वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा भइरहेको अस्वभाविक मूल्य वृद्धिबारे अनुगमन गर्न चार टोली खटाएको छ।
गत चैत्र मसान्तसम्म विभागबाट दैनिक दुई टोली परिचालित हुने गरेकोमा हाल अन्य शाखाबाट समेत जनशक्तिको व्यवस्थापन गरी दैनिक ४ टोली खटाउन थालेको हो।
बिक्रेताहरूलाई बजारमा अस्वभाविक मूल्य वृद्धि नगर्न र उपभोक्ताहरूलाई हल्लाको भरमा अधिक मात्रामा वस्तुहरूको खरिद गरी संचय नगर्न समेत विभागले आग्रह गरेको छ। यस सम्बन्धमा अनुगमन भइरहेको विभागले बताएको छ।
‘दैनिक उपभोग्य वस्तुहरूको मूल्य, गुणस्तर, मौज्दात तथा बिक्री-वितरणबारे बजार अनुगमन भइरहेको छ। कानुन विपरित हुने गतिविधी गरेको पाइएमा जरिवाना हुन्छ,’ विभागद्वारा जारी विज्ञप्तीमा भनिएको छ।
पछिल्लो समय रसिया-युक्रेन युद्ध, केही वस्तुहरूको आयातमा गरिएको कडाइ, पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा ढुवानी शुल्क बढेका कारण कतिपय वस्तुको मूल्य बढेको विभागले जनाएको छ। यस्तो अवस्थामा कृत्रिम अभाव सिर्जना गरी मूल्य नबढाउन विभागले आग्रह गरेको हो।
विभागले तालुक निकाय, प्रदेश सरकारहरू, स्थानीय प्रशासन तथा स्थानीय तहसँग समन्वय गरी आपूर्ति व्यवस्थामा कुनै पनि अवरोध आउन नदिन काम गरिरहेको बताएको छ। एक्लैको प्रयासबाट सिंगो मुलुकको आपूर्ति व्यवस्थाको स्थलगत अनुगमन संभव नहुने भएकोले सबै सरोकारवालाको सहयोगको अपेक्षा विभागले गरेको छ।
थप सक्रियताका लागि विभागले मन्त्रालयमार्फत ७७ वटै जिल्ला प्रशासन कार्यालयका निरीक्षण अधिकृत, प्रदेश सरकार तथा स्थानीय तहहरूमा पत्राचार समेत गरिसकेको बताएको छ।
अनुगमनको क्रममा अनुचित व्यापारिक क्रियाकलाप भएको पाइएमा उपभोक्ता संरक्षण ऐन तथा प्रचलित कानुनबमोजिम जरिवाना तथा सजाय हुने उल्लेख गरिएको छ। कसैबाट अनुचित व्यापारिक क्रियाकलाप गरेको पाइएमा सम्बन्धित स्थानीय तह वा स्थानीय प्रशासन वा हेलो सरकार वा यस विभागको पैसा नलाग्ने टोल फ्री नम्बर ११३७ मा फोन गरी अथवा सामाजिक संजालमार्फत गुनासो तथा उजुरी राख्न विभागले आग्रह गरेको छ।