आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटबाट स्वदेशमा स्थापित सिमेन्ट-क्लिङ्कर उत्पादन गर्ने उद्योगहरू संरक्षण तथा सम्बर्धन गर्न र देशको व्यापार-घाटा कम गर्न निकाशीमा नगद प्रोत्साहन र उद्योगहरूले उपभोग गर्ने विद्युत महशुलमा छुट दिइएको व्यवस्थालाई नेपाल सिमेन्ट उत्पादन संघले सकारात्मक तरिकाले लिएको छ।
प्रस्तुत बजेटमा निर्यातलाई प्राथमिकतामा राखी निर्यातका उच्च सम्भावना भएका वस्तुहरूमा सिमेन्ट र क्लिङ्करलाई समावेश गरी यसको निर्यातमा ८ प्रतिशत नगद प्रोत्साहन दिने व्यवस्था स्वदेशी उत्पादनमुलक उद्योगहरूको हितमा छ।
यसबाट देशमा प्रचुर मात्रामा रहेको कच्चा पदार्थ चुनढुंगाको उपयोगमा उल्लेखनीय वृद्धि हुन्छ। साथै, यी उद्योगहरू पूर्ण क्षमतामा संचालन भएमा एक सय ५० अर्बभन्दा बढी रकमको निकाशी गर्ने सम्भावना रहेको छ। यसले देशमा चुलिएको व्यापार-घाटा कम गर्न र विदेशी मुद्रा सञ्चिती गर्नमा उल्लेखनीय सहयोग पुग्छ।
आगामी बजेटबाट देशको औद्योगिक क्षेत्रको विकास गर्न एवम् निर्यात प्रर्वद्धन गरी आयात प्रतिस्थापन गर्न योगदान पुग्ने गरी भएको वार्षिक १० करोडभन्दा बढी रकमको विद्युत खपत गर्ने उद्योगहरूलाई विद्युत महशुलमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था समेत मिलाएको छ। यसले औद्योगीकीकरणमा योगदान पुग्ने र स्वदेशमा उत्पादित विद्युतको खपत स्वदेशमा नै हुने वातावरण सिर्जना हुने विश्वास संघले लिएको छ।