स्थापनाको २२ वर्षमा इन्टरनेशनल मनि एक्सप्रेस (आईमएई) ले २० खर्ब रूपैयाँ बराबरको रेमिटेन्स भित्र्याएको छ।
आइतबार काठमाडौंमा आयोजित कम्पनीको २२ औं वार्षिकोत्सवको अवसरमा यस्तो जानकारी दिइएको हो।
‘क्षेत्रपाटीको एउटा कोठा जहाँ अफिस, किचन र बेडरुमसमेत एकैठाउँमा राखेर सुरु गरेको आईमएई यो अवस्थासम्म आइपुग्दा खुसी लागेको छ,’ अध्यक्ष ढकालले भने, ‘ यो हाम्रो परिवारको मात्र सफलता होइन, आम नेपाली र विशेषगरी विदेशमा रहेका नेपालीहरुको साथका कारण यो सम्भव भएको हो।’ ढकालका अनुसार हाल आईमएई समूहमार्फत् प्रत्यक्ष अप्रत्यक्ष रुपमा ४० हजार बढीले रोजगारी पाइरहेका छन्।
‘आईमएई शुरु गर्दा हुण्डिमा संलग्नहरूबाट तपाईहरू (आइएमइ ग्रुप) ले कति धम्कि पाउनुभयो होला,’ कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले भने,‘तर सत्यको बाटोमा हिड्नेले डराउनु पर्दैन भने जस्तै तपाईहरूले सफलता पाउँनु भएको छ ।’ अर्थमन्त्री शर्माले अहिले पनि ६० प्रतिशत रेमिटेन्स मात्रै औपचारिक बाटोबाट आएको बताए।
श्रमिकहरूले आफैले मोबाइलका माध्यमबाट रेमिटेन्स पठाउन सक्ने अवस्था बनिरहेकोले आगामी दिनमा औपचारिक माध्यमबाट आउने रेमिटेन्समा वृद्धि हुने अपेक्षा अर्थमन्त्री शर्माको छ।
रोजगारीका लागि जापानमा रहँदा नेपालमा पैसा पठाउन भएको समस्या समाधानका गर्ने क्रममा औपचारिक उपायको खोजी गर्न आईएमई जन्मिएको आइएमइ समूहका प्रबन्ध निर्देशक एवं उपाध्यक्ष हेमराज ढकालले बताए ।