सरकारले मंगलबारदेखि नेपालमा १० प्रकारका सामग्रीहरू आयात गर्न रोक लगाएको छ। तर यो सूची सार्वजनिक गर्दा हुलमुलमा नेपालमै उत्पादन हुने कुरमुरे नाम पनि परेको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दा कुरकुरे, लेजसहित कुरमुरे नाम पनि उल्लेख गरेको छ।
कुरमुरे नेपालको दुगड समूहको सेन्चुरी फुड्सको उत्पादन हो। यसबारे हामीले मन्त्रालयलाई सोध्यौं।
मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले कुरमुरे नेपालकै उत्पादन भएकाले यसलाई रोक्नै नपर्ने बताए। तर कुरमुरेका नाममा विदेशी उत्पादन भित्रिन्छन् कि भनेर सूचनामा राखिएको उनले बताए।
'हामीले नेपाली कुरमुरेलाई आयात रोक लगाउनै परेन, यहीँ बन्ने कुरा भयो,' प्रवक्ता रेग्मीले सेतोपाटीसँग भने, 'तर कुरमुरेका नाममा केही विदेशी उत्पादन आउन सक्छन्, त्यसैले त्यस्ता चिज रोक लगाउन सूचना प्रकाशित गरिएको हो।'
देशमा विदेशी मुद्रा सञ्चिति कम भएकाले सरकारले अत्यावश्यक बाहेकका वस्तु आयातमा कडाइ गरेको हो।
सरकारले मंगलबारबाट आयात गर्न रोक लगाएका सामानहरूमा खानेकुरादेखि गाडीसम्म छन्।
मंगलबार जारी सूचनाअनुसार अब असारसम्म कुरकुरे, लेज जस्ता स्न्याक्स खानेकुरा आयात गर्न पाइँदैन। त्यस्तै कुनै पनि प्रकारका तयारी मदिरा पनि नेपाल ल्याउन पाइने छैन।
हेर्नुहोस् सरकारले आयात रोकेका १० सामग्रीको सूचीः
१. कुरकुरे, लेज, कुरमुरे र यस्तै उत्पादनहरू
२. सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थबाहेक)
३. चुरोट तथा सूर्तिजन्य वस्तु (कच्चापदार्थ बाहेक)
४. हिरा (औद्योगिक कच्चा पदार्थबाहेक)
५. छ सय अमेरिकी डलरभन्दा बढी मूल्य भएका मोबाइल सेट
६. बत्तीस इञ्चभन्दा माथिका रंगीन टेलिभिजन
७. जिप, कार र भ्यानहरू (एम्बुलेन्स र शववाहन बाहेक)
८. दुई सय पचास सिसीभन्दा धेरै क्षमताका मोटरसाइकल
९. सबै प्रकारका खेलौना
१०. खेल्ने तास