सहरी घरमा हरियाली कम हुनु वा नहुनु अनौठो होइन। बगैंचा हुनु त फाटफुट मात्रै हो। आफ्नो घरमा थोरै भए पनि हरियाली होओस् भन्ने चाहना हुनु पनि अनौठो होइन।
यो चाहना पूरा गर्न कठिन पनि छैन। घर–कोठा सजाउन र हरियाली बढाउन 'इनडोर प्लान्ट' उपयोग गर्न सकिन्छ। इनडोर प्लान्टले घरको कोठा, कौसी र कुनाकाप्चा सजाउन सकिन्छ। यस्ता बिरूवा होटल र कार्यालयहरूका लागि झन् बढी उपयोगी हुन्छन्।
काठमाडौं उपत्यकामा इनडोर प्लान्ट उपलब्ध गराउनेमध्ये एक हो 'ग्रीन स्पेस नेपाल'।
ललितपुरकी शान्ति राई पाँच वर्षदेखि इनडोर प्लान्टको व्यवसायमा छिन्। उनी हात्तीवनस्थित आफ्नो निवासमै विभिन्न जातका स्वदेशी–विदेशी बिरूवा गमलामा हुर्काउँछिन् र बेच्छिन्। उनले बेच्ने बिरूवाले मात्रै होइन, गमलाले पनि ध्यान तान्छ। सबै जसो गमलामा रंगीन बुट्टा वा चित्र कोरिएको छ। अवसर अनुसारको शुभकामना सन्देश पनि लेखिएको छ।
'कलाकारहरूले ग्राहकको चाहनाअनुसार गमलामा चित्र कोर्ने र सन्देश लेख्ने काम गर्छन्,' २९ वर्षीया शान्ति भन्छिन्।
ग्राहकहरू शान्तिको निवासमै पुगेर इच्छाअनुसारको बिरूवा र गमला किन्छिन्। धेरैजसो ग्राहकले आफन्तको जन्मदिनमा उपहार दिने उद्देश्यले सन्देश लेखाउँछन्।
शान्तिका अनुसार उनीसँग हाल स्नेक प्लान्ट, पिस लिली, स्पाइडर प्लान्ट, मोन्सटेरा, सेन्सेभेरा, इङ्लिस-आइभी, सकुलेन्टका विभिन्न प्रजाति गरी ७० भन्दा धेरै प्रकार बिरूवा छन्। यीमध्ये केही स्वदेशी र केही विदेशी हुन्।
बिरूवा र गमलाअनुसार शान्तिको इनडोर बगैंचामा तीन सयदेखि पैंतीस सय रूपैयाँसम्म मूल्य पर्ने बिरूवा छन्।
शान्तिका अनुसार सुख्खा मौसममा ठिकै र मनसुनको समयमा बिरूवाको माग धेरै हुन्छ। उनले बिरूवा र गमला बेचेरै सरदर महिनाको एक लाखसम्म कमाइ गरिरहेकी छन्।
'यही कामबाट म वार्षिक १२ लाख रूपैयाँसम्म आम्दानी गर्छु। यसमा लगानी धेरै चाहिँदैन, मेहनत बढी चाहिन्छ। थोरै लगानीले पनि राम्रो आम्दानी हुन्छ।'
शान्ति व्यावसायिक नर्सरीबाट बिरूवा ल्याउँछिन्। माटो र मलको मात्रा मिलाएर गमलामा रोप्छिन्। आफूले गमलामा हुर्काएका बिरूवाबाट आफैं पनि नयाँ बिरूवा उत्पादन गर्छिन्।
उनका हजुरबुबाले घरमा बगैंचा बनाएका थिए। त्यही देख्दै हुर्केकी शान्तिलाई आफ्नो घरकोठा बिरूवाले सजाउने रहर थियो। रूचिअनुसार केही बिरूवा संकलन गर्थिन्।
'हजुरबा बगैंचा मन पराउनु हुन्थ्यो, आज मैले इनडोर प्लान्ट फैलाइरहेकी छु,' उनी भन्छिन्।
