मुलुकको समृद्धिका लागि सहकारी अभियान र सहकारी भावना अपरिहार्य भएको औंल्याइएको छ। सरोकारवालाहरुले नेपालमा राजनीतिक परिवर्तन आइसकेकाले अब समृद्धितर्फ सबै लाग्नुपर्ने औंल्याएका हुन्।
सहकारीमार्फत युवा उद्यमशीलता बृद्धि गर्ने उद्देश्यले शुक्रबारदेखि काठमाडौंमा शुरु भएको दुई दिने नेशनल युथ फोरमको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा राजनीति परिवर्तन भइसकेकाले अब आर्थिक र मानसिक सन्तुष्टिको समृद्धि आवश्यक रहेको बताए। विदेश जाँदा मात्र राम्रो हुने, सफलता हासिल हुने भन्ने खालको मानसिकता अन्त्यगर्दै नेपालमै सम्भावनाहरु खोज्नुपर्ने बताए।
‘ढिलै भए पनि देश विकास हुँदैछ। पूर्वाधार निर्माण भइरहेको छ। दिगो विकासको लक्ष्य अघि बढाइएको छ। अब समृद्धिका लागि युवाहरुले स्वदेशमै सम्भावना देख्नुपर्छ,’ उनले भने। सहकारीलाई देशको संविधानले तीनखम्बे अर्थनीतिमा समेटेकाले दिगो विकास लक्ष्यका साथ समूहगत रुपमा अग्रसर हुन उनले आग्रह गरे।
सहकारीमा आबद्ध युवाहरुलाई प्रोत्साहितगर्दै मन्त्रीपौडेलले लगानी गर्न नडराउन आग्रह गरे। सार्वजनिक, निजी सहकारी क्षेत्रले आपसमा सहकार्य गरेर अघि बढ्नुपर्ने उनले जोड दिए।
राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष एवं संविधानसभा सदस्य ओमदेवी मल्लले सहकारीमार्फत नेपालीयुवाहरु अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको बताइन्। अन्तर्राष्ट्रिय सहकारी महासंघमा पनि युवाहरुको सहभागीता बढ्दै गएको उनले दावी गरिन्।
भूमिव्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले देशको सबै तहको विकास र समृद्धिका लागि सहकारी मोडेल महत्वपूर्ण हुने बताए।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले सहकारी अभियानमार्फत युवाहरुलाई उद्यमशीलतामा जोड्न सके समृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने धारणा राखे।
सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले अब सहकारी बिना उत्पादन क्षेत्र अघि बढ्न नसक्ने भन्दै उत्पादन बृद्धिका लागि सहकारी क्षेत्रलाई प्राथमिकता दिन आग्रह गरे। उनले युवाहरुलाई आफ्नो अधिकारका लागि सक्रिय हुनसमेत सुझाव दिए ।
राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ् सुब्बाले सहकारी क्षेत्र अब उद्यमशीलता केन्द्रित हुने बताइन्। उनले सहकारी क्षेत्रमा करिब ३० प्रतिशतयुवा सहभागिता रहेको आँकडा प्रस्तुतगर्दै युवा सहभागिताले नै सहकारीलाई मर्यादित र प्रविधिमैत्री बनाउने दाबी गरिन्।