नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले इन्धनको मूल्य सीमा क्षेत्रको जति नै बनाउन यो उपयुक्त समय रहेको बताएका छन्।
मंगलबार ग्यास बिक्रेता महासंघले गरेको पेट्रोलियम पदार्थमा पटक-पटक भएको मूल्य वृद्धि सम्बन्धमा अन्तर्क्रिया कार्यक्रममा कर घटाएर इन्धनको मूल्य सीमा क्षेत्रको जति नै बनाउन यो उपयुक्त समय भएको बताएका हुन्।
‘सीमाको भन्दा हाम्रोमा सस्तो भयो भएर चोरी-पैठारीको समस्या थियो,’ उनले भने, ‘अब हाम्रोमा भन्दा त्यता सस्तो भइसकेको छ। उपभोक्तालाई राहत हुने गरी सीमा क्षेत्रको जति मूल्य बनाउन अहिले उपयुक्त हुन्छ।’
उनले अहिले हाम्रोमा भन्दा जोगवनी नाकामा पेट्रोल प्रतिलिटर १४ रूपैयाँ सस्तो भएको बताएका छन्।
सरकारले नेपाल आयाल निगमलाई निजीकरण गर्ने कुरा चर्चाको विषय मात्र भएकाले व्यवसायीलाई नआत्तिन आग्रह गरेका छन्। ‘निगम निजीकरण गर्ने कुरा पहिलेदेखिको भएको छैन,’ उनले भने, ‘त्यही माथि वितरण र मूल्य प्रक्रियामा मात्रै निगमले गर्ने हो, अरू व्यवसाय त सबै निजीलाई नै छ त।’
डिजेल-पेट्रोल बेच्ने, ढुवानी गर्ने र ग्यास बेच्ने जिम्मा सबै निजी क्षेत्रलाई नै दिएकाले निगमलाई निजीकरण गर्ने ठाउँ नभएको उनले बताएका छन्।
निगम निजीकरण गर्ने हो भने सरकारले के कुरालाई निजीकरण गर्ने हो भन्ने विषयमा स्पष्ट भएर मात्रै अगाडि बढ्न पर्ने उनको भनाइ छ।
इन्धनको कारोबार गर्न निजी क्षेत्रलाई दिने हो भने पारदर्शी रूपमा दिनुपर्ने ग्यास बिक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बताएका छन्।
‘सरकारले कुनै एक स्वार्थ समूहलाई मात्रै दिने गरी कार्यविधि बनाइरहेको भन्ने सूचना पाएका छौं,’ उनले भने, ‘निजी क्षेत्रलाई दिने हो भने प्रतिष्पर्धा गरेर खुला गर्न पर्छ।’