गत बैशाख १५ गतेदेखि भृकुटीमण्डपमा जारी जुत्ताचप्पल मेला जेठ ९ गतेसम्म चल्ने भएको छ। मेलामा ग्राहकहरुको आकर्षण बढेको आयोजकले बताएको छ। स्वदेशी जुत्ताचप्पल सस्तो, आरामदायी र टिकाउ भएका कारण ग्राहकहरुको आकर्षण बढेको आयोजकको भनाई छ।
मेलामा नेपालीहरुको दैनिक भीडभाड बढेको छ। स्थानीय निर्वाचनले केही दिन प्रभावित बनाए पनि चुनाव सकिएपछि ग्राहक बढ्न थालेका हुन्।
मेलामा भेटिएका ग्राहक अनिल खड्का र निराजन भण्डारीले नेपाली जुत्ता सस्तो र लामो समय टिक्ने भएकाले आफूलाई मन पर्ने बताए। नेपालमा सबै वर्गका लागि ब्राण्डेडदेखि सामान्य जुत्ताचप्पल उत्पादन हुने भएका कारण नेपाली कम्पनीका जुत्ताचप्पल नै प्रयोग गर्ने उनीहरुले बताए।
मेलामा दैनिक १५ लाख रुपैयाँ बराबर कारोबार भइरहेको फुटवयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष एव संयोजक सुरज बन्जाडेले बताए।उनका अनुसार हालसम्म २५ हजारभन्दा बढीले मेला अवलोकन गरिसकेका छन्।