दाङ, तुलसीपुरको 'ग' लाइनमा 'द पूर्ण हेयर क्राफ्ट एन्ड युनिसेक्स सैलुन' छ। यो सैलुन खुलेको वर्ष दिन हुन लाग्यो।
सैलुन साला–भेना पूर्णबहादुर केसी र सुग्रिभ बस्नेत मिलेर खोलेका हुन्। यो सैलुनमा ग्राहककले पालो पाउन मुश्किल पर्छ। ग्राहकमा महिलाको संख्या बढी हुन्छ। सैलुन खोज्दै नेपालगञ्ज, बुटवल र अन्य ठाउँबाट पनि मानिसहरू आइपुग्छन्।
कपालको डिजाइनका आधारमा शुल्क निर्धारण हुन्छ। कलर, क्यारेट र स्मूथ के गराउने हो, त्यहीअनुसार पैसा लाग्छ। कपाल रंगाउन कम्तीमा साढे तीन हजार रूपैयाँ पर्छ। पूर्णका अनुसार कलर, क्यारेट, स्मूथ, स्याम्पु ट्रिटमेन्ट एकैसाथ गराउने हो भने १८ हजार रूपैयाँसम्म पर्छ।
'यो काम एकै दिनमा भ्याइँदैन,' पूर्णले भने।
पूर्ण २२ वर्षका भए। सुग्रिभ २६ वर्षका। सैलुनमा पूर्णको ७० प्रतिशत र सुग्रिभको ३० प्रतिशत लगानी छ। नाफा रकम यही आधारमा भागबण्डा गर्छन्।
पूर्ण तुलसीपुर उपमहानगरपालिकाको गौरीगाउँका हुन्, सुग्रिभ घोराहीको तेघराका। सुग्रिभकी श्रीमती गीता पनि त्यही सैलुनमा मासिक तलबमा काम गर्छिन्। मासिक तलबमै काम गर्ने अन्य दुई जना युवती पनि छन्।
पूर्णले कक्षा दससम्म तुलसीपुरकै पशुपति माध्यमिक विद्यालय, वनगाउँमा पढे। २०७२ सालमा कक्षा दसको अन्तिम परीक्षा दिएर बसेका थिए। उनका केही साथीहरू पैसा कमाउन भारत जान थाले। पूर्ण पनि एक पटक भारत पुगे।
पूर्णका जेठा भिनाजु राजेश बुढाथोकी भारतमै काम गर्थे। सुरूमा पूर्णले पाँच हजार भारतीय रूपैयाँ पाउने गरी एउटा होटलमा सफाइको काम पाए। केही महिनापछि राजेशले पूर्णलाई चण्डीगढको एउटा साधारण सैलुनमा काम सिक्न पठाए। त्यसको तीन महिनापछि राजेशले 'एफिलिटी' सैलुनमा सहयोगीको काम मिलाइदिए।
पूर्णले त्यहाँ सुरूमा 'हाउस किपिङ' को काम गरे। कपाल बनाउने काममा पनि सहयोगी भएर काम गर्थे। कामले काम सिकाउँदै गयो। पूर्णमा आत्मविश्वास बलियो भयो। उनले फड्को मार्ने विचार गरे।
'म क्लियोपाट्रा नामको निकै आधुनिक सैलुनमा पुगेँ। त्यहाँ नङ सफा गर्ने, पालिस गर्ने, गोडा मसाज गर्ने लगायतको काम पाएँ,' उनले भने।
यस्तो काम जानेपछि उनी कपालतिर लागे। गर्दागर्दै धेरै काम जानिसकेका थिए। उनले कपालको काममा पैसा र सम्मान दुवै छ भन्ने थाहा पाए तर त्यहाँ अवसर पाएनन्। उनी क्लियोपाट्रा छाडेर सि–ब्यालो नामको सैलुनमा पुगे। त्यहाँ उनले मासिक भारू २५ हजार तलब पाए।
सि–ब्यालोमा दुई वर्ष काम गर्दा तलब बढेर ३५ हजार भारू भएको थियो। मासिक थप पाँच हजार भत्ता पाउँथे। काममा सन्तोष थियो तर यस्तै राम्रो सैलुन आफ्नै ठाउँमा खोल्न पाए कति राम्रो हुन्थ्यो होला भन्ने सोच्न थाले।
सेतोपाटीसँग पूर्णले भने, 'अर्काको देशमा कति बस्ने, यस्तै काम नेपालमा गर्न सक्छु भन्ने लाग्यो। फर्किने सोच बनाउन थालेँ।'
पूर्णका कान्छा भिनाजु सुग्रिभ भारतमै सवारी दुर्घटना परेर उपचारमा थिए। थोरै हिँड्न सक्ने भएपछि घर फर्केर तुलसीपुरमा फिजियोथेरापी गराउँदै थिए। उनका एक साथीले तुलसीपुरमा निकै राम्रो सैलुन खुलेको कुरा सुनाए।
सुग्रिभ सैलुन हेर्न गए, काम मागे। सैलुन सञ्चालक त्यही खोजिरहेका थिए। सुग्रिभकै सल्लाहमा पूर्ण घर फर्किए। तुलसीपुरको स्टुडियो जिरो एट टू सैलुनले पूर्णलाई मासिक ५० हजार, सुग्रिभलाई २५ हजार रूपैयाँ तलब दियो। सुग्रिभकी श्रीमती गीताले पनि त्यहीँ सहयोगीको काम पाइन्।
