कोरोना महामारीले नेपालको पर्यटन उद्योगमा ठूलो क्षति पुर्यायो। कोरोना मत्थर भएसँगै अहिले विभिन्न मुलुकबाट नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्न थालेको छ। आन्तरिक पर्यटकहरूले पनि लामो समयदेखि पर्यटनलाई टेको दिएका छन्।
अहिले होटलहरूमा पर्यटक बढेसँगै समग्र पर्यटकीय क्षेत्र र व्यवसायीमा आशा पलाएको छ।
कोरोनाका कारण होटल व्यवसायले कति नोक्सानी बेहोर्नुपर्यो? महामारी मत्थर भएसँगै पर्यटक आगमन तथा होटल बुकिङको अवस्था कस्तो छ? होटल व्यवसायमा लगानीकर्ता किन आकर्षित छन्? पर्यटन क्षेत्र पुनरूत्थानका लागि सरकारले के गर्नुपर्ला?
यसै सन्दर्भमा हामीले होटल संघ नेपाल (हान) का कार्यवाहक अध्यक्ष विनायक शाहसँग कुराकानी गरेका छौं। प्रस्तुत छ शाहसँगको कुराकानीको सम्पादित अंशः
कोरोना महामारीबीच २०७८ साललाई कसरी सम्झिनु हुन्छ?
२०७८ साल कोरोना महामारीमै बित्यो। लकडाउन भयो। नेपालमा मात्र होइन, भारत लगायत विभिन्न मुलुकमा लकडाउन भएपछि पर्यटक संख्या कम भइहाल्यो। एकपछि अर्को आघात पर्यटन क्षेत्रमा परिरह्यो। शून्यको अवस्थामै गुज्रियो।
२०७८ को अन्तिमतिर कोरोना घट्दै गयो। अहिले अगाडि बढ्न केही सहज वातावरण भएको छ। पर्यटन क्षेत्रमा आशाका किरण देखिएका छन्। आन्तरिक पर्यटनले गति लिएको छ। काठमाडौं, नगरकोट, चितवन, पोखरा लगायत ठाउँमा आन्तरिकसँगै विदेशी पर्यटक संख्या बढेको छ।
पछिल्लो तथ्यांक हेर्दा भारतीय पर्यटक बढेको देखिन्छ। एयरबबल हटाएर भारतबाट निजी विमान कम्पनी इन्डिगो, भिस्तारा, एयर इन्डिया उड्न थालेका छन्। नेपाल एयरलाइन्स मुम्बई र बैंगलोर गयो। त्यसैले पर्यटक संख्या बढ्ने अपेक्षा छ।
कोरोना कम भएसँगै होटल बुकिङ तथा पर्यटक आगमन कस्तो छ?
पछिल्ला समय धेरै नेपालीहरू घुमफिरमा निस्किरहेका छन्। त्यसकारण आन्तरिक पर्यटकको चहलपहल बढेको छ। साताको दुई दिन शुक्रबार र शनिबार आन्तरिक पर्यटकले गन्तव्यहरू भरिभराउ हुन थालेका छन्। त्यस्तै विदेशी पर्यटक आगमन पनि बढ्दो छ। यो मार्चमा पोहोरको तुलनामा पर्यटक बढे, होटल बुकिङ स्वतः बढ्ने भयो। अहिले समग्रमा होटलमा ६० प्रतिशत अकुपेन्सी बढेको छ।
दस महिनाअघि भारतमा ओमिक्रोन र डेल्टाले आक्रान्त पारिरहेको थियो। त्यो बेला अमेरिका, युरोप, अष्ट्रेलिया, जापान लगायतले नेपाल 'जान नहुने' सूचीमा राखेका थिए। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक तिहाइ जनसंख्याले खोप लगाएपछि यो सूचीमा राख्न पर्दैन। हाम्रोमा खोप लगाइसके पनि सरकारले कुरा उठाउन सकेको छैन। यो खुल्नेबित्तिकै पर्यटक बढ्छन्।
कोरोनामा होटल क्षेत्रमा कति नोक्सानी भयो? कति होटल विस्थापित भए?
करिब दुई वर्षसम्म ठप्पै बनेको पर्यटन क्षेत्र, त्यसमा पनि होटलहरू ठूलो नोक्सानमा परे। जुन अनुपातमा हाम्रो आम्दानी हुन्थ्यो त्योअनुसार अहिले छैन। नेपालभर दस हजारभन्दा बढी होटल छन् जसमा हानसँग १६ पर्यटकीय गन्तव्यका चार हजारभन्दा बढी होटल समावेश छन्। हामीले निकालेको तथ्यांकअनुसार त्यो बेला मासिक साढे दुई अर्बको नोक्सानी बेहोर्नुपर्यो।
हानसँग भएको तथ्यांकअनुसार झन्डै २० प्रतिशत साना तथा मझौला होटल बन्द भइसकेका छन्। तर यिनलाई औपचारिक रूपमै बन्द भएको भन्न मिल्दैन। यसका लागि सबै भुक्तानी राफसाफ हुनुपर्छ, पत्रिकामा एक महिने सूचना निकाल्नुपर्छ, ट्रेड युनियनले बन्द गर भनेर स्वीकृति दिनुपर्छ। प्रक्रिया झन्झटिलो भएकाले बन्द गरिहाल्न नसक्दा बन्द भएको पुष्टि हुने सरकारी लालमोहर पाइसकेका छैनन्।
राष्ट्र बैंकले होटल क्षेत्रका लागि दिएको पुनर्कर्जा सुविधा होटलहरूले पाए कि पाएनन्? कतिले पाए?
