रौतहटको राजपुर पुग्दा महिलाहरूको एउटा समूहसँग भेट भयो। मधेसको चर्को गर्मी छल्न एउटा रूखको फेदमा १२ जना महिला कुराकानी गर्दै थिए। कुराकानीको विषय थियो लघुवित्तको कर्जा र व्यवसाय।
उनीहरू सबै जनाले 'नेशनल माइक्रोफाइनान्स लघुवित्त' बाट ऋण लिएका रहेछन्। कर्जाको किस्ता बुझाउने विषयमा उनीहरू हरेक महिना एक दिन यसरी नै छलफल गर्न भेला हुन्छन्।
समूहमा सबभन्दा कम उमेकी देखिन्थिन् गुड्डी देवी साह, उमेर २५ वर्ष। लुगा सिलाउने काम गर्छिन्। गाउँका अन्य महिलालाई पनि लुगा सिउन सिकाउँछिन्।
उनले तीन वर्षअघि लघुवित्तबाट एक लाख रूपैयाँ कर्जा लिइन्। त्यो पैसाले एउटा सिलाइ मेसिन र केही कपडा किनिन्। घरमा आफू सुत्ने कोठामै मेसिन राखिन् र केही कपडा सिलाउन थालिन्।
'मैले लुगा सिलाउने कुरा गाउँमा थाहा हुँदै गयो। महिलाहरू कपडा लिएर आउन थाले। अलिअलि गर्दै सिलाइमा व्यस्त हुन थालेँ,' गुड्डीले भनिन्।
उनलाई लघुवित्तको ऋणले व्यस्त बनायो।
गुड्डीलाई गाउँका महिलालाई लुगा सिउने सीप सिकाउने र स्वरोजगार बनाउने सोच आयो। तर उनीसँग एउटा मात्र मेसिन थियो। लगत्तै उनले लघुवित्तबाट थप एक लाख ६० हजार रूपैयाँ कर्जा लिइन्।
कर्जाको त्यो पैसाले उनले पाँच वटा मेसिन थपिन्। गाउँका महिलाहरू जम्मा गरेर सिलाइ सिकाउन थालिन्। अहिले त उनले केहीलाई रोजगारी पनि दिएकी छिन्। अहिले पूर्ण व्यवसायी बनेकी छन्।
'राजपुरमा लघुवित्त नखुलेको भए यति बेला घरायसी काममा अल्झिरहेकी हुन्थेँ। अहिले घरमै बसेर सानोतिनो व्यवसाय गरिरहेकी छु,' गुड्डी भन्छिन्, 'यसरी व्यवसायी बन्छु भन्ने लागेको थिएन। लघुवित्तले ठूलो अवसर दियो। मेरा श्रीमानको पनि ठूलो सहयोग छ।'
मैथिल भाषामा बोल्ने गुड्डीसँगको कुराकानीमा उनका श्रीमान रामकुमारले नै हामीलाई सहजीकरण गरिदिए।
मधेसका धेरै ठाउँमा पुरुषले घरबाहिरको काम र महिलाले घरभित्रको काम गर्ने चलन छ। रामकुमारले भने गुड्डीलाई व्यवसाय गर्न साथ दिए। त्यसैले श्रीमानको सहयोगले गुड्डीलाई असाध्यै खुसी मिलेको छ।
उनी भन्छिन्, 'उहाँको सल्लाहमा नै मैले कपडा सिलाउन थालेकी हुँ।'
रामकरण पनि श्रीमतीको व्यावसायिक यात्राबाट खुसी छन्। भारतको बिहारमा जन्मेकी गुड्डी नेपालका रामकरणसँग बिहे गरेर आएकी हुन्।
लघुवित्त संस्थाहरूले ग्रामीण बासिन्दालाई जीविकोपार्जनमा निकै ठूलो सहयोग पुर्याएका छन्। घरमा चुल्हो बाल्नदेखि ठूला उद्यमी बन्नसमेत लघुवित्तले मद्दत गरेको छ। महिलाहरूले लघुवित्तबाट कर्जा लिएर गाईभैंसी पालेर पनि घरखर्च चलाएका छन्। व्यवसायी पनि बन्दैछन्।
'सँगैका साथीहरूले कर्जा लिएर गाईभैंसी किन्नुभएको छ। मैले चाहिँ टेलर चलाएकी छु,' गुड्डीले भनिन्, 'घरखर्च चल्ने मात्र होइन, बचत पनि राम्रै हुन्छ।'
गुड्डी महिलाका सबै खाले लुगा सिलाउँछिन् तर धेरै माग भने कुर्तासुरुवालको छ। बालबालिकादेखि वृद्धवृद्धासम्मका लुगा दिएकै समयमै सिलाएर घरमै पुर्याइदिन्छिन्।
'भर्खर जन्मेको बच्चादेखि बुढाबुढीसम्मका लुगा सिलाउँछु। बिहे पार्टीका लागि पनि समयमै तयार गरेर पुर्याउँछु,' उनले आफ्नो कामबारे सुनाइन्।