शान्तिले स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेकी छन्। एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा आबद्ध पनि छिन्। बिरूवाको कामलाई व्यवसाय बनाउने उनले सोचेकै थिइनन्। बिरूवा उत्पादनबारे ज्ञान पनि थिएन।
चार वर्षअघिको कुरा हो। एक जना साथीको जन्मदिनको निम्तो आयो। उपहार के लैजाऊँ भयो। शान्तिको दिमागमा एउटा उपाय फुर्यो– कोठामा यतिका बिरूवा छन्, यही एउटा दिन्छु।
उनले अर्की साथी रेस्मिता गुरुङलाई आफ्नो आइडिया सुनाइन्। साथीलाई पनि राम्रो लाग्यो। रेस्मिताले गमला रंगाएर चिटिक्क बनाइन्। सल्लाहले गमलामै शुभकामना सन्देश पनि लेखियो।
मनमा अलिकति संकोच मान्दै शान्ति उपहार बोकेर पुगिन्। परिणाम निकै रोमाञ्चक भयो। भेला भएका सबैले राम्रो माने।
'सबैको ध्यान हाम्रै उपहारमा थियो। पार्टीमै उपहार खोल्दा सबै जनाको आकर्षण गमला र बिरूवा भयो,' उनले भनिन्, 'यसपछि त साथीहरूले मसँग सोधखोज गर्न थाले। उपहारका लागि बिरूवा खोजिदिन आग्रह गर्न थाले।'
यसरी माग बढेको देखेपछि शान्तिले यसकै व्यवसाय सोचिन्। शान्ति र रेस्मिता मिलेर कोठामा भएका अरू गमलामा पनि रङ लगाउँदै चित्र कोर्न थाले। 'गुड भाइब्स, स्टे स्ट्रङ, न्यु बिगिनिङ, ह्याप्पी फार्दस डे, ह्याप्पी मदर्स डे, ह्याप्पी भ्यालेन्टाइन्स डे' इत्यादि लेख्दै बुट्टा कोरे। त्यसपछि 'डु यु वान्ट टु बाई द सस्टेनएबल ग्रीन गिफ्ट?' लेखेर ती बिरूवाको फोटो इन्स्टाग्राममा राखे।
शान्तिले कमेन्ट पछ्याउँदै ती व्यक्तिहरूलाई सम्पर्क गरिन्। नभन्दै अर्डर आउन थाल्यो। शान्ति र रस्मिता मिलेर 'ग्रीन स्पेस नेपाल' नामको इन्स्टाग्राम अकाउन्ट बनाए। कोठामा सजाइएका गमला र बिरूवाका फोटा राखे। बिस्तारै बिरूवा बिक्री हुन थाल्यो।
'सुरूको पाँच महिनामा ३० हजार रूपैयाँको बिरूवा बेच्यौं। मेहनत गर्ने हो भने यो व्यवसाय चल्छ भन्ने विश्वास भयो,' शान्तिले भनिन्, 'अनि म र रेस्मिता मिलेर अघि बढ्यौं।'
उनीहरूले बिरूवाको जात र संख्या बढाउँदै गए। पुष्प प्रदर्शनीहरूमा पनि भाग लिन थाले। ग्रीन स्पेसका उत्पादनप्रति धेरैको ध्यानाकर्षण भयो। दैनिकजसो अर्डर आउन थाल्यो। उनीहरूले उत्पादन बढाउँदै गए।
व्यवसाय हुने देखेपछि शान्तिले आफ्नो रूचिले जम्मा गरेका बाहेक सात हजार रूपैयाँमा माटाका ३० वटा भाँडा किनिन्। व्यावसायिक रूपमा यही नै उनको पहिलो लगानी थियो। उनका अनुसार अहिले पनि साढे तीन लाख रूपैयाँ जतिको मात्रै लगानी छ।