कोरोनाका समयमा राष्ट्र बैंकले होटल क्षेत्रमा कर्जा दिने भनेको थियो। कतिले पाए कतिले पाएनन्, त्यसको तथ्यांक नै छैन। जसको पहुँच छ उनीहरूले पाए। पहुँच नहुनेले पाएनन्।
पछिल्लो समय होटल थपिइरहेका छन्, नयाँ लगानीको अवस्था कस्तो छ?
हालसम्म होटल उद्योगमा १५ खर्ब रूपैयाँभन्दा बढीको लगानी पुगिसकेको छ। लगानी सस्तो हुँदैन। पाँचतारे होटल खोल्नुपर्यो भने जग्गाबाहेक एउटै कोठा तयार पार्न एक करोड रूपैयाँभन्दा बढी लाग्छ। हाम्रो देशको नियमअनुसार पाँचतारे होटलका लागि काठमाडौंमा न्यूनतम सय वटा कोठा र काठमाडौंबाहिर ८० वटा कोठा चाहिन्छ। सय वटा कोठा तयार पार्न एक अर्बभन्दा बढी रूपैयाँ आवश्यक पर्छ।
होटल सञ्चालन गर्नुअगावै व्यवसायीले कस्तो पर्यटकलाई लक्षित गर्ने, कति पर्यटक कहाँबाट ल्याउने भन्नेबारे योजना बनाएको हुन्छ। विभिन्न देशमा उसका श्रृंखला हुन्छन्। कहाँबाट पर्यटक ल्याउने भन्ने थाहा भएपछि मात्र लगानी गर्ने हो। त्यसकारण होटल व्यवसायमा नयाँ लगानी बढिरहेको छ। कोरोना माहामारीमै पनि धेरै होटल बने। अहिले पनि नयाँ आइरहेका छन्।
होटल व्यवसायमा लगानीकर्ता आकर्षित किन छन्?
हामी दुई ठूला देश भारत र चीनको बीचमा छौं। माहामारीअघि १८ करोड चिनियाँ र ९ करोडभन्दा बढी भारतीय पर्यटक विदेश घुम्न निस्कन्थे। त्यसको एक प्रतिशत मात्र हामीले ल्यायौं भने पनि हामीलाई त पुग्छ।
आजको दिनसम्म सबभन्दा बढी पर्यटक सन् २०१९ मा आएका छन्। त्यो बेला ११ लाख ९३ हजार पर्यटक आएका थिए। अहिलेको अवस्थामा हाम्रो होटल उद्योगले २५ लाख पर्यटकलाई सेवा दिन सक्छ। तर ५० प्रतिशत मात्र चलिरहेका छन्।
नेपालमा ५० लाख पर्यटक ल्याउन गाह्रो छैन। तर हामीलाई पूर्वाधारले रोकेको छ। हाम्रा राजमार्ग फराकिला नभएकाले यात्रा लामो र झन्झटिलो हुन्छ। विमानस्थलको क्षमताले धान्दैन। अहिले नै आधा घन्टादेखि एक घन्टासम्म होल्ड भइदिन्छ। यसले पर्यटकलाई निरूत्साहित गर्छ। हाम्रो देशमा सबै कुरा भए पनि व्यवस्थापन छैन। सरकारले यो क्षेत्रमा ध्यान दिने हो भने पर्यटन तथा होटल उद्योगमा नयाँ लगानीकर्ताको आकर्षण अझै बढ्छ।
नेपालमा आउने पर्यटकको खर्च संख्या र स्तरले होटलहरू धानिएलान् त?
त्यो त हामी गर्न सकिहाल्छौं। व्यवसायीले आफूलाई चाहिने पर्यटक संख्या आफैं ल्याउन सक्छ। विश्वव्यापी ग्राहकहरू हुन्छन्। सरकारले सम्बन्धित मुलुकका नागरिकलाई नेपाल आउन बाटो खुलाइदिनु पर्छ। नरोकिकन सहज बनाइदिनु पर्छ। बाँकी काम व्यवसायीको हो।
अझै होटलको आवश्यकता छ? कहाँ–कहाँ कस्ता होटल आवश्यक छ?
