नेपालमा प्रतिबन्धित इनर्जी ड्रिङ्स खुलेआम बिक्री-वितरण भइरहेको पाइएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार बालाजु-बसपार्क क्षेत्रबाट ६५ क्यान इनर्जी ड्रिङ्स बरामद गरेको हो।
क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थको बिक्री-वितरण तथा कारोबार रोक लगाइएकोमा खुलेआम बिक्री भइरहेको सूचना पाएपछि विभागले बजारबाट बरामद गरेको हो।
काठमाडौं महानगरपालिकामा रहेका एरिका लिक्वेयर सप, गोर्खाली सञ्जिव किराना तथा फलफूल पसल, स्वर्गद्वारी कोल्ड स्टोर, जसवाल जुस एण्ड फ्रुट, रिजाल गुदपाक भण्डार र एमजी ग्रुप मल्टिप्रपोज कम्पनीबाट सो परिमाणको रेडबुल बरामद गरेको विभागले जानकारी दिएको छ।
विभागको प्रारम्भिक अनुसन्धान अनुसार उक्त रेडबुल भारतबाट ल्याइने गरेको पाइएको विभागका सूचना अधिकारी धनेश्वर पौडेलले बताए।
‘व्यापारीसँग खरिद गरेको बिल छैन। लामो दुरीका गाडीले ल्याएर छोडिदिएको भन्छन्,’ उनले भने।
यसरी आयात प्रतिबन्ध भएको रेडबुल बजारमा खुलेआम बिक्री-वितरण भएको पहिलो पटक भने होइन। यसअघि पनि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले न्युरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन, गोठाटार लगायत क्षेत्रबाट २०२ कार्टुन रेडबुल बरामद गरेको थियो।
सरकारले प्रतिबन्ध गरेको रेडबुल तराईंका विभिन्न जिल्लाबाट भन्सार छलेर नेपाल भित्र्याउने र भ्यान तथा रात्रि बसबाट काठमाडौंसम्म ल्याउने गरेको पाइएको छ।
विभागले यस्तो रेडबुलको कारोबार अन्य धेरै स्थानमा भइरहेको हुनसक्ने आशंकामा खोजी गरिरहेको सूचना अधिकारी पौडेलले बताए। ‘रेडबुल बसपार्क क्षेत्रमा मात्रै होइन अन्य ठाउँमा पनि बेचिरहेको शंका लागेको छ,’ उनले भने, ‘मुल स्रोतको छानबिन गरीरहेका छौं।’
२०७६ असार २ मा प्रकाशित राजपत्रमा क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थ बिक्री-वितरणमा रोक लगाइएको हो।
बजारमा भइरहेको अस्वभाविक मूल्य वृद्धिबारे विभाग बढी केन्द्रीत भएको विभागका महानिर्देशक लिला प्रसाद शर्माले जानकारी दिए। उनका अनुसार गत चैत्र मसान्तसम्म विभागबाट दैनिक दुई टोली परिचालित हुने गरेकोमा हाल अन्य शाखाबाट समेत जनशक्तिको व्यवस्थापन गरी दैनिक ४ टोली खटाउन थालिएको छ।
विभागले चैत महिनामा एक सय ५० वटा फर्ममा अनुगमन गरेको छ। त्यसमध्ये, हार्डवेयरका १३, खाद्यवस्तुका २१, अन्य ६, तरकारी तथा फलफूलका ५, किराना पसलका ४, ग्यासका तीन, मार्ट÷मिनिमार्ट तीन, डिपार्टमेन्ट स्टोर दुई, मदिरा एवम् सुर्तिजन्यका दुइटा फर्म गरेका छन्।
त्यस्तै, जुत्ता चप्पलका एक, फर्निचर एण्ड फिक्वर्सका एक, डेरी प्रोडक्टका एक, कस्मेटिकका एक र अटो पार्ट्सको एक फर्ममा अनुगमन गरेको छ।
अनुगमन गरिएका फर्ममध्ये ७४ वटालाई जरिवाना गरिएको विभागको तथ्यांकले देखाएको छ। तथ्यांकअनुसार दुइटा सामान्य अवस्थामा छन् भने २४ लाख ८१ हजार मूल्य बराबरका ११ वटा फर्मको सामान नष्ट गरिएको छ।
त्यस्तै, ३० वटा फर्मलाई आवश्यक कागजात माग गरिएको विभागले जानकारी दिएको छ।