स्थानीय चुनावका कारण डिजेल र पेट्रोलको खपत बढेको नेपाल आयाल निगमले जानकारी दिएको छ। निगमका प्रवक्ता विनितमणी उपाध्यायका अनुसार सामान्य अवस्थामा पेट्रोल दैनिक २२ सयदेखि २५ सय किलोलिटर बिक्री हुन्थ्यो। चुनाव नजिकिँदा ३५ सय किलो लिटरसम्म बिक्री भएको छ।
त्यस्तै, डिजेल सामान्य अवस्थामा दैनिक ५ हजार पाँच सयदेखि ६ हजार किलो लिटरसम्म बिक्री हुने गरेकोमा अहिले सात हजारदेखि साढे सात हजार किलो लिटरसम्म बिक्री भएको छ।
यो तथ्यांक हेर्दा अहिले डिजेलको खपत ३० प्रतिशत र पेट्रोलको खपत ४० प्रतिशतले वृद्धि भएको देखिन्छ।
मट्टितेल र हवाई इन्धनको खपत भने बढेको छैन।
पेट्रोल तथा डिजेलको खपत बढ्दा निगमको घाटा झनै बढ्ने प्रवक्ता विनितमणी बताउँछन्। 'अहिले नै मासिक करिब १० अर्ब घाटामा छौं,' उनले भने, 'अझै बढ्ने भयो।'
भारतीय आयल कर्पोरेसन (आइओसीले) पछिल्लो समय सबै पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ। वैशाख १८ गते आइओसीले सबै पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो।
वैशाख १८ गते बढेर आएको मूल्यसँगै आगामी पन्ध्र दिनमा करिब पाँच अर्ब १९ करोड रूपैयाँ घाटा हुने देखिएको निगमले जनाएको छ।
आइओसीले पठाएको मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर २३ रूपैयाँ दुई पैसा र डिजेलमा ४० रूपैयाँ १३ पैसा र खाना पकाउने एलपी ग्यास सिलिन्डरमा एक हजार पचास रूपैयाँ १८ पैसा घाटा हुने देखिन्छ।
मट्टीतेल भने लिटरमा दुई रूपैयाँ ८१ पैसा, हवाई इन्धन आन्तरिकतर्फ १२ रूपैयाँ ६४ पैसा र बाह्यतर्फ ६४ रूपैयाँ ६९ पैसा नाफा रहेको निगमले जनाएको छ।
पेट्रोलियम पदार्थमा भइरहेको नोक्सान परिपूर्तिको क्रममा निगम अहिले स्रोतबिहीन भएको छ। पछिल्लो एक-डेढ महिनामा डिजेलमा प्रतिलिटर ३४ रूपैयाँसम्म बढेर आएको निगमले जानकारी दिएको छ।
विश्व बजारमै डिजेलको माग उच्च रूपमा बढेको छ। माग बढेअनुसार उत्पादन नबढ्नाले डिजेलको मूल्य बढेको हो। आइओसीले पन्ध्र-पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउँछ। सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्छ।
आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल किन्दैन। आइओसीबाटै आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ किन्दै आएको छ।
यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र-पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउने हो। आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ।
त्यसपछि आयल निगमले पेट्रोलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसन समेत जोडेर उपभोक्ता मूल्य तय गर्छ। यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ।