गाउँघरमा बैंक तथा वित्तीय संस्था पुगेसँगै स्थानीयको जीविकोपार्जन सहज बनेको छ। यस्ता संघसंस्थाहरूले विशेषगरी घरखर्च चलाउन र ससाना व्यवसायमा आवद्ध रहेर दैनिकी सहज बनाउन कर्जा उपलब्ध गराइरहेका छन्। थोरै लगानीबाट व्यवसाय सुरू गरेर कतिपय उद्यमी नै बनेका छन्।
यसकै उदाहरण हुन् लेटाङ-२, मोरङका रघुनाथ अधिकारी। उनले आजभन्दा ११ वर्षअघि सहकारीबाट कर्जा लिएर ग्रिल उद्योग सञ्चालनमा ल्याएका थिए।
'एक दशकअघि सहकारीबाट एक लाख ऋण लिएँ। एक लाख आफैंसँग थियो। अनि ग्रिल उद्योग दर्ता गरेर सञ्चालन गरेँ,' उनी भन्छन्।
दुई लाख लगानीमा उनले वायरिङ, हिटिङ, ग्रेन्डर लगायत ८० हजार खर्चेर मेसिन किने। विद्युत जडान गरे। ग्रिलका लागि आवश्यक कच्चा पदार्थ किने। ऊ बेलामा सहकारीबाट ऋण लिएर व्यवसाय सुरू गरे पनि ग्रिलजन्य सामानको मागै थिएन।
'गाउँमा ग्रिलको प्रयोग नै नहुने। बल्लतल्ल महिनामा एउटा घरबाट झ्यालको माग आउँथ्यो। यसरी नै धेरै वर्ष बित्यो,' उनी सम्झिन्छन्।
उनका अनुसार गाउँघरकाले ग्रिल के हो भन्ने बुझेकै थिएनन्। त्यसकारण पनि झ्यालमा ग्रिल लगाउनुपर्छ भन्ने धेरैलाई थाहै भएन। आलुमिनियम पार्टेसनको त झन् चलनै थिएन। सुरूमा व्यवसाय गर्दा उनले एक जना कर्मचारी राखेका थिए। काम नभएपछि मासिक तलब दिन मुश्किल भयो, सहकारीबाटै ऋण लिएर दिए।
उनका अनुसार करिब पाँच महिना यसरी नै बित्यो। त्यसपछि फाटफुट्ट माग आउन थाल्यो।
ती दिन सम्झिँदै उनी भन्छन्, 'सुरूमा वेल्डिङ गर्दा (मेसिनले फलाम जोड्दा-काट्दा) गाउँभरिका सयभन्दा बढी मानिसहरू भेला भएर हेर्न आउँथे।'
त्यो बेला गाउँघरमा पुराना शैलीका अर्थात् ढुंगामाटोबाट बनेका घर थिए। तिनमा ग्रिल तथा आलुमिनियमको आवश्यकता थिएन।
२०७२ सालमा भूकम्प गयो। त्यसपछि गाउँमा नयाँ घर बन्न थाले। योसँगै अधिकारीको व्यवसाय उक्सिन थाल्यो। नयाँ घरमा फलाम, स्टिल, आलुमिनियम सबै चाहियो। उनले पर्खालमा राख्ने गेट, च्यानल गेट, ट्रस, भर्याङ, सटर, आलुमिनियम पार्टेसन, स्टिलका रेलिङ डिजाइनअनुसार बनाउन थाले।
'भूकम्पले क्षति नपुर्याएका घर पनि पुराना भएकाले मानिसहरूले भत्काए। ढुंगा, माटो र काठका घर प्रतिस्थापन भए,' उनी सुनाउँछन्, 'इँटा, सिमेन्ट र फलामबाट घर बन्न थाले। त्यो बेला गाउँमा ग्रिल उद्योगको संख्या कम थियो। त्यसैले मेरो व्यवसाय राम्रो भयो।'
