवारमा जानेका लागि र बाँकी चार वटा क्लासिक स्विट छन्। त्यस्तै प्रधानमन्त्री स्विट र राष्ट्रपति स्विट एक-एक वटा छन्।
'पर्यटकीय नगरमा कुनै पनि समयमा मित्र राष्ट्रका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा मन्त्रीहरू आउँदा अन्तर्राष्ट्रिय स्तरको सुविधासहितको बसोबास व्यवस्था छ,' उनी भन्छन्, 'राष्ट्रपति र प्रधानमन्त्रीका लागि तोकेरै बेग्लै कोठा बनाउने मेरो यो नयाँ प्रयास हो।'
उनले होटलका पहिलो तलाका दस वटा कोठा अपांगमैत्री छन्। शारीरिक रूपमा अशक्त भएकाहरूका लागि लक्षित गर्दै तीस जनासम्म बस्न मिल्ने कोठा बनाएको उनले बताए। उनी भन्छन्, 'शौचालयदेखि भौतिक सुविधाहरू त्यहीअनुसार बनाएका छौं।'
होटल शारामा आठ हजारदेखि ८० हजार रूपैयाँसम्मका कोठा छन्। सबभन्दा कम डिलक्सदेखि सबभन्दा बढी राष्ट्रपतिका लागि तोकिएको कोठा हो।
तत्कालका लागि सुवेदीले होटलमा ५० प्रतिशत छुट दिएका छन्। कोरोना महामारीले थलिएको व्यवसाय उकास्न होटलले प्रतिकोठा ४५ सयदेखि ४५ हजार रूपैयाँ तोकेको छ। एउटा कोठामा दुई जना बस्न मिल्छ जसमा ब्रेकफस्ट र स्विमिङ समावेश गरिएको उनले बताए।
नेपालका होटलमा अचेल आन्तरिक पर्यटकको आगमन बढी छ। उनका अनुसार ८० प्रतिशत आन्तरिक पर्यटक र २० प्रतिशत विदेशी पर्यटक आइरहेका छन्। त्यसमा पनि सबभन्दा धेरै शुक्रबार र शनिबार धेरै आउने उनले बताए। यसका बाबजुद समग्रमा ४५ प्रतिशत मात्र होटल चलिरहेको छ।
होटलले पाँच वटा किचनको स्वाद पस्किरहेको छ। जापानी यहाँको विशेष भइहाल्यो। साथै इन्डियन, चाइनिज, इटालियन र नेपाली किचनको पनि व्यवस्था छ।
'पाहुनाको चाहनाअनुसार खाना तयार हुन्छ। अहिले सबभन्दा बढी इन्डियन र नेपाली खाना गइरहेको छ,' उनले भने, 'पर्यटक आगमन बढेपछि अन्य थरीका परिकारको माग पनि बढ्ने अपेक्षा छ।'
होटलमा अहिले ४२ जना दक्ष जनशक्तिले रोजगारी पाएका छन्।
'हामीले गुणस्तरीय र लक्जरियस हस्पिटालिटी सेवा प्रदान गरिरहेका छौं,' उनले भने।
लामो समयदेखि हस्पिटालिटीमा लागेका सुवेदी होटल क्षेत्रमा थुप्रै समस्या तथा चुनौती पनि देख्छन्। महामारीपछिको पर्यटन क्षेत्र उकास्न र पर्यटक बढाउन पर्यटकलाई मनोविज्ञानको हिसाबले हेर्न जरूरी रहेको उनले बताए।
उनका अनुसार होटलको वातावरण सफा, स्वच्छ हुनुपर्छ। हरेक पाहुनाको मन जित्न सक्नुपर्छ। सेवा-सुविधामा विदेशी र नेपालीबीच फरक छुट्याउनु हुँदैन। पर्यटकलाई सेवा गर्नेहरूसँग हस्पिटालिटीसम्बन्धी शिक्षा हुनुपर्छ।
'त्यो खालको शिक्षा नै हामीकहाँ राम्रो छैन,' उनी भन्छन्, 'यी कुरा सुधार्न सकियो भने हाम्रो पर्यटनमा बढोत्तरी हुन्छ।'
हस्पिटालिटी क्षेत्रमा नयाँ योजना पस्किरहेका सुवेदी पर्यटकीय क्षेत्रमा सम्भावना देख्छन्। कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र उकास्न अझै केही वर्ष लाग्ने उनी बताउँछन्। यद्यपि महामारीले थलिएको पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन हस्पिटालिटीले सहयोग गर्ने उनको भनाइ छ।