पूर्ण छ किलोमिटर टाढाबाट आएर एकाबिहानैदेखि राति ११ बजेसम्म काम गर्थे। एकै छिन फुर्सद हुँदैनथ्यो। जति बेला पनि कामको दबाब हुन्थ्यो। काम गर्दै जाँदा पूर्ण र सुग्रिभले तुलसीपुरमै सैलुनको राम्रो सम्भावना छ भन्ने थाहा पाए। पूर्ण एक्लैले सबै लगानी गर्न सक्ने अवस्था थिएन।
पूर्णले काम छाडे। साला-भेनाको सल्लाह भयो। उनीहरू तुलसीपुरमा आफ्नै सैलुन खोल्ने निष्कर्षमा पुगे।
'भिनाजुले हामी मिलेर तुलसीपुरमै एउटा स्तरीय सैलुन खोलौं भन्नुभयो,' पूर्णले भने, 'मलाई उहाँको निर्णय ठिक लाग्यो र सालाभेना मिलेर लगानी गर्यौं।'
पूर्णका अनुसार सैलुन स्थापना गर्न २० लाख रूपैयाँ खर्च भयो। यो लगानी सात महिनामै उठ्यो। सुग्रिभले पनि कपालको काम भारतमा सिकेका हुन्। पूर्णकै कारण यस पेसामा लागेका हुन्।
'पूर्णले सैलुन आम्दानीको सहज र राम्रो पेसा हो भनेर यसमा लाग्न सल्लाह दिएका हुन्,' सुग्रिभ भन्छन्, 'म पनि भारतमा अर्काको पसलमा हाउस किपर र हेल्पर हुँदै, झाडु लगाउँदै यहाँसम्म आइपुगेको हुँ।'
भारतको चण्डीगढमा पूर्ण दिदीभिनाजु (सुग्रिभ र गीता) सँगै एउटै घरमा भाडामा बस्थे। सुग्रिभले भने, 'म दिनभर सैलुनमा काम गर्थेँ र कोठामा आएपछि पूर्णसँग तालिम लिन्थेँ।'
सुग्रिभले तुलसीपुरको पब्लिक ज्ञानज्योति विद्यालयबाट र गीताले तुलसीपुरकै राप्ती बबई क्याम्पसबाट १२ कक्षाको पढाइ पूरा गरेका छन्। सुग्रिभसँग पूर्ण र गीताको चिनजान भारतमै भएको हो।
उतिखेर रोजगारीको सिलसिलामा पूर्णका बुबा पनि भारतमै थिए। एक पटक गीता भारत गएको समयमा सुग्रिभसँग भेट भयो। पछि उनीहरूको बिहे भयो।
साढु दाइ राजेशले सुग्रिभलाई सुरूमा चण्डीगढकै एउटा होटलमा काम लगाइदिए। तर उनी धेरै टिकेनन्। पूर्णकै कारण उनी पनि सैलुनतर्फ आकर्षित भए। गीता पनि ब्युटी पार्लरतिर लागिन्।
'भाइ सैलुनमा लागेकाले म पनि ब्युटी पार्लरतिर लागेँ,' गीताले भनिन्, 'भाइले उत्साह दियो, श्रीमानले पनि साथ दिनुभयो अनि म यो क्षेत्रमा आएँ।'
पूर्णले आफूले काम गरेको चण्डीगढको सि–ब्यालो सैलुनमा दिदी गीतालाई पनि काम सिक्न पठाए। करिब डेढ महिना त्यहाँ तालिम लिएर फर्केपछि गीता कपालसम्बन्धी धेरै काम गर्न सक्ने भइन्।
अहिले द पूर्ण हेयर क्राफ्ट एन्ड युनिसेक्स सैलुनमा कामको सदाबहार चाप छ। पूर्णका अनुसार ग्राहकहरू फोनबाट अग्रिम समय लिन थालेका छन्। 'द पूर्ण हेयर क्राफ्ट' टिकटक एकाउन्टबाट पनि प्रचार गर्छन् उनीहरू।
पूर्णले दस कक्षा पनि पूरा गरेनन्। पढाइ छुटेकोका उनलाई पछुतो छ तर चित्तबुझ्दो गरी पेसा गर्न पाएकोमा खुसी छन्। काम सिक्ने सुरूका दिनमा उनका साथीहरू राम्रो मान्दैन थिए, उपयुक्त पेसा होइन भन्थे। अचेल तिनै साथीहरू प्रशंसा गर्छन्।
'आज मेरो रोजीरोटी सैलुनबाटै चलेको छ, पहिचान छ,' पूर्ण भन्छन्, 'पहिले कमाउन भारत जानुभएका बुबाआमा अहिले घरमै हुनुहुन्छ। उहाँहरू धेरै खुसी हुनुहुन्छ।'
सैलुन सञ्चालक पूर्ण र सुग्रिभ आफ्नो आम्दानीबाट सन्तुष्ट छन्। पूर्णका अनुसार सैलुनबाटै मासिक कम्तीमा चार लाखको कारोबार हुन्छ। उनले भने, 'काम धेरै भएका बेला ८/९ लाखसम्मको पनि कारोबार हुन्छ। हामी सबैलाई सैलुनले राम्रो आम्दानी दिएको छ।'
बिजुली र पानीबाहेक कोठाभाडा मासिक २५ हजार रूपैयाँ तिर्छन्। दाङमा द पूर्ण हेयर क्राफ्ट एन्ड युनिसेक्स सैलुन' एउटा नमूना पेसाको रूपमा स्थापित हुँदै गएको छ।