नेपाल चेम्बर अफ कमर्सले ऊर्जा क्षेत्रमा सहकार्य गर्न बंगलादेशलाई प्रस्ताव गरेको छ। नेपाल छिट्टै विद्युत निर्यात गर्न सक्ने अवस्थामा पुगेको भन्दै बंगलादेशसँग विद्युत व्यापारका लागि आग्रह गरेको हो।
नेपाल-बंगलादेशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको छ। सो अवसरमा काठमाडौंस्थित बंगलादेशी दूतावासमा आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले नेपाल, भारत र बंगलादेशबीच भएको विद्युत व्यापार सम्बन्धी त्रिपक्षी सम्झौताको व्यवहारिक कार्यन्वयन हुनुपर्नेमा जोड दिए।
नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धिन नोमान चोधुरीसँग अध्यक्ष मल्लले भने, ‘नेपाल, भारत र बंगलादेशबीच ऊर्जा व्यापारका लागि त्रिपक्षीय सम्झौता भएको छ। यसको प्रभावकारी कार्यन्वयनका लागि तीन देशका ऊर्जामन्त्रीबीच तत्काल परिणाममुखी बार्ता गर्न आवश्यक छ। हामी निजी क्षेत्रबाट पहल गछौँ। बंगलादेशको सरकारबाट पनि यसको पहल होस्। नेपाल बंगलादेशलाई विद्युत बेच्न तयारी अवस्थामा छ।’
नेपाल अब एक वर्षपछि विद्युत निर्यात गर्न सक्ने हैसियतमा पुग्ने अध्यक्ष मल्लको भनाई छ। भारतमा हालकै ट्रान्समिसन लाईनबाट कम्तिमा ५० मेवागट विद्युत निर्यातका लागि तयारी गर्न सकिने र अन्य सेवा सर्तका लागि तीन वटै मुलुकले गृहकार्य गर्नुपर्ने अध्यक्ष मल्लले बताए।
बंगलादेशमा ऊर्जाको माग उच्च रहेको सन्र्दभमा नेपालबाट निर्यात गर्ने विभिन्न विकल्पमा दुई पक्षीय छलफल भएको छ। नेपाल, बंगलादेश र भारतबीच ऊर्जा व्यापार सम्वन्धी सम्झौता भए पनि यसको व्यवहारिक कार्यन्वयन भने हुन सकेको छैन।
चेम्बर अध्यक्ष मल्ले नेपालको जलविद्युतमा लगानी गर्नसमेत बंगलादेशका राजदूत चोधुरीसँग आग्रह गरे।
यस्तै नेपालमा साना तथा मझौला उद्योगमासमेत लगानीका लागि नेपाल खुला रहेको र लगानी सुरक्षणका लागि सरकारसंग आफुहरुले पहल गर्ने अध्यक्ष मल्लले बताए।