इजिप्टमा नेपाली लोकप्रिय ब्रान्ड वाइवाइ उत्पादन गर्न उद्योग स्थापना हुने भएको छ। बिहीबार इजिप्टको बेनिसफमा आयोजित एक कार्यक्रमबीच वाइवाइ प्लान्टको शिलान्यास गरिएको हो।
सिजी कर्प ग्लोबल नेपालका अर्बपति विनोद चौधरीका गैर-आवासीय नेपाली (एनआरएन) छोराहरूद्वारा प्रवर्धित कम्पनी हो। उक्त कम्पनीले विश्वव्यापी रूपमा वाइवाइको विस्तारका अतिरिक्त हस्पिटालिटी क्षेत्रमा लगानी गर्दै आएको छ।
बेनिसफमा आयोजित कार्यक्रममा इजिप्टस्थित नेपाली दुतावासका चार्ज डि अफेयर्स दीपक घिमिरे र सिजी कर्प ग्लोबलका वरिष्ठ अधिकारीहरूको सहभागिता थियो। वाइवाइको प्लान्ट शिलान्याससँगै उद्योग स्थापना हुने ठाउँमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ।
सिजी कर्प ग्लोबलले विश्वव्यापी विभिन्न क्षेत्रमा काम गर्दैछ। दुवईस्थित जेएलटी होटल, काजखस्थित वाइवाइ प्लान्ट लगायतका ठाउँहरूमा पनि कम्पनीको लगानी रहेको छ।
वाइवाइ अन्तर्राष्ट्रिय बजारमा नेपालको सबैभन्दा प्रख्यात ब्राण्ड हो। नेपाल, भारत, बंगलादेश, युरोप, युरेसिया, सेन्ट्रल एसियाबाट वाइवाइ उत्पादन हुँदैछ। विश्व नूडल्स बजारमा तीन प्रतिशतको हिस्सा ओगट्दै वाइवाइ एक सशक्त ब्राण्ड बनेको छ।