नयाँ वर्षको अवसर पारेर होटल संघ पोखराले १७ औं फेवा नव वर्ष महोत्सव गर्ने भएको छ। महोत्सव यही चैत ३० र आउँदो वैशाख १ गते हुने संघले जनाएको छ।
संघले बिहीबार पत्रकार सम्मेलन गर्दै फेवा नव वर्ष महोत्सवको तयारी भइरहेको जानकारी दिएको हो।
संघका अध्यक्ष लक्ष्मण सुवेदीले नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित पर्यटन प्रवर्द्धन गर्न महोत्सव आयोजना गर्न लागिएको बताए। कोरोना माहामारीले थलिएको पर्यटन क्षेत्रलाई पुनरूत्थान गर्न पर्यटन, संस्कृति र खाना भन्ने नाराका साथ महोत्सव गर्न लागिएको उनले जानकारी दिए।
लेकसाइडस्थित फिस्टेल गेटदेखि हल्लन चाकेसम्मको तीन किलोमिटर मुख्य सकडमा महोत्सव सञ्चालन हुनेछ। त्यस्तै फेवा महोत्सवमा अम्बोटर सेन्टर प्वाइन्टमा स्टेजमार्फत लाइभ म्युजिक, लोकदोहोरी, हास्यव्यंग्य प्रस्तुतिसहित विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने सुवेदीको भनाई छ।
महोत्सवकेन्द्रित गरी ३० प्रतिशतसम्म होटलमा छुट सुविधा पाइनेछ।
यस महोत्सवले राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकका लागि सकरात्मक सन्देश पुर्याउने होटल संघ नेपाल केन्द्रका कार्यवाहक अध्यक्ष विनायक शाह विनायक शाह बताउँछन्।
महोत्सवमा एक लाख स्थानीय, आन्तरिक एवं बाह्य पर्यटक सहभागी हुने अनुमान आयोजकको छ।