रेस्मिताले सबै माटामा भाँडा र गमलामा चित्र बनाइन्। कोठामा भएका बिरूवा काटछाँट गरेर गमलामा मिलाएर राखिन्। उनीहरूलाई अर्डर भ्याउन मुस्किल भयो। शान्तिले चिनजानका पाँच जना महिलालाई इनडोर प्लान्ट रोप्ने तालिम दिइन्। कोकोपिट (नरिवलको जटा) र माटो मिलाउने; पात, डाँठ र हाँगाबाट बिरूवा उत्पादन गर्ने र हुर्काउने तरिका सिकाइन्।
यसपछि नयाँ जात किन्नबाहेक बिरूवा खोज्न नर्सरी जानु परेन। तालिम लिएका महिलाहरूले बिरूवा उत्पादन गर्न थाले। बिरूवा र गमलाको संख्या बढ्न थालेपछि शान्तिले थप ठाउँ व्यवस्था गरिन्।
कोरोना लकडाउनको समयमा शान्तिले इनडोर प्लान्टबारे इन्टरनेटमा खोजी गरिन्। फुर्सद मिलेका बेला उनले अमेरिकाको एउटा अनलाइन कोर्स पनि लिइन्। घामको प्रकाशको अवस्था, प्रकाश अनुकूलको बिरूवा, स्याहार लगायतका कुरा सिकिन्। सामाजिक सञ्जालको पेज व्यवस्थापन र ग्राहकसँग सम्बन्ध बनाउने कुरा पनि बुझिन्।
लकडाउनमै उनले बोटबिरूवा सम्बन्धी थप कक्षा लिइन्। लकडाउन केही खुकुलो हुँदै गएपछि माग बढ्न थाल्यो। ग्राहकहरू घरमै आउन थाले। शान्ति र रेस्मिता मिलेर साझेदारीमा ग्रीन स्पेस नेपाल दर्ता पनि गराए।
'लकडाउनमै पनि मैले बिजनेस अफिसमा इनडोर प्लान्टले सजाएँ। धेरैले मन पराउनुभयो,' शान्तिले भनिन्, 'कर्पोरेट अफिसमा एकै पटक ठूलो संख्यामा माग आएपछि हामीले कम्पनी दर्ता गर्यौं।'
बिरूवा चाँडै ग्राहककोमा पुर्याउन उनीहरू डेलिभरी कम्पनीसँग जोडिए। काठमाडौं उपत्यकासँगै अन्य जिल्लाबाट पनि अर्डर आउन थाल्यो। हाल चितवन र पोखरामा ललितपुरका गमला र बिरूवाहरू पुगेका छन्।
दुई वर्ष शान्ति र रेस्मिताले सँगै काम गरे। दुई वर्षअघि रेस्मिता धरान बसाइ सरिन्। यसपछि यहाँ शान्ति एक्लैले व्यवसाय सम्हालेकी छन्। रस्मिता धरानमा भए पनि साझेदारी छँदैछ। उनीहरू धरानमा पनि यही व्यवसाय सुरू गर्ने तयारीमा छन्।
अहिले शान्तिलाई सघाउन सात जना छन्। अझै पनि माग पुर्याउन धौधौ परेको छ। शान्ति अलिक फराकिलो ठाउँ फेला पारेर हात्तीवनबाट सर्ने तयारीमा छिन्।
'इनडोर प्लान्टले घरको सजावट आकर्षक बनाउँछ। कोठामा शुद्ध र ताजा वायु प्रदान गर्छ,' शान्ति भन्छिन्, 'बिरूवाले कोठाको वातावरण नै फरक बनाइदिन्छ। बाहिर जस्तोसुकै भए पनि कोठाभित्र पुगेपछि आनन्दले सास फेर्न पाइन्छ। मान्छेको मुड ताजा हुन्छ।'
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी
(ग्रीन स्पेसको फेसबुक पेजका लागि यहाँ र इन्स्टाग्रामका लागि यहाँ क्लिक गर्नुहोस्। सम्पर्कः ९८१३७६०६९६)