स्थानीय तह निर्वाचन नजिकिएसँगै होटल, पार्टी प्यालेस र लजहरूमा चहलपहल बढेको छ। चुनावी प्रचारप्रसार र राजनीतिक पार्टीका कार्यक्रमहरू भइरहेकाले यी क्षेत्रको व्यवसाय बढेको हो।
कोरोना लकडाउनपछि बिस्तारै होटलमा मान्छे बढ्न थालेपछि व्यवसायीहरू उत्साहित छन्। धेरैको संख्यामा जमघट हुने ब्यांकेट र पार्टी प्यालेसको व्यवसाय पनि चम्किएको छ। विभिन्न राजनीतिक पार्टीले आफ्ना कार्यक्रमहरू पार्टी प्यालेसमा गरेसँगै व्यापार बढेको व्यवसायीहरू बताउँछन्। यस्ता कार्यक्रम सहरदेखि गाउँसम्मका पार्टी प्यालेसमा भइरहेका छन्।
काठमाडौंको बालुवाटरस्थित बालुवाटार पार्टी प्यालेसमा अहिले दैनिक दुई वटासम्म राजनीतिक कार्यक्रम भइरहेका छन्। पार्टी प्यालेस सञ्चालक मुक्ति दाहालका अनुसार वैशाख लागेसँगै यस्ता कार्यक्रम भइरहेका हुन्। पाँच सय जनाको क्षमता रहेको पार्टी प्यालेसमा राजनीतिक दलका कार्यक्रममा भने सय जनासम्मको उपस्थिति भइरहेको उनले बताए।
'दैनिक राजनीतिक पार्टीका कार्यक्रम भइरहेका छन्। भोलिसम्मका लागि बुकिङ भइसकेको छ,' उनले सेतोपाटीसँग भने, 'वैशाख लागेदेखि सुरू भएको थियो। यो एक महिना सोचेभन्दा राम्रो व्यापार भयो।'
त्यस्तै उपत्यका बाहिरका पार्टी प्यालेसमा खाना-खाजाको व्यवसाय राम्रो भइरहेको पार्टी प्यालेस एन्ड क्याटरिङ व्यवसायी महासंघले जनाएको छ। महासंघका अध्यक्ष लिलाबहादुर जिसीका अनुसार चुनावले पार्टी प्यालेसको समग्र व्यवसाय ५ प्रतिशतले बढेको छ।
'कतै राजनीतिक कार्यक्रम भइरहेका छन्। कतै खाजा र खाना तयार पारेर लैजाने र कतै क्याटरिङ नै लगिरहेका छन्। अहिले पार्टी प्यालेसको व्यवसाय बढेको छ,' जिसीले सेतोपाटीसँग भने।
यो महिना लगन धेरै भएकाले पार्टी प्यालेसको बुकिङमा भने बिहेका कार्यक्रम नै धेरै छन्। लगन नभएका दिनमा विभिन्न राजनीतिक कार्यक्रमले भरिएको उनले बताए।
चुनावी कार्यक्रम बढेसँगै स्थानीय तहका साना होटलहरूको व्यापार पनि बढेको छ। अहिले चितवनका होटलको व्यवसायमा उत्साह देखिएको क्षेत्रीय होटल संघ, सौराहाका निर्वतमान अध्यक्ष सुमन घिमिरेले बताए।
त्यस्तै मतदानका लागि आ-आफ्ना घर जानेको संख्या बढेसँगै राजमार्गका होटल तथा लजको व्यवसाय पनि बढेको छ।
'चितवनका साना होटल र लजमा कार्यक्रम भइरहेका छन्। पर्यटकीय गतिविधि भने खासै छैन। ठूला होटल भने सुनसान छन्,' उनले भने।
देशमा चुनावी माहोल भइरहँदा साना होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस तथा लजको व्यवसाय राम्रो भएको छ। ठूला होटलमा भने चहलपहल छैन। निर्वाचनका बेला पर्यटकीय गतिविधि बन्द जस्तै बनेको होटल संघ नेपालका कार्यवाहक अध्यक्ष विनायक शाह बताउँछन्।
'चुनावका बेला पर्यटकीय गतिविधि खासै हुँदैन। बाटो बन्द हुन्छ। त्यसो हुँदा अहिल्यैदेखि होटल क्षेत्रमा पर्यटकको चहलपहल बन्द छ,' उनले भने, 'प्रादेशिक राजधानीका साना होटल र लजमा भने केही चहलपहल बढेको छ।'
चुनावी माहोलमा सुस्त भए पनि कोरोनापछि पर्यटन व्यवसाय सुधारिँदै गएको छ। नेपाल घुम्न आउने विदेशी बढ्दै छन्। आन्तरिक पर्यटक पनि निकै बढेको शाह बताउँछन्। यही जेठ १ गतेबाट सरकारले सातामा दुई दिन बिदा दिने भनेको छ। यो निर्णयले थप उत्साह बढाएको उनले बताए।
'दुई दिन बिदाका कारण मुलुकमा आन्तरिक गन्तव्यमा घुमफिर गर्नेको संख्या बढ्नेछ,' उनी भन्छन्, 'यसले पर्यटन व्यवसाय उकास्न सहयोग गर्छ।'