स्थानीय तह निर्वाचनका दिन दूध तथा दूधजन्य वस्तुको ढुवानी नरोक्न व्यवसायीहरूले आग्रह गरेका छन्।
आयोगले दूधजन्य पदार्थलाई अत्यावश्यक वस्तुको सूचीमा नराखेपछि नेपाल डेरी एसोसिएसनले निर्वाचन आयोगलाई पत्र लेखेर सहजीकरणका लागि आग्रह गरेको हो।
'अघिल्ला वर्षहरूमा दूध तथा दूग्धजन्य पदार्थको ढुवानीलाई अत्यावस्यकको सूचीमा राखिन्थ्यो। यसपटक वैशाख ३० गतेको निर्वाचनको दिनमा दूध ढुवानी अत्यावश्यक वस्तुको सूचीबाट छुटेको छ,' एसोसियसनले आयोगलाई लेखेको पत्रमा उल्लेख छ।
आयोगले निर्वाचनको दिनमा खाद्यान्न, एम्बुलेन्स, पिउने पानी, दूतावासका सवारी साधनबाहेक अन्य वस्तु ढुवानी र सवारी साधन चल्न नपाउने व्यवस्था गरेको छ। यो सूचीमा दूध तथा दुग्धजन्य वस्तुको ढुवानी समेत समेट्न एसोसिएसनले आग्रह गरेको हो।
दूध अत्यावश्यक वस्तु भएको र यो बालकदेखि वृद्धवृद्धासम्मका लागि अनिवार्य रहेकाले यसको ढुवानीमा रोकतोक नगर्न आग्रह गरिएको छ।
साथै, दूध उत्पादन भएकै दिनमा उपभोग गरिसक्नुपर्ने भएकाले ढुवानीमा अवरोध नगर्न एसोसिएसनले आग्रह गरेको हो।