सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले चैत्र २५ गते शुक्रबारदेखि सुरू भएको तीन दिने ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ धनगढीमा सम्पन्न भएको छ।
नेपाल पर्यटन बोर्डको प्रवर्धन तथा धनगढी उपमहानगरपालिका र नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाटा) सुदूरपश्चिम प्रदेशको आयोजनामा मार्ट सम्पन्न भएको हो।
नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीहरूको व्यवसायिक गतिविधिहरूको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत-बजारका टुर अपरेटरहरूसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न प्रत्येक प्रदेशमा ‘प्रादेशिक ट्राभल मार्ट’ को आयोजना गर्ने नेपाल पर्यटन बोर्डको कार्यक्रम अनुरुप मार्ट आयोजना गरिएको हो।
मार्टमा सिमावर्ती भारतीय शहरहरू नैनीताल, देहरादुन लखिमपुर, बरेली, रुद्रपुर, र भारतको राजधानी दिल्लीबाट करिब ६० जना टुर अपरेटरहरूलाई क्रेताको रुपमा सहभागी गराई प्रदेशका टुर अपरेटर, होटल व्यवसायी तथा पर्यटन सेवा प्रदायकहरू बीच यस क्षेत्रका टुर प्याकेजहरू बिक्री प्रवर्धन गर्ने विषयमा व्यवसायिक अन्तरक्रिया बिटुबी सम्पन्न भएको थियो।
यस्तै, मार्टमा सातै प्रदेशका पर्यटकीय आकर्षणहरू झल्किने पेभिलियन, नौवटा जिल्लाका स्टलका साथै टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरूका आकर्षक स्टलहरू थिए।
कार्यक्रममा आन्तरिक पर्यटन प्रवर्धनका लागि सातै प्रदेशका पर्यटन व्यवसायी प्रतिनिधिहरू बीच टुर प्याकेजहरूको आदान प्रदान भएको छ। मार्टकै अवसरमा टुर अपरेटरहरूलाई यस क्षेत्रका कर्णाली, शुक्लाफाँट राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्रहरूको अवलोकन भ्रमण गराइएको थियो।
काठमाण्डौं, लुम्बिनी र चितवन केन्द्रित नेपालको पर्यटन बजारलाई विकेन्द्रीत गर्दै सबै क्षेत्रमा पर्यटनको पहुँच र विस्तार गर्ने सोचका साथ पर्यटनले देशका विभिन्न भागमा मार्टको आयोजना गरेको र यस्ता मेला र मार्टले क्रसबोर्डर पर्यटनलाई थप प्रवर्धन गर्ने नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा. धनन्जय रेग्मीले बताए।
‘कोभिडले थलिएको पर्यटनलाई पुनर्जिवित गर्न तथा नेपालको सीमामा भएको ठूलो भारतीय जनसंख्यालाई नेपालमा आर्कषित गर्न यस्ता मार्ट सहयोगी हुने हाम्रो अपेक्षा हो। नेपालजञ्ज, धरान र धनगढीमा सम्पन्न यी मेलामा भारतीय व्यवसायीहरूको सहभागिताले नेपालमा भारतीय पर्यटकहरूको आगमन बढ्ने विश्वास लिएका छौं,’ ?उनले भने।
सिइओ रेग्मीले नेपालका विभिन्न प्रदेशमा भएका यी मार्टले अन्तर प्रदेश तथा आन्तरिक पर्यटन प्रवर्धनमा समेत ठूलो भूमिका खेल्ने बताए।
सुदुरपश्चिम प्रदेशमा पर्यटनको अथाहा सम्भावना रहेको अवस्थामा यस क्षेत्रको पर्यटन प्रवर्धनका लागि मेला फलदायी भएको बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले जानकारी दिए। पर्यटकीय स्थलमा बाह्य पर्यटकलाई आकर्षित गर्न मार्ट सफल भएको नाटा फार वेष्टका अध्यक्ष तथा मार्ट संयोजक माया प्रकाश भट्टले प्रतिक्रिया दिए।
मार्टको चैत्र २५ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलले उद्घाटन गरेका थिए।