केही वर्षअघिसम्म रौतहटका स्थानीय महिलाले जीविकोपार्जनकै लागि 'साहु-महाजन' बाट ऋण लिन्थे। चर्को ब्याजसहितको किस्ता तिर्न मुश्किल भएपछि उनीहरूकैमा काम गर्न जानुपर्थ्यो। दैनिकी निकै कठिन थियो।
अहिले यो अवस्था फेरिएको छ। गाउँमा लघुवित्त पुगेको छ।
रौतहटकी स्थानीय रामदेवीले भनिन्, 'घरखर्च चलाउन साहुसँग कर्जा लिनुपर्थ्यो। लघुवित्त आएपछि हामीलाई बाँच्न धेरै सजिलो भएको छ।'
आफूजस्तै अरू महिलाहरूलाई लघुवित्तबाट कर्जा लिएर घरव्यवहार चलाउन निकै सहज भएको उनले बताइन्। व्यवहार चलाउने मात्र होइन, कर्जा लगानी गरेर उद्यमी पनि बनेका छन्।
चुल्होचौकोमा सीमित महिलाहरू विशेषगरी गाईभैंसी तथा कुखुरा पाल्ने, तरकारी खेती गर्ने, घरमै बसेर गर्न सकिने विभिन्न आम्दानीमूलक काममा सक्रिय छन्। यसले एकातिर घरखर्च चलाउन पुरुषले खेप्नुपर्ने बोझ कम हुँदै गएको छ, अर्कातिर महिला आत्मनिर्भर बन्दै छन्।
यस्तै अर्की महिला हुन् सप्तरी महुलीकी ६९ वर्षीया टेकमाया सुवेदी। उनले १५ वर्षअघि महुली लघुवित्तबाट ५० हजार रूपैयाँ कर्जा लिएर दुइटा गाईबाट व्यवसाय सुरू गरेकी थिइन्। अहिले उनको व्यवसाय फैलिएर वार्षिक ५० लाख रूपैयाँ बचत गर्ने भइसकिन्।
'मलाई गाईले लखपति बनाइदिए,' टेकमायाले भनिन्।
रौतहटकी गुड्डीदेवी साहको जीवनमा पनि लघुवित्तले बदलाव ल्याइदिएको छ। स्थानीय नेसनल माइक्रोफाइनान्सबाट कर्जा लिएर व्यवसाय गरिरहेकी छिन् उनी। तीन वर्षअघि एक लाख कर्जा लिएर टेलर (लुगा सिलाउने काम) थालेकी उनले कर्जा थप्दै व्यवसाय बढाएकी छिन्। समुदायका अन्य महिलालाई पनि काम सिकाउँछिन्।
'घरै बसेर गर्ने यही व्यवसायबाट महिनामा ५० हजारसम्म बचत हुन्छ,' उनले भनिन्, 'हाम्रो जीवनस्तर उकासिएको छ।'
बाराका दीपेन्द्रप्रसाद यादवले नेरुडे लघुवित्तबाट पाँच लाख रूपैयाँ कर्जा लिएर भैंसीपालन थालेका हुन्। दुइटा भैंसीबाट सुरू गरेका उनको व्यवसाय बढ्दै गएको छ। १४ जनाको परिवार धान्ने स्रोत यही हो। मलेसिया रोजगारीबाट फर्किएका दीपेन्द्रको अब डेरी खोल्ने योजना छ।
तराइका ग्रामीण बस्तीहरूमा पुगेका लघुवित्तहरूका कारण धेरैको दैनिकी फेरिनुका साथै मुहारमा खुसी छाएको उनी बताउँछन्। रोजगारी खोज्दै परदेश पुगेकाहरू पनि स्वदेशमै सम्भावना देखेर फर्किरहेका उनले बताए।
'मलाई पनि आमाले व्यवसाय गर्नकै लागि परदेशबाट फर्काउनुभएको हो,' दीपेन्द्रले भने।
उनकी आमा डरदेवीजस्ता थुप्रै आमाहरूले लघुवित्तमा सदस्य बनेर ऋण निकाल्दै पारिवारिक व्यवसाय गरिरहेका छन्। यसले रोजगारी अवसर सिर्जना गराउनुका साथै परिवारका सदस्यसँगै बस्ने माहोल लघुवित्तले बनाइदिएको दीपेन्द्र बताउँछन्।
ऋण लिन लघुवित्तमा महिलाहरू सदस्य बन्नुपर्छ। यसमा व्यक्तिगत होइन, सामूहिक रूपमा काम हुन्छ। आफ्नो मापदण्डभित्र पर्ने बस्तीका महिलाको समूह बनाइन्छ। यसलाई केन्द्रको नाम दिइन्छ। केन्द्र निर्धारण लघुवित्तले गर्छ। एउटा केन्द्रमा दसदेखि ४० जनासम्म हुन्छन्। लघुवित्तले एक साता तालिम दिन्छ। त्यसपछि महिलाहरूलाई केन्द्र प्रमुख, उपप्रमुख, अध्यक्ष, सचिव र सदस्य लगायत पदमा राखिन्छ। यसरी केन्द्रमा हुने सदस्य प्रायः सबै लघुवित्तमा उस्तै हुन्छन्।