त्यसो त गुड्डीले आजभन्दा दस वर्ष अघिदेखि नै कपडा सिलाउन थालेकी हुन्। सामान्य तरिकाले थोरै मात्रामा सिलाउँथिन्। दुई वर्षअघिदेखि भने व्यावासयिक रूपमै गरेकी हुन्।
उनको व्यवसाय राम्ररी चलेको छ। बिहानैदेखि राति अबेरसम्म व्यस्त हुन्छिन्। एक्लै नभ्याउने अवस्थामा आफैंले काम सिकाएका दिदीबहिनीको सहयोग लिन्छिन्।
'सकेसम्म आफैं सक्छु। नभ्याउँदा एक- दुई जना दिदीबहिनी बोलाएर सहयोग लिन्छु। पैसा पनि दिन्छु,' उनले भनिन्।
मेहनत र कामअनुसार आम्दानी पनि राम्रो छ। गुड्डीका अनुसार उनी मासिक सरदर ५० हजार रूपैयाँ बचत गर्छिन्। केही वर्षको बचतले छोराछोरीलाई राम्रो उच्च शिक्षा दिन चाहन्छिन्। उनका एक छोरा र एक छोरी छन्। उनीहरूलाई डाक्टर बनाउने सपना छ। त्यसैले अहिल्यैबाट पैसाको जोहोमा लागेकी छन्।
आफू मात्र होइन, गुड्डीले श्रीमानलाई पनि व्यवसायी बनाएकी छिन्।
लघुवित्तमा महिला सदस्यलाई बढी सहजरूपमा कर्जा दिन्छ। सुरूमा गुड्डीले पनि श्रीमानलाई नै लघुवित्तको सदस्यता दिलाइन्। दुवै जना मिलेर सुरूमा ६० हजार रूपैयाँ कर्जा लिए। त्यो पैसाले रामकरणले औषधि पसल खोले। घरबाट तीन किलोमिटर पर उनको पसल छ।
मेडिकलबाट आम्दानी भएको पैसाले किस्ता तिर्दै गए। लघुवित्तबाट ऋण लिने र सामान थप्ने क्रम चलिरह्यो। उनीहरूको जीवन सहज बन्दै गयो।
'सुरूमा मेडिकल (औषधि पसल) का लागि ऋण लियौं। किस्ता तिर्दै गयौं। नौ महिनापछि फेरि ऋण लिएर टेलरमा हालेका हौं,' गुड्डी भन्छिन्, 'उता श्रीमानको मेडिकल राम्रै चलेको छ। यता टेलर पनि छ। हामी हाम्रो काम र कमाइमा खुसी छौं।'
उनी लघुवित्तको समूहमा बसेर गाउँका अन्य महिलालाई कर्जा लिएर व्यवसायी बन्न प्रेरित पनि गर्छिन्।
सानो चिटिक्क परेको उनको घर पुग्दा केही किशोरी उनकै प्रतीक्षामा थिए। उनले आफू सुत्ने कोठामै छ वटा मेसिन राखेकी छन्। एउटा उनी चलाउँछिन्, अरू मेसिनमा सिकारूहरू बस्छन्। किशोरीहरू उनीसँग सिलाइ सिक्न आएका रहेछन्।
'म त यिनीहरूका लागि मास्टर नै भइसकेँ नि,' गुड्डीले मुस्कुराउँदै भनिन्, 'हेर्नुस् त मलाई पर्खेर बसेका छन्।'
किशोरीमध्ये एक जनालाई सोध्यौं– तपाईंहरू लुगा सिलाउन सिक्नेबाहेक के काम गर्नुहुन्छ?
उनीहरू स्कुलमा पढ्ने विद्यार्थी रहेछन्। कोही आठ कक्षामा, कोही नौमा त कोही दसमा। स्कुल छुट्टी भएको मौकामा सिलाइ सिक्न आएका।
उनीहरू भविष्यमा टेलरिङ व्यवसाय गर्न इच्छुक रहेछन्। जानीराखे काम लाग्छ भन्ने सोच पनि रहेछ।
गुड्डीले सिकाएकामध्ये कतिपय टेलरिङ व्यवसायमा छन्। व्यवसाय नगर्नेहरू पनि घरमा एउटा मेसिन राखेर घरायसी सिलाइ आफैं गर्छन्।
गुड्डी भन्छिन्, 'लघुवित्तले यहाँका महिलालाई समाजमा आएर बोल्न सिकाएको छ। धेरैका छोरीहरू आज पनि घरभित्रै छन् तर उनीहरूलाई बाहिर ल्याउनुपर्छ, पढाउनुपर्छ, सक्षम बनाउनुपर्छ।'
आत्मनिर्भर हुन सीप सिकाउने उनले पूरा कोर्सको न्यूनतम शुल्क तोकेकी छन्। सरदर तीन महिनामा कोर्स पूरा हुँदा आवश्यक न्यूनतम सबै सीप पूरा हुने उनी बताउँछिन्।
उनी कहिल्यै पनि खाली बस्नु पर्दैन, जति बेला पनि व्यस्त रहन्छिन्। भन्छिन्, 'जति धेरै काम आयो त्यति धेरै आम्दानी, मलाई त काम नै रमाइलो लाग्छ।'