व्यवसायिक घराना गोल्यान समूहले सोलारबाट ६० मेगावाट विद्युत उत्पादन गर्ने भएको छ। पियोर इनर्जी कम्पनीमार्फत विद्युत उत्पादन गर्न लागिएको हो।
कम्पनीले पहिलो चरणमा २० मेगावाट विद्युत उत्पादन गर्न लागेको समूहका निर्देशक अक्षय गोल्यानले बताए। गोल्यान समूहले नेपालगञ्जमा २० मेगावाट विद्युत उत्पादनको लागि सोलार प्लान्ट जडान गरेको छ।
‘हाल हामी सोलार प्लान्ट निर्माणमा लागिरहेका छौं, असोजसम्ममा उत्पादन नै सुरु हुनेछ,’ उनले भने। सो प्लान्टबाट वार्षिक ४० लाख युनिट विद्युत उत्पादन हुने गोल्यानले जानकारी दिए।
नेपाल विद्युत प्राधिकरणसँग प्रति युनिट ७.३ का दरले विद्युत खरिद सम्झौता (पिपिए) भएको अक्षयले जानकारी दिए। उक्त विद्युत खरिद सम्झौता २५ वर्षको रहेको छ।
उक्त प्लान्ट समूहले आफ्नै जग्गामा लगाएको हो। हाल २३ विगाह जग्गा किनिसकेको अक्षयले जानकारी दिए। बाँकी २० विगाह जग्गा भने किन्ने क्रममा रहेको छ।
थप चनौटामा २० मेगावाट र लमहीमा २० मेगावाट प्लान्ट जडान गर्ने समुहको योजना छ। त्यसका लागि तीन वर्ष अघि नै जग्गा किनिसकेको अक्षयले जानकारी दिए। यी प्रोजेक्टबाट उत्पादित विद्युतको पिपिए हुने क्रममा छ।
सरकारले सोलारपावर प्रोजेक्टलाई पनि उत्तिकै प्राथमिकता दिएमा विद्युतको समस्या नहुने अक्षयको भनाइ छ। सोलार प्रोजेक्टको निर्माण काम छ महिनामा सकिने भएकाले यी आयोजनाबाट तुरून्तै विद्युत उत्पादन गर्न सकिने उनले बताए।