दैलेखको नौमुले गाउँपालिकाका कृषकहरू परम्परागत र काम चलाउ खेतीबाट व्यावसायिक खेतीतिर लम्केका छन्। कोही तरकारी खेतीमा छन् त कोही अलैँचीमा। केही पशुपालनमा लागेका छन्। यी सबैको आम्दानी पनि बढेको छ।
नौमुले–५, नौलाथरकी पवित्रा आलेले व्यावसायिक रूपमा टमाटर खेती गर्न थालेको दुई वर्ष भयो। बारीमा एउटा टनेल बनाएर थोरै भए पनि व्यावसायिक खेती सुरु गरेकी उनले लगानी र मिहिनेतअनुसार आम्दानी पनि गरेकी छन्।
पवित्राले काँक्रो खती पनि पनि गरिन्। यसबाट पनि राम्रो आम्दानी भयो। ‘खेती सुरु गरेपछि दुई सिजन टमाटर लगायौँ, राम्रै फल्यो। अर्को एक सिजनमा राम्रो उत्पादन भएन,’ उनले भनिन्, ‘अहिले लगाएको बेमौसमी काँक्रो निकै राम्रो उत्पादन भयो।’
उनले प्रतिकिलो टमाटर २० देखि ३० रुपैयाँसम्म र काँक्रो सय रुपैयाँ रुपैयाँसम्ममा बेचिन्। उनले भनिन्, ‘चैत–वैशाखको खडेरीमा उत्पादन भएर होला काँक्रो टिपाटिप भयो। नौमुले बजारभन्दा बाहिर जानै परेन।’
थोरै लगानीको सानो व्यावसायिक खेतीमा सफल भएपछि पवित्रा अलैँची खेतीतर्फ लागेकी छन्।
अलैँची खेतीबारे उनले गत वर्ष तालिम लिइन्। तालिमपछि एउटा गैरसरकारी संस्था र गाउँपालिकाको सहयोगमा बिरुवा पाइन्। आफ्नो बारी छेउको ओसिलो खाली जमिनमा अलैँचीका बिरुवा रोपिन्। त्यो बिरुवाले अबको एक वर्षमा फल दिन सुरु गर्नेछ।
सामान्यतया अलैँचीको बिरुवाले रोपेको तीन वर्षमा उत्पादन दिन थाल्छ। एक पटक रोपेको बिरुवाले १५ वर्षसम्म अलैँची दिन्छ।
पवित्रासँगै उनको गाउँका अन्य किसानहरू पनि अलैँची खेतीमा लागेका छन्। सामान्यतया निकै महँगो मूल्यमा बिक्री हुने अलैँचीले थोरै मिहिनेतमा धेरै आम्दानी दिन्छ। खेर गएको ओसिलो जग्गा उपयोग हुन्छ। यसै कारणले गाउँलेहरू अलैँची खेतीतर्फ आकर्षित भएका हुन्।
‘अहिलेसम्म थोरै खेती गरे पनि त्यसअनुसारको आम्दानी भएको छ। अलैँचीबाट पनि राम्रै आम्दानी हुने आशा गरेका छौँ,’ पवित्रा भन्छिन्, ‘पहिलो पटक यही वर्ष उत्पादन गरेका छिमेकी दाइले ३५ हजार जतिको अलैँची बेच्नुभयो। हाम्रो पनि फल्न सुरु भएपछि त्यस्तै कमाइ हुने आशा छ।’
उक्त गाउँका बासिन्दाले आफ्नो बारीसँगै सामुदायिक वनमा पनि अलैँची खेती सुरु गरेका छन्। गैरसरकारी संस्था र गाउँपालिकाको सहयोगमा उनीहरूले सामूहिकरूपमा सामुदायिक वनमा अलैँची रोपेका हुन्।
नौलाथरका गाउँलहरूेमध्ये सबैभन्दा पहिले अलैँची उत्पादन गरेर बजारमा पुर्याएका कृषक हुन् मनबहादुर बुढा। उनले हालै ४५ हजार रुपैयाँको अलैँची बेचे। यो उनले सुरु गरेको व्यावसायिक खेतीको पहिलो ठूलो आम्दानी हो।
