काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नं १ को चाल्नाखेल, वोसनमा केवलकार सञ्चालनमा आउने भएको छ। चम्पादेवी ईको फ्रेण्डली कम्पनी प्रालिले सो केवलकार सञ्चालन गर्ने भएको हो।
चम्पादेवी ईको फ्रेण्डली कम्पनीले एक पत्रकार सम्मेलनगरी यस बिषयमा जानकारी गराएको हो। कम्पनीका तर्फबाट सञ्चालक कमलेश कुमार अग्रवालले केवलकार सञ्चालनकालागि आवश्यक प्राविधिक कार्य पूरा भएको र अब निर्माण प्रकृया सुरू हुने जानकारी दिए। उनका अनुसार अबको तीन बर्षमा निर्माण कार्य सम्पन्न भई केवलकार सञ्चालनमा आउनेछ।
कम्पनीका अनुसार चम्पादेवीमाताको मन्दिर रहेको डाँडाहरू गरी करीब २२ हेक्टर वन क्षेत्र नेपाल सरकारबाट प्राप्त भएको छ। केही प्राविधिक एवं कानुनी अवरोधहरूको निकास सम्मानित सर्वोच्च अदालतबाट कात्तिक २८ गतेको निर्णयबाट प्राप्त गरीसकेपछि यो परियोजनाको कार्य तीब्र गतिले प्रारम्भ गरिएको कम्पनीले जनाएको छ।
यो केबलकार परियोजना २०७६ वैशाख २ गते बसेको ७१औं नगर कार्यपालिकाको निर्णय अनुसार २०७६ वैशाख ६ मा केबलकार निर्माण तथा संचालन अनुमती प्राप्त भएको हो।
कम्पनीले उक्त केबुलकार संचालनका लागि डिजाइन अष्ट्रियन कम्पनीबाट तयार गरिएको जनाएको छ। कम्पनीका अनुसार यहाँ ल्याइने केवलकार यूरोपियन केवलकार हुनेछ। कम्पनीले चम्पादेवी माताको मन्दिरको डिजाइन वरिष्ठ आर्किटेक र वास्तु बिशेषज्ञ शंकरनाथ रिमालबाट गरिएको हो।
कम्पनीले उक्त केवलकार प्रोजेक्ट निर्माण गर्नका लागि ५०० देखि ६०० करोड अनुमानित खर्च गर्ने योजना रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। कम्पनीले उक्त केवलकार वि.सं. २०७९ को अन्त्यमा सुरू गरेर वि.सं. २०८१को अन्त्यमा सक्ने योजना बनाएको छ। कम्पनीले विदेशी लगानीकर्ता समेत भित्राउने लक्ष्य राखेको छ।