गत साता सप्तरीको महुली पुग्दा स्थानीय महिलाहरूको एक समूहसँग भेट भयो। गाउँमा विभिन्न सीप सिक्ने र सिकाउने अभियानमा लागेका उनीहरू निकै व्यस्त थिए। समूहका महिलाहरू कोही नाङ्लो बुन्दै थिए त कोही मुडा। कोही सालको पातबाट दुना-टपरी गाँस्दै थिए।
तिनै महिलाहरूका बीचमा एक जना वृद्धा थिइन्। धेरैजसो सेतो कपालमाथि फेटा बाँधेकी, ठूलो रातो टीका, गलामा मोटो माला र सारीचोलो लगाएकी उनले सानो झोला भिरेकी थिइन्। उनका हात भने खाली थिए। झट्ट हेर्दा उनी अन्य महिलालाई काम सिकाउँदै गरेकी जस्ती देखिन्थिन्।
उनी रहिछन् ६८ वर्षीया टेकमाया सापकोटा। हामीले टेकमायालाई सोध्यौं, 'तपाईंले काम सिकाउनु हुन्छ हो?'
जवाफ दिइन्, 'होइन, आज समूहको पैसा बुझाउने दिन हो। हामी सधैं यहीँ भेला भएर पैसा उठाउँछौं र बुझाउँछौं।'
टेकमाया पशुपालन गर्छिन्। आफूलाई व्यवसायीका रूपमा उभ्याउन सफल महिला हुन्। यस्तै केही न केही व्यवसाय गर्ने महिलाहरूको एउटा समूह रहेछ। घरै बसेर काम गर्ने उनीहरू समूहको पैसा बुझाउन महिनाको एक दिन भेला हुने रहेछन्।
हामीले त्यही समूहकी अग्रज टेकमायाकै व्यवसाय यात्रा सुन्न चाह्यौं।
उनले स्थानीय महुली लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय सुरू गरेकी रहिछन्, १५ वर्षअघि।
पैसा नहुँदा गर्जो टार्नै हम्मे थियो। लघुवित्तबाट पाएको ऋणबाट उनले दुई वटा गाई किनिन्। दूध बेचेर खास के गरूँला र, घरव्यवहार धान्न सकिन्छ भन्ने सोच थियो। उनको घर खर्च त चल्यो नै, आजसम्म आइपुग्दा तिनै गाईले लाखौंको कारोबार गर्ने व्यवसायी बनाए।
'महुली सामुदायिक विकास केन्द्रबाट १५ वर्षअघि ५० हजार ऋण लिएर दुइटा गाई किनेकी थिएँ,' उनले भनिन्, 'छोराछोरी पढाउन र घरखर्च चलाउन पैसा हुन्छ भन्ने मात्र थियो।'
त्यो बेला उनले २४ हजार रूपैयाँमा दुइटा गाई किनिन्। बचेको पैसाले दाना, गोठ र अन्य आवश्यक प्रबन्ध गरिन्। दुइटा गाईले दैनिक तीन लिटर दूध दिन्थे। उनी महुली बजार लगेर बेच्थिन्।
'मैले किनेर ल्याएको १५ औं दिनदेखि नै दुइटा गाईले दैनिक १५ लिटर दूध दिन थाले,' टेकमायाले भनिन्, 'अनि त ऋणको किस्ता तिर्न र घरखर्च चलाउन मजाले पुग्ने भयो।'
