नेपाल पर्यटन बोर्ड र कुवेतको जजिरा एयरवेज प्रतिनिधिबीच भेटवार्ता भएको छ। सो अवसरमा दुवै पक्षले आसपमा सहकार्य गर्ने गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
जजिराले यहि जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो व्यवसायिक उडान गरे लगत्तै बोर्डले मध्यपूर्वका पर्यटकलाई नेपाल ल्याउने रणनीति अघि सारेको हो। जजिराले नेपालमा उडान गर्दा मध्यपूर्व काममा जाने नेपाली श्रमिकसँगै त्यो क्षेत्रबाट नेपालमा पर्यटक ल्याउन सकिने जनाएको छ।
बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा. धनन्जय रेग्मीले जजिराको उडानले मध्यपूर्व काममा जाने नेपाली श्रमिकसँगै त्यो क्षेत्रबाट पर्यटक ल्याउन सहयोग पुग्ने बताए। उनले लुम्बिनीसँगै चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, रानीमहललगायत क्षेत्रमा पनि पर्यटकलाई आकर्षित गर्न सकिने
र यसको लागि जजिरासँग सहकार्य गरेर अगाडि बढ्न बोर्ड तयार रहेको रेग्मीले जानकारी दिए। त्यस्तै जजिराका नेपाल तथा बंगलादेश एरिया म्यानेजर अर्जित गाँगुलीले नेपाली श्रमिकसँगै नेपालमा मध्यपूर्वका पर्यटक आगमनको पनि पर्याप्त सम्भावना रहेकाले बोर्डसँग सहकार्य गर्दै अघि बढ्न इच्चुक रहेको बताए।