मुलुकको पर्यटन प्रवर्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) र नेपाल पर्यटन बोर्डबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। यो समझदारी पछि दुवै संस्थाहरू पर्यटन उद्योगको प्रवर्धन र अवधारणा विकासमा सहकार्य गर्नेछन्।
समझदारी पत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले हस्ताक्षर गरेका छन्।
आपसी समझदारी अनुसार पर्यटन विकासमा विभिन्न तहमा सरोकारवालाहरूको बैठक आयोजना गरी उदयमान पर्यटकिय प्रवृत्तिहरूको अवधारणा विकास गर्ने र तीनको आदानप्रदान गर्ने, नेपालका विभिन्न अन्तराष्ट्रिय र आन्तरिक विमानस्थलहरूको सौन्दर्यकरण र सेवा सुधारमा सहकार्य गरिनेछ।
त्यसैगरी, नेपाली पर्यटनको डिजिटल मार्केटिङ, अन्तराष्ट्रिय बजारीकरण, पर्यटनसँग सम्बन्धित सरोकारवालाहरूको क्षमता विकास, सम्भावित पर्यटन उत्पादनहरू (हिल स्टेशन, पार्क लगायत अन्य पर्यटकीय गतिविधिहरू) मा सहकार्य हुनेछ।
कार्यक्रममा महासंघका अध्यक्ष गोल्छाले मुलुकको पर्यटन उद्योगलाई नयाँ दिशा दिन यो सहमती कोशेढुंगा हुने विश्वास व्यक्त गरे। अध्यक्ष गोल्छाले समझदारीपत्रको अक्षरश कार्यान्वयनको प्रतिवद्धता पनि जनाए।
कोभिडले थलिएको पर्यटन उद्योगको पुनरूत्थानका लागि पर्यटनसँग आवद्ध सबै संस्थाहरूको सहभागितामा छिट्टै एउटा वृहत कार्यक्रम आयोजनाको प्रस्ताव गरेका छन्।
पर्यटन पूर्वाधार विकास, सार्वजनिक सवारी साधन एवं स्थानहरूको गुणस्तर सुधार अत्यावश्यक भएको भन्दै यसमा केन्द्रीत हुनुपर्नेमा जोड दिए। अध्यक्ष गोल्छाले भैरहवा विमानस्थललाई यस क्षेत्रकै सस्तो र सुलभ विमानस्थल बनाउनेतर्फ पहल हुनुपर्नेमा जोड दिँदै भने, ‘यो सम्भव पनि छ। यसका लागि सरकारको सहयोग आवश्यक छ।’
अध्यक्ष गोल्छाले छिट्टै नेपाल–भारत लगानी सम्मेलन गर्ने तयारी रहेको र सो क्रममा भारतीय शहरहरूमा रोड शो गरिने योजना रहेकाले यसमा पर्यटनलाई पनि सँगै लैजान सकिने बताए।
बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. रेग्मीले निजी क्षेत्रको छाता संस्थासँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे।
पर्यटनसँग सम्बन्धित कार्यक्रम आयोजना गर्ने सम्बन्धमा महासंघको प्रस्तावलाई छिट्टै अगाडि बढाउन आग्रह गर्दै भारतीय र चिनियाँ पर्यटक आकर्षणमा विशेष कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुपर्ने बताए।