सन् २०२२ को अप्रिलमा ५८ हजार ३४८ जना विदेशी पर्यटक नेपाल भ्रमणका लागि आएका छन्। अघिल्लो वर्षको तुलनामा १६० प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा २२ हजार ४५० जना पर्यटक नेपाल आएका थिए।
अध्यागमन विभागकाअनुसार अप्रिल महिनामा नेपालबाट ५२ हजार ६६३ जना पर्यटक बाहिरिएका छन्।
कोरोना माहामारीपछि पर्यटक आगमनको संख्या बढ्दै गएको छ। तथ्यांकअनुसार मार्चमा ४२ हजार पर्यटक नेपाल आएका थिए।
मार्चको तुलनामा अप्रिलमा १६ हजार बढी पर्यटक नेपाल घुम्न आएका छन्। पर्वतारोहणको सिजन चलिरहेकाले पनि पर्यटकको संख्या बढेको देखिन्छ।
नेपाल पर्यटन बोर्डकाअनुसार सन् २०२२ को जनवरीमा विभिन्न मुलुकबाट १६ हजार ९७५ जना पर्यटक नेपाल आएका थिए। यस्तै फेब्रुअरीमा १९ हजार ७६६ जना पर्यटक भ्रमणमा आएका थिए।
भारत, बंगलादेश, बेलायत, जर्मन, फ्रान्स, चीन लगायतका मुलुकबाट नेपाल भ्रमणका लागि बढी पर्यटक आउने गरेका छन्।
बोर्डको रणनीतिक बजारीकरणको प्रभाव र व्यवसायीहरूको कडा मेहनतका कारण पर्यटन क्षेत्र बिस्तारै रिभाइभ हुँदै गएको बोर्डका निर्देशक मणि लामिछानेले जानकारी दिए।