दूध बेचेर आएको पैसाले टेकमाया छोराछोरीलाई बजारको निजी विद्यालय पढाउन सक्ने भइन्। तीन महिनापछि उनले एउटा गाई ३५ हजार रूपैयाँमा बेचिन्। त्यही पैसाले दुई माउ गाई किनिन्।
उनले गाईको स्याहारमा कुनै कमी हुन दिइनन्। उनको हातमा परेका गाईले सोचेअनुसारै दूध दिए। नाफा राखेर गाई बेच्न, किन्न र बजारमा दूध पुर्याउन उनलाई भ्याइनभ्याइ थियो। उनको मेहनतले वर्षैपिच्छे गोठमा गाई बढ्न थाले। आम्दानी बढ्दै गयो। गाईसँगै उनले बाख्रा र कुखुरा पाल्न थालिन्।
'थोरै बाख्रा, कुखुरा र परेवा थपेँ। कुखुराको अन्डा बेच्न थालेँ। परेवा जोडी नै बेच्न थालेँ। किस्ता तिर्न झनै सजिलो भयो,' उनले भनिन्।
पछि गोठमा दस माउ गाई भए। दैनिक ९० लिटरसम्म दूध बेच्न थालिन्। सबै दूध महुलीस्थित आदर्श बहुमुखी दुग्ध उत्पादन सहकारी संस्थाले किन्यो।
व्यवसाय फैलिँदै थियो। उनी बस्ने घर र पशुका लागि गोठ भने राम्रो थिएन। सानो गोठमा धेरै गाई मिलाएर राखेकी थिइन्। उनी बस्ने कोठा पनि एउटा मात्र थियो। गाई बढाएर ठूलो व्यवसाय गर्ने सोच थियो, तर टेकमायासँग ठूलो लगानी गर्न पैसा थिएन।
उनका कान्छा छोराले आमालाई गोठका सबै गाई बेचेर सस्ता धरै गाई किन्ने सल्लाह दिए। टेकमायाले पनि केही बाच्छा राखेर भएका ७० वटा गाई ९० लाख रूपैयाँमा बेचिदिइन्। यही पैसाले उनले तीन तले पक्की घर ठड्याइन्। गाई, बाख्रा, कुखुरा र परेवाका लागि नयाँ गोठ र खोर बनाइन्।
लघुवित्तबाट फेरि ऋण लिइन्, केही गाई किनिन्। ऋण लिने, व्यवसाय अघि बढाउने, उकास्ने, किस्ता तिर्दै जाने, यो प्रक्रिया टेकमायालाई बानी परिसक्यो।
'आजकाल ऋण लिन मलाई अलिकति पनि डर लाग्दैन,' टेकमाया भन्छिन्, 'पचास हजार रूपैयाँ ऋणबाट दुई वटा गाई किनेकी थिएँ। त्यही गाईले ९० लाख बनाइदिए। सुकुम्बासी जस्तै थिएँ, गाईले नै लखपति बनाइदिए।'
टेकमायाको नयाँ घर पुग्दा उनका कान्छा छोराबुहारी कुखुराको हेरचाहमा थिए। टेकमायालाई देख्नासाथ कुखुरा झुम्मिन थाले। खुसी हुँदै उनले भनिन्, 'ओहो, मलाई देखेर यी कुखुरा कति खुसी भएका ल हेर!'