केन्द्रमा बसेका सबैले धेरथोर कर्जा लिन पाउने सुविधा छ। केन्द्रको बैठक महिनामा एकपटक हुन्छ। त्यही बैठकमा उनीहरूले कर्जाअनुसारको किस्ता बुझाउँछन्। कहिलेकाहीँ समयमै किस्ता बुझाउन नसक्दा लघुवित्तका बजार प्रमुख गाउँटोल पुग्छन्। किस्ता बुझाउन नसक्नुको कारण बुझ्छन् र फर्किन्छन्।
'कहिलेकाहीँ किस्ता समयमै किन बुझाउनुभएन भने हामी केन्द्र प्रमुखलाई सम्पर्क गर्छौं र बुझ्छौं। फेरि अर्को पटक पनि किस्ता नआए घरै पुग्छौं र समस्या बुझ्छौं,' नेरुडे लघुवित्तका शाखा प्रबन्धक भिम सहानीले सेतोपाटीसँग भने।
भिमका अनुसार लघुवित्तले ऋणीहरूलाई अन्य सेवा पनि दिन्छ। ऋणीको मृत्यु भए दस हजार काज खर्च परिवारलाई उपलब्ध र ऋण मिनाहा गराउँछ। दुई सन्तानसम्म सुत्केरी खर्चवापत् छोरा भए एक हजार र छोरी भए पन्ध्र सय रूपैयाँ दिन्छ। खेतबारीमा काम गर्ने क्रममा सर्पले टोके दुई हजार रूपैयाँ उपचार खर्च दिन्छ। घर आगलागी भए सहयोगवापत् तत्काल चार हजार रूपैयाँ दिन्छ।
त्यस्तै रौतहटमा रहेको नेसनल माइक्रोफाइनान्सले समाजमा आएर बोल्न सिकाएको बताउँछन् त्यहाँबाट सेवा लिएका महिलाहरू।
'लघुवित्तको बैठक हुँदा हामी यसरी नै भेला हुन्छौं। नत्र घरमै व्यस्त भइन्छ,' केन्द्रकी प्रमुख चन्द्रदेवी शाहले भनिन्, 'लघुवित्तले धेरै महिलालाई समाज बाहिर आएर बोल्न सिकाएको छ।'
नेसनल माइक्रोफाइनान्सका रौतहटमा मात्र पाँच वटा शाखा छन्। राजपुर शाखाको एक सय ३६ केन्द्रबाट एक हजार सात सय सदस्यले ऋण लिएका लघुवित्तका राजपुर शाखा अधिकृत बिनोद कुमार यादवले बताए।
'धेरैजसोले व्यावसायिक हिसाबले भन्दा पनि दैनिकी सहज बनाउन कर्जा लिनुहुन्छ। थोरै कर्जा लिने, चुक्ता गर्ने, फेरि थप्ने। यसरी नै कर्जा प्रवाह भइरहेको छ,' उनले भने।
त्यसैगरी सप्तरीको महुली लघुवित्त ३५ जिल्लाका ६५ वटा शाखाबाट करिब ८० हजार घरपरिवारसम्म पुगेको संस्थाका अध्यक्ष प्रभु नारायण चौधरी बताउँछन्। १४ वर्षअघि सुरू महुली चार गाविस हुँदै अहिले राष्ट्रियस्तरमा पुगेको उनले बताए। सप्तरीको महुली बजारमा रहेको लघुवित्त मुख्य कार्यालय हो।
'समग्र ठाउँको विकास र परिवर्तनका लागि लघुवित्तले ठूलो भूमिका खेलेको छ,' उनी भन्छन्, 'विशेषगरी महिलालाई आत्मनिर्भर बनाउन उल्लेख्य काम गरेको छ।'
गाउँमा ऋण सजिलै पाउन सके परिवर्तन हुन समय नलाग्ने उनको अनुभव छ।
सप्तरीका स्थानीयले विशेषगरी ऋण लिएर घर बनाएका छन्। छोराछोरी पढाएका छन्। साथै स-साना व्यवसायमा आवद्ध भएका छन्।
'लघुवित्त आइसकेपछि हामीले घरै बसेर नाङ्लो बुन्न सिक्यौं। यसबाट राम्रै आम्दानी हुन्छ। घरखर्च चलेको छ,' सप्तरीकी जानकी मगरले भनिन्।
केही समयअघिसम्म बिस्कुट, कलम किन्न पनि घरका पुरुष सदस्यमाथि भर पर्ने अवस्था अहिले फेरिएको उनले बताइन्।
भनिन्, '५ रूपैयाँ पनि श्रीमान वा ससुरासँग माग्न जानु पर्थ्यो। अहिले त हामी सक्षम छौं। आत्मनिर्भर बनेका छौं।'