उनका अनुसार पहिलेका घरमा काठ कुँदेर झ्याल, ढोका र रेलिङ बनाइन्थ्यो। अहिले आलुमिनियम, स्टिल वा ग्रिल नै पनि प्रयोग गरिन्छ।
'अहिले सानो घर भए पनि इँटाको गारो लगाएर, झ्याल-ढोकामा आलुमिनियम वा ग्रिल राखेर चिटिक्क बनाउने चलन छ। त्यसकारण पनि सामानको माग बढेको छ,' उनी थप्छन्।
माग राम्रो आउन थालेपछि उनले सामान थप्दै गए। यही बेला अधिकारीले उद्योगमा लगानी बढाउने सोचे। तर एकैपटक ठूलो लगानी गर्न ऋण पाउन मुश्किल। त्यही बेला उनले एनएमबी लघुवित्तको सहयोग मिल्यो।
दुई वर्षअघिको कुरा हो। ठूलासाना र मझौला उद्यमीलाई लक्षित गर्दै उनीहरूले मोरङको लेटाङ बजारमा घरेलु महासंघ स्थापना गरेका थिए। महासंघमा अधिकारी उपाध्यक्ष थिए। उनका अनुसार उद्यमीहरू कहिलेकाहीँ भेला हुने छलफल गर्ने कार्यक्रम भइरहन्थ्यो।
त्यही क्रममा एकदिन एनएमबीका शाखा प्रबन्धक आइपुगे। लघुवित्तले युवा स्वरोजगार कार्यक्रम ल्याएको रहेछ, त्यसबारे जानकारी दिए।
'त्यसमा विदेशबाट फर्किएका युवालाई लक्षित गरिएको रहेछ। त्यसमा म पनि परेँ,' अधिकारीले सेतोपाटीसँग भने, 'सहकारीमा भन्दा केही सस्तो लाग्यो। त्यसपछि लघुवित्तबाट ऋण लिएँ।'
अधिकारी २०६२ सालमा रोजगारी खोज्दै साउदी अरब पुगेका थिए। नेपालमै ग्रिलको काम सिकेका थिए, करिब पाँच वर्ष साउदीमा पनि यही काम गरे। १२ हजार तलबमा सुरू गरे, बढेर ४५ हजार पुग्यो। कम्पनीसँगको सम्झौता सकिएपछि २०६७ सालमा फर्किए।
'विदेशमा गएर झन् बढी सीप र अनुभव लिएर फर्किएँ,' उनले भने, 'विदेशमा गरेजति काम यहीँ गर्छु र त्योभन्दा बढी पैसा कमाउँछु भन्ने अठोट राखेँ र जानेकै काम गर्ने सोचेँ।'
आएको एक वर्ष नबित्दै उनले ग्रिल उद्योग सञ्चालनमा ल्याएका हुन्।
यसरी सुरू गरेको ग्रिल उद्योग उकास्न ऋण पाइने भएपछि उनी दंग परे। अनि ०७६ सालमा एनएमबी लघुवित्तमार्फत् पाँच वर्षमा चुक्ता गर्ने गरी दस लाख रूपैयाँ ऋण लिए। उनीसँग पहिल्यै साना मेसिन र औजार थिए। बैंकबाट ऋण लिएपछि ठूला मेसिन र औजार थपे।
'त्यसमा साढे दुई लाख खर्च भयो,' उनी भन्छन्, 'स्टिल र आलुमिनियम थोरै मात्रामा थियो, बढाएँ। कच्चा पदार्थ बढाएँ।'
अहिले उनले ६ जनालाई रोजगारी दिएका छन्। काम बढ्दा थप दुई जनालाई बोलाउँछन्। यही उद्योगबाट उनको कमाइ पनि उकासिएको छ।
अधिकारी भन्छन्, 'अहिले त महिनामा १७ लाखसम्म आम्दानी हुन्छ।'
थोरै लगानीबाट सुरू गरेको उद्योगले उनलाई व्यवसायी बनाएको छ।