‘पहिले पनि दुई–चार बोट अलैँची बारीको एक छेउमा लगाएको हुन्थेँ। त्यसबाट वार्षिक १०–१५ हजारको बेच्थेँ,’ मनबहादुरले भने, ‘तालिम लिएपछि र बिरुवा सहयोग पाएपछि मैले यो वर्ष ४५ हजारको बेचेँ।’
मनबहादुर सुन्तला, माल्टा र टमाटर खेती पनि गर्ने गर्छन्। अहिले अलैँची खेतीमा गाउँ नै कस्सिएको उनले बताए। उनका अनुसार नौलाथरका बासिन्दाले सामुदायिक वनमा अलैँचीका १० हजार बिरुवा रोपेका छन्। यस काममा गाउँका २५ घरधुरी सहभागी छन्।
उनले भने, ‘आफ्नो निजी खेतबारीको आम्दानी व्यक्तिगत हुन्छ, सामूहिक रूपमा लगाइएको अलैँचीबाट हुने आम्दानी सामुदायिक वनकै कोषमा राखेर आवश्यकताअनुसार खर्च गर्ने कुरा छ।’
मनबहादुरका अनुसार सामुदायिक वनमा सामूहिक रूपमा लगाइएको अलैँचीले पनि उत्पादन दिने बेला भएको छ। यस खेतीमा नियमित गोडमेल र रेखदेखको भने कमी रहेको उनले बताए।
एक सिजनमा अलैँची निकालेपछि सामुदायिक वनको सामूहिक अलैँची खेती व्यवस्थित बनाउन छलफल भएको मनबहादुरले बताए। गाउँमा अलैँची सुकाउन दुई वटा भट्टी बनाइएको छ। गाउँलेहरूले भट्टीमा पालैपालो अलैँची सुकाउँछन्।
गाउँको कृषि उत्पादनका लागि बजारको समस्या छैन। गाउँपालिकाको केन्द्र रहेको नौमुले बजारमै धेरै खपत हुने गरेको छ। अलैँची किन्न व्यापारीहरू गाउँमै पुग्ने गरेका छन्।
व्यावसायिक तरकारी खेती र बंगुरपालनबाट राम्रो आम्दानी गरेका नौलाथरका गंगराम नाम्जाली मगरले अलैँचीमा पनि राम्रो भविष्य देखेका छन्। केही वर्षयता उनले बंगुरका बच्चा बेचेर सरदर वार्षिक दुई लाख रुपैयाँ कमाउने गरेको बताए।
‘मैले त तरकारी खेतीसँगै बंगुर र बाख्रापालन पनि गरेको छु। बंगुरबाट राम्रो कमाइ हुन्छ,’ गंगाराम भन्छन्, ‘अलैँचीमा पनि राम्रो भविष्य छ।’
उनले यस वर्ष ३५ किलो अलैँची उत्पादन गरेका थिए। गाउँमै आएका व्यापारीले प्रतिकिलो सात सय रुपैयाँमा किने। गाउँमा भट्टी बनेपछि अलैँची प्रशोधनमा सहज भएको उनले बताए।
जीवन धान्न परम्परागत खेती गर्दै आएका नौलाथरका कृषकहरू सानै भए पनि व्यावसायिक खेतीमा लागेपछि उनीहरूको आम्दानी पनि बढेको छ।
‘पहिले परम्परागत खेती गरिरहेका थियौँ। खेतीबाट राम्रो आम्दानी हुने कुरा हामीलाई थाहै थिएन,’ पवित्रा भन्छिन्, ‘व्यावसायिक रूपमा आफ्नै बारीमा खेती गरेर आम्दानी गर्न सकिन्छ भन्ने कुरा तालिम लिएपछि थाह भयो। अहिले सहज भएको छ।’
नौमुले गाउँपालिका–५ को नौलाथर जस्तै अरू गाउँमा पनि किसानहरूले अलैँची खेती गर्न थालेका छन्। गंगारामका अनुसार अलैँची उत्पादनको सम्भावना भएका सबै ठाउँमा खेती सुरु भएको छ।