देश संघीयतामा जानेबित्तिकै सात वटा प्रदेशका प्रादेशिक राजधानी भए। हरेक कुरा काठमाडौं केन्द्रित नहोस् भन्ने अवधारणा थियो र त्यहीअनुसार गाउँहरू विकास भइरहेका छन्। प्रादेशिक राजधानी हुनेबित्तिकै सहरीकरण हुन थाल्छ र खाने, बस्ने, रमाइलो गर्ने, पार्टी, सम्मेलन गर्ने आवश्यकता हुन्छ। त्यो भनेको होटल-रेस्टुरेन्टको आवश्यकता हुनु हो। अहिले यसरी नै होटल तथा रेस्टुरेन्टको माग बढिरहेको छ। पर्यटकीय गन्तव्यमा पर्याप्त मात्रामा र एकसेएक होटलहरू छन्। नयाँ ठाउँमा माग छ।
अन्तर्राष्ट्रिय विमानस्थल भएकाले सबभन्दा पहिला पर्यटकको आगमन काठमाडौंमा हुन्छ। त्यसपछि घुम्न विभिन्न गन्तव्य पुग्छन्।
आजको दिनमा देशभर सयभन्दा बढी विभिन्न स्तरका तारे होटल निर्माणमा र अनुमति लिने क्रममा छन्। अबको दुई वर्षभित्र धेरै होटल तयार भएर सञ्चालनमै आउँछन्।
पर्यटन क्षेत्र पुनरूत्थानका लागि सरकारले के गर्नुपर्ला?
पर्यटन भनेको छोटो समयमा आर्थिक समृद्धि हासिल गर्ने क्षेत्र हो। रोकेर होइन, व्यवस्थित गरेर हातोमालो गर्दै अघि बढ्नुपर्छ। आजको दिनमा भारत र चीनबाट पर्यटक मात्र ल्याउन सके पनि डलर आउँछ। हामीलाई चाहिएको वैदेशिक मुद्रा यहीँ उत्पादन हुन्छ। वैदेशिक मुद्राको समस्या सामाधान गर्ने नै पर्यटकीय क्षेत्र हो।
सरकारले केही दिनअघि मात्र एलसी (सामान आयातका लागि बैंकले भुक्तानीका लागि दिने ग्यारेन्टी पत्र) बन्द गर्ने भनेको छ। यसको प्रत्यक्ष असर भर्खरै जुर्मुराइरहेको पर्यटन क्षेत्रमै पर्छ। एलसी बन्द गर्नेबित्तिकै अन्तर्राष्ट्रिय ब्रान्डका पेय पदार्थको आयात रोकिन्छ। पर्यटक नेपाल आएर उसले खोजेको खान पाउँदैन। सबै खाना यहाँ उत्पादन हुने होइन, आयात नै गर्नुपर्छ।
दस डलरको सामान आयात गरेर ४० डलर कमाउन सकिन्छ भने किन नसोच्ने?
सरकारले व्यवसायीसँग बसेर छलफल गरेर काम गर्न आवश्यक छ। मनोबल गिराउने काम गर्नुभएन। नीति-नियम ल्याउँदा व्यवसायीलाई समावेश गर्नुपर्छ, छलफल गर्नुपर्छ।
त्यस्तै सरकारले बजेटमा ल्याएका केही कार्यक्रम अझै कार्यान्वयनमा आएका छैनन्। चालु आर्थिक वर्षमा कर्मचारीका लागि दसदिने पर्यटन काज ल्याइएको थियो। यो अझै कार्यान्वयन हुन सकेको छैन। अन्तर्राष्ट्रिय पर्यटकलाई एक महिनाको भिसा निःशुल्क पनि भनिएको थियो। आजसम्म यसमा पनि केही काम भएको छैन।
त्यसकारण नतिजामुखी काम गर्नुपर्छ। यी योजना मात्र कार्यान्वयनमा गए पनि पर्यटक संख्या बढ्छ। त्यो भनेको राष्ट्रलाई नै फाइदा हो। व्यवसायीहरूले आफ्नातर्फबाट पर्यटन प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरू गरिरहेका छन्। सरकारले पनि कार्यक्रम र कार्यान्वयन गर्न जरूरी छ।
हामीलाई कसरी अघि बढ्ने भनेर एउटा राष्ट्रिय कार्यदिशा पनि आवश्यक छ। पर्यटक आकर्षित गर्न के गर्ने भन्ने कुरा महत्वपूर्ण हो। हामीले भ्रमण वर्ष २०२० घोषणा गरेका थियौं, गर्न सकिएन। अरू पनि धेरै योजना बनायौं, सफल हुन सकेन। त्यसकारण अब हामीले तीन वर्षपछि, सन् २०२५ लाई भ्रमण वर्ष मनाउने तयारी गरेर घोषणा गर्न आवश्यक छ।