बुद्ध एयरले आगामी जेठ १ गतेदेखि विभिन्न गन्तव्यहरूमा रात्रिकालीन उडान सेवा विस्तार गर्ने भएको छ।
तत्कालका लागि जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा सेवा दिने विभागले बताए। यस्ता उडान राती ८ बजेदेखि हुनेछन्।
दैनिक कामकाजमा व्यस्त यात्रुहरूका लागि रात्रिकालीन उडान निकै आकर्षक हुने बुद्ध एयरले बताएको छ। बिहान र दिउँसोको तुलनामा सहज, सरल र सस्तो पनि हुने कम्पनीको विश्वास छ।
कम्पनीले रात्रिकालीन उडान हुने गन्तव्यहरूमा सार्वजनिक यातायातको सुविधाका लागि प्रदेश र स्थानीय सरकारलाई अनुरोध गरेको बताएको छ।
यात्रुहरूको आवतजावतले स्थानीयस्तरमै रोजगार सिर्जना हुने र राजस्व वृद्धिमा पनि भूमिका खेल्ने विश्वास बुद्ध एयरको छ।
कम्पनीले काठमाडौंमा ‘टुटल’सँग समन्वय गरी रात्रिकालीन उडानका लागि ट्याक्सीमा आकर्षक छुटको अफर पनि ल्याउन लागेको सूचना अधिकारी दिपेन्द्र कुमार कर्णले बताए।
बुद्धले पोखरा विमानस्थललाई सबै प्रदेशबाट सिधा उडानले जोडिसकेको छ। अब भैरहवा विमानस्थललाई पनि दोस्रो हबको रूपमा सबै प्रदेशबाट जोड्ने तयारीमा छ। भैरहवाबाट पोखरा र भरतपुरको उडान सञ्चालनमा ल्याइसकेको छ।
निकट भविष्यमै भैरहवाबाट विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, नेपालगञ्ज र धनगढीमा क्रमशः उडान भर्ने योजना रहेको कम्पनीको भनाई छ।
उडानसँगै पर्यटकहरूका लागि बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजमार्फत होलिडे प्याकेजहरू पनि सञ्चालन गरिहेको छ।