सजिलो साथीले बजारमा नयाँ राइड सेयरिङ एप ‘सजिलो’ ल्याएको छ। गत वैशाख १ गतेदेखि सजिलो साथीले तत्कालका लागि काठमाडौं उपत्यकाका तीन जिल्लामा सेवा दिने गरी राइड सेयरिङ एप ल्याएको हो।
वैशाखबाट तीन महिनाका लागि बेटा भर्सनमा ‘सजिलो’ ल्याएको कम्पनीले तीन महिना पछि बजार भर्सनमा सार्वजनिक गर्ने तयारी गरेको छ।
प्रमुख कार्यकारी अधिकृत (सिइओ) अमिर लामाका अनुसार सजिलोले अहिले उपभोक्ताहरूलाई मोटरसाइकल, ट्याक्सी र सामान बोक्ने (हात्ती) गाडीको सेवा दिइरहेको छ। त्यस्तै, तत्कालका लागि ६ महिनासम्म राइडरहरूलाई कमिसन निःशुल्क गरिदिएको छ। जसअनुसार आगामी असोज मसान्तसम्म ‘सजिलो’ मा आबद्ध हुने राइडरहरूले कम्पनीलाई कुनै पनि शुल्क बुझाउनु पर्दैन।
राइड सेयररिङ एप ‘सजिलो’ सस्तो, भरपर्दो र सुरक्षित रहेको कम्पनीको दाबी छ। ‘नेपालकै उत्पादनमा राइड सेयररिङ एप ल्याएका छौं। यसले दिने सेवा सस्तो, सुलभ र सुरक्षाका दृष्टीकोणबाट पनि निकै नै भरपर्दो छ,’ कम्पनीका सिइओ अमिरले भने।
सजिलोमा सेवाग्राहीले राइड अनुरोध गरेको २ मिनेट ३० सेकेन्डभित्र कुनै पनि राइडरले अनुरोध स्वीकार नगरेको खण्डमा सेवाग्राहीले सिधै एडमिनलाई फोन गरेर निः शुल्क राइडर बोलाउन सक्ने व्यवस्था उपलब्ध गराएको छ। तर त्यस्तो परिस्थितिमा भने राइडर आउन केही समय लाग्नेछ।
‘राइडरले अनुरोध स्वीकार नगरेर ग्राहकले सिधैँ हाम्रो एडमिनलाई खबर गर्दा अर्को राइडर ग्राहकसम्म पुग्न भने लोकेशन हेरेर २० देखि २५ मिनेटसम्म समय लाग्न सक्छ,’ सिइओ अमिरले भने।
उनकाअनुसार सेवाग्राहीले प्रत्येक राइड प्रयोग गरेबापत २० रूपैयाँ छुट हुने र प्रत्येक १० राइड लिए बापत १५ प्रतिशत पैसा र्फिता हुने व्यवस्था छ।
सजिलो साथीको सेवा लिन सेवाग्राहीले गुगल प्ले स्टोर र एप स्टोरमा गएर सजिलो साथी सर्च गरी डाउनलोड गरी सेवा लिन सक्नेछन्।