रङ उत्पादक उद्योगीहरूले आयातित रङको कच्चा पदार्थमा लाग्दै आएको भन्सार शुल्क घटाउन माग गरेका छन्। राजधानीमा बिहीबार पत्रकार सम्मेलन गर्दै कच्चा पदार्थको भन्सार शुल्क घटाउन माग गरेका हुन्।
नेपाल पेन्ट्स उद्योग संघका अध्यक्ष विश्व प्रकाश साःखले रङका लागि आवश्यक मुख्य कच्चा पदार्थको आयातमा तयारी उत्पादनकै वस्तुसरह भन्सार महशुल लाग्ने गरेको बताए।
उनका अनुसार अहिले तयारी रङ र कच्चा पदार्थको भन्सार शुल्क ३० प्रतिशत लाग्दै आएको छ। कच्चा पदार्थ आयातमा भन्सार शुल्क ५ प्रतिशत मात्रै लगाउन उनले आग्रह गरेका छन्। ‘कच्चा पदार्थमा केही केही रङको मात्रा देखिनु स्वभाविक हो तर त्यसलाई तयारी भन्न त मिल्दैन नि,’ उनले भने।
पछिल्लो समय रङ उद्योग अति आवश्यक उद्योग भएपनि अझै सकारले विलासिताको रूपमा वर्गीकरण गरेको उनले गुनासो गरे। ‘आजभन्दा ४० वर्ष अघि रङ उद्योग सुरू गर्न लागेको बेला सरकारले यसलाई विलासिलताको रूपमा वर्गीकरण गरेको थियो,’ उनले भने, ‘अहिले पनि त्यस्तै छ।’
पहिले विलासिता भएपनि अहिल सुरक्षाको लागि रङ लगाउनु पर्ने उनको भनाइ छ। ‘फलामको पुलमा रङ लगाएन भने खिया पर्छ। ५० वर्ष टिकाउँ हुने पुल २० वर्षमै बिग्रिन्छ,’ उनले भने, ‘रङ आकर्षकको साथै सुरक्षाको लागि पनि लगाइन्छ।’
रङ उद्योगको कच्चा पदार्थ आयातका लागि हामीले ३० प्रतिशत भन्सार शुल्क, ७ प्रतिशत अन्तशुल्क र १३ प्रतिशत भ्याट तिर्दै आएका उनले बताए।
एक्रिलिक पोलिमर सबै पानीमा आधारित रङ तयार गर्नको लागि आवश्यक मुख्य कच्चा पदार्थ हो। एक्रिलिक पोलिमरको आयातमा सरकारले तोकेको कर बजारमुखी नरहेको उनको भनाइ छ।
उनका अनुसार इमल्सन एचएसएन कोड ३९.०६ अन्तर्गत वर्गीकृत गरिएको वाटर वेस्ड पेन्टहरूका लागि कच्चा पदार्थ भए पनि २०७६ असार ८ गते भन्सार विभागले जारी गरेको पत्रअन्तर्गत एक्रिलिक पोलिमरलाई फिनिस्ड गुड, पेन्ट एण्ड भार्निसका लागि तोकिएको कोड ३२.०९ अन्तर्गत वर्गीकृत गर्न निर्देशन दिइएको छ।
एचएसएन ३९०६ अन्तर्गत आयातमा १० प्रतिशत मात्र तिर्नुपर्ने र साफ्टा सुविधा पनि पाइनेछ। तर ३२०९ कोड अन्तर्गत भन्सार मूल्यांकन गर्दा ३० प्रतिशत भन्सार शुल्क तिर्नुपर्ने र साफ्टा पनि तयारी उत्पादनका लागि केही प्रावधान नरहेको संघले बताएको छ।
वित्तीय ऐन २०७७-७८ले टाइटेनियम डाइअक्साइडको आयातमा १५ प्रतिशतबाट घटाएर ५ प्रतिशत गरेको छ। रङ उद्योगहरूले टाइटेनियम डाइअक्साइडलाई ३२.०६. ११०० मा आयात गर्ने गरेको हुनाले एचएसएन कोड सच्याउन नेपाल पेन्ट उद्योगको माग रहेको छ।
एक्रिलिक पोलिमरमा श्रीलंका, बंगलादेश, भारतजस्ता छिमेकी मुलुकमा १० प्रतिशतसम्म भन्सार शुल्क लाग्ने गरिएकोमा नेपालमा भने बढी रहेको उद्योगीहरूले बताएका छन्।
चार दशकको इतिहास बोकेका नेपालमा स्थापित रङ उद्योगहरू अहिले गुणस्तर र उत्पादन क्षमताको आधारमा आत्मनिर्भर भइसकेको संघले बताएको छ।
यस क्षेत्रमा ५० भन्दा बढी बहु-राष्ट्रियदेखि साना तथा घरेलु स्तरका पेन्ट उद्योगहरू पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएर देशमा रोजगारी र राजस्वमा उल्लेखनीय योगदान पुर्याउँदै आएको उनीहरूको भनाइ छ।
यहाँ आवश्यक रङका लागि आत्मनिर्भर भइसकेको बताउँदै आयातित रङमा सरकारले काउण्टरभेलिङ शुल्क लगाउन पर्ने उद्योगीहरूको भनाइ छ।