भुक्तानी सेवाप्रदायक इसेवाले ‘बीमा शुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजना सार्बजनिक गरेको छ। बीमितहरुलाई घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उदेश्यले यो योजना सार्वजनिक गरिएको कम्पनीले बताएको छ।
यो योजना भदौ ५ गतेसम्म सञ्चालन हुनेछ। यस योजनामा इसेवाबाट कुनै पनि जीवन बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्ने व्यक्तिहरु मध्येबाट बम्पर उपहारमा एक जनाले एक लाख रुपैयाँ उपहार प्राप्त गर्नेछन्। त्यस्तै उपहार बिजेता बीमितको बीमा एजेन्ट र सोही एजेन्टको शाखा कार्यालयले पनि २०/२० हजार नगद उपहार प्राप्त गर्नेछन्।
योजना सञ्चालन अवधिभर बीमा शुल्क भुक्तानी गर्नेहरु मध्येबाट हरेकदिन एक जनाले गोलाप्रथामार्फत एक हजार रुपैयाँ प्राप्त गर्नेछन्। यो योजना नेपालमा सञ्चालिन सबै बीमा कम्पनीको शुल्क भुक्तानी गर्दा लागु हुनेछ। इसेवाले पछिल्ला दिनमा इन्स्योरेन्स्को प्रिमियम अनलाइनबाट भुक्तानीगर्न प्रोत्साहन गर्नका लागि विभिन्न अफर तथा योजना सार्वजनिक गर्दै आएको छ।
इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरी ६० लाख बढी ग्राहकलाई एपमार्फत सेवा प्रदान गरिरहेको छ।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियमभुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल/कलेजको शुल्कलगायत सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५२ वटा बैंक तथा बित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।