व्यवस्थापकहरूको छाता संगठन नेपाल व्यवस्थापन संघले नेपाल सरकारको आगामी बजेट तथा कार्यक्रममा सहयोग पुर्याउने उदेश्यले काठमाडौंमा पूर्व बजेट छलफल कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नेपाल सरकारका अर्थसचिव मधुकमार मरासिनी, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरू, उद्योगी व्यवसायी र विभिन्न क्षेत्रका विज्ञहरूको उपस्थिती थियो।
कार्यक्रममा निजि क्षेत्रका सरोकारवालाहरूले भोगेका समस्या र चुनौतिहरूबारे छलफल भयो। साथै, उक्त चुनौतिहरूलाई आगामी बजेटमा सम्बोधन हुनुपर्ने विषयमा कुराकानी भयो। छलफलको निष्कर्शमा भविष्यमा दुरदर्शी प्रभाव पार्न सक्ने बजेट प्याकेज तथा कार्यक्रम भित्र्याउनुपर्ने भन्ने रह्यो।
कार्यक्रममा निजि क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका सिनियर उप-सभापति कमलेश कुमार अग्रवाल, बैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवन कुमार गोल्यान र नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी खत्रीको सहभागिता थियो।
त्यसैगरी विज्ञहरूमा शिक्षा क्षेत्रबाट प्रा. डा. विद्या नाथ कोइराला, अर्थशास्त्री डा. विश्वास गौचन, कृषि विज्ञ डा. कृष्ण देव जोशी, पर्यटन क्षेत्रका विज्ञ बसन्त राज मिश्र, स्वास्थ्य क्षेत्रका विज्ञ किशोर कुमार महर्जन र सूचना प्रविधि क्षेत्रका विज्ञ एलेन तुलाधरको उपस्थिती थियो। पूर्व बजेट छलफल कार्यक्रमलाई संघका कार्यकारी सदस्य मजोज कुमार ज्ञवालीले सहजीकरण गरेका थिए।
नेपालको खासगरी आर्थिक, मौद्रिक र प्रशासनिक क्षेत्रको नीतिगत तहमा विगत चार दशकदेखि योगदान पुर्याउँदै आएको संघले निष्पक्ष र स्वतन्त्र रुपमा सरोकारवाला पक्षहरू र विज्ञहरूसँग छलफल चलाइ नेपाल सरकारको बजेट तथा कार्यक्रममा उपयोगी हुने सुझावहरू पेश गर्दे आएको छ।
मंगलबार सम्पन्न पूर्व बजेट छलपलका आधारमा तयार पारिएको प्रतिवेदनलाई संघले केही दिनभित्र नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्य योजना रहेको संघका सभापति उपेन्द्र प्रसाद पौडेलले जानकारी दिए।