उनको आँगन कुखुराले भरिएको छ। अलिक पर खोरमा खसीबाख्रा छन्। ४५ वटा गाई छन्। सुख्खा याममा पनि दैनिक ९० लिटर दूध बेच्दै छिन्। काममा छोराबुहारीले सघाउँछन्।
सबै जसो कारोबार सम्हालिरहेका छोरा अर्जुन भन्छन्, 'आमाले गरेको व्यवसाय सम्हाल्न पाएको छु। धेरै खुसी लाग्छ। आमा मेरा लागि प्रेरणा हुनुहुन्छ।'
अर्जुन आफैं पनि आम्दानी बढाउन नयाँ तरिका अपनाइरहेका छन्। बोयर जातका खसी पालेका छन्। कडकनाथ (काला) जातका कुखुरा थपे। काभ्रेको बनेपाबाट एक जोर भालेपोथी र केही चल्ला लगेका थिए। उनका अनुसार हुर्केको एउटा कडकनाथ भाले २० हजार रूपैयाँमा बिक्छ।
'दुई सय वटा कुखुरालाई छ महिनामा २० हजार रूपैयाँ खर्च गर्दा त्यसबाट तीन लाख रूपैयाँ फाइदा हुन्छ,' उनी भन्छन्। गाई, बाख्रा, कुखुरा र परेवाबाट सबै खर्च कटाएर पछिल्लो एक वर्षमा ५० लाख रूपैयाँ बचत भयो।
टेकमायाका अनुसार व्यवसायमा सफल हुन धेरै मेहनत र धैर्य चाहिन्छ। कहिले जनावर बिरामी पर्छन्, कहिले मर्छन् पनि। चुलबुले मनले व्यवसाय चल्दैन। बीमा गरेर व्यवसाय जोगाउनु पर्छ। टेकमायाले सबै गाईको बीमा गरेकी छन्।
उनले छरछिमेकीलाई पनि व्यवसाय गर्न प्रेरित गर्छिन्। महिलाहरूलाई लघुवित्तबाट ऋण लिएर गर्न सकिने लाभबारे बुझाउँदै हिँड्छिन्। भन्छिन्, 'केही भएन भने कुखुरा पाल्नुस्, बढाउँदै लैजानुस्, बिस्तारै त्यही व्यवसाय बन्छ। इमानदार हुनुपर्यो, लघुवित्तले ऋण दिन्छ।'
सप्तरीको नयाँबस्तीमा व्यवसाय गरिरहेकी टेकमायाको जन्मथलो भने पोखरा हो। बिहे गरेर गुल्मी पुगेकी उनले झन्डै ४० वर्षअघि गाउँ छाडेकी हुन्। सापकोटा दम्पती अनेक ठाउँ चहार्दा चहार्दै सप्तरीको नयाँ बस्ती पुगे।
उनका श्रीमान बेरोजगार थिए। आम्दानी स्रोत थिएन, छाक टार्न मुस्किल भयो। काखमा पाँच छोराछोरी थिए। कहाँ राख्ने, के खुवाउने टुंगो थिएन। लामो समय टेकमायाले एक्लै संघर्ष गरिन्। सुरूमा उनले सप्तरीको मगर बस्तीका महिलालाई नाङ्लो बुन्न सिकाइन्।
'केही व्यवसाय गर्न मन थियो,' उनले सुनाइन्, 'ऋण खोज्दै धेरै सहकारी संस्थामा धाएँ पनि। तर मलाई कसरी तिर्छौ भनेर फर्काए, कसैले पत्याएनन्।'
पछि गाउँमा महुली सामुदायिक विकास केन्द्र खुल्यो। केन्द्रले तीन जना महिलालाई पशुपालन र हाते सीपको एकहप्ते तालिम दियो। त्यसमा टेकमाया पनि एक थिइन्। त्यहाँका एक जना कर्मचारीसँग टेकमायाको चिनजान भयो। उनको लगनशीलताले कर्मचारी प्रभावित भए। अनि किस्तामा दुई वर्षमा तिर्ने गरी टेकमायाले पन्ध्र वर्षअघि ५० हजार रूपैयाँ ऋण पाएकी थिइन्। त्यही पैसाबाट हो उनले गाई पाल्न थालेको।
महुलीले तालिम दिएका महिलाहरूकै समूह रहेछ हामीले भेटेको। त्यसमा हाल ३० जना महिला छन्। उनीहरू सबैजसोले महुलीबाट कर्जा लिएर केही न केही व्यवसाय चलाएका छन्।
टेकमाया फुर्सदमा टपरी पनि गाँस्छिन्। एक बोरा टपरी बेच्दा तीन हजार रूपैयाँ आउँछ। कपासबाट बाती पनि कात्छिन्। ७० वर्ष पुग्न लागेकी टेकमाया भन्छिन्, 'हात खाली बस्नु भएन। आम्दानीका स्रोत जति पनि छन्।'