खाजा के खाने? हरेक दिन धेरैको दिमाग यही कुरा चल्छ।
युवा जमातले भने सजिलै रोज्छन्- मःम, चाउमिन, पिज्जा वा बर्गर। यस्तै खाजा धेरैको दैनिकी बनिसकेको छ। कार्यालयमा व्यस्त हुँदा होस् या घरमा। होटल नै जानुपर्ने बाध्यता छैन। आजभोलि डेलिभरी भइहाल्छ। यसरी नै एक वर्षदेखि विभिन्न थरीका बर्गरको स्वाद बाँडिरहेको छ 'क्वीन्स इटरी' ले।
झम्सिखेलबाट सानेपा चोक जाने बाटो हुँदै जाँदा इम्पेरियल कोर्ट हाउजिङ कम्प्लेक्सको विशाल टावरबाट अलिअगाडि सडकको छेउमा छ क्वीन्स इटरी। सफा, शान्त र चिटिक्क सानो क्याफे। एकातिर टेबलहरू मिलाएर राखिएका छन्। भान्सामा बर्गरका परिकार तयार भइरहन्छ। युवा जमात कोही बर्गर खाँदै, कोही प्रतीक्षामा हुन्छन्।
पारखीहरूलाई एकै ठाउँमा रोजाइअनुसारको बर्गर खाना पाउने गरी क्वीन्स इटरी खोलेको सञ्चालक सशान्त प्रधान बताउँछन्।
'बर्गर धेरैलाई मन पर्छ। तर हरेक दिन फरक स्वादको खान्छु भन्दा पाइँदैन,' सशान्त भन्छन्, 'क्वीन्समा त्यो व्यवस्था छ।'
क्वीन्स इटरीमा अमेरिकन स्वादको बर्गर पाइन्छ।
'यहाँ पाइने बर्गर अमेरिकन स्वादको छ,' उनी थप्छन्, 'यसका लागि हामीले दुई जना अमेरिकन खाद्य परामर्शदातासँग सहकार्य गरिरहेका छौं।'
क्वीन्स इटरीमा 'मेन' र 'स्पेसल' गरी दर्जनभन्दा बढी प्रकारका बर्गर पाइन्छ। मांसाहारी र शाकाहारी दुवै स्वादमा। सबभन्दा कम मूल्य, ४३० रूपैयाँमा ब्याल्क बिन बर्गर पाइन्छ। त्यस्तै सबभन्दा धेरै, नौ सय ४० रूपैयाँ पर्ने बिग न्यास्टी बर्गर हो।
सशान्तका अनुसार सबभन्दा रूचाइएको भने ग्रिल-चिकेन बर्गर हो। यसको मूल्य पाँच सय ३० रूपैयाँ छ। बर्गर बनाउन आवश्यक धेरैजसो सामग्री घरमै बनाइने र केही कच्चा पदार्थ आयात गरिने उनले बताए।
क्वीन्स इटरीमा अर्डरअनुसार बर्गर तयार गरिने हुँदा सफा र ताजा हुने उनको भनाइ छ।
बर्गर बनाउन र अन्य कामका लागि क्वीन्स इटरीमा दस जना कर्मचारी छन्। उनीहरूले अर्डरअनुसार बर्गर होम डेलिभरी पनि गर्छन्।
'सानेपा आसपासबाट आएका अर्डर आफैं डेलिभरी गर्छौं,' सशान्तले भने, 'उपत्यकाका अन्य ठाउँबाट अर्डर आउँदा फूडमान्डुको सहकार्यमा डेलिभरी भइरहेको छ।'
क्वीन्स इटरीमा बर्गर खाने र अर्डर गर्नेको संख्या उस्तै रहेको उनले बताए।
'धेरैले यहाँको बर्गर रूचाउनु भएको छ। एकपटक आएकाहरू फेरिफेरि आउनुहुन्छ,' उनले खुसी हुँदै सुनाए, 'कतिपयले त क्वीन्स नामै मन पराउनु भएको छ।'
सशान्तले क्वीन्स इटरी सञ्चालनमा ल्याएको चार वर्ष भयो। राम्रो प्रतिक्रिया पाएसँगै काठमाडौं बाहिरबाट आउटलेटको माग आइरहेको छ। पोखरा, नारायणघाट लगायत सहरबाट युवाहरूले आउटलेटका माग गरिरहेका उनले बताए। सशान्त भने तत्काल आउटलेट नदिने योजनामा छन्।
अहिले व्यवसाय विस्तारभन्दा पनि क्वीन्सले गुणस्तरमा ध्यान दिइरहेको बताउँदै उनले भने, 'विस्तारै शाखा खोल्दै जाने सोच छ।'
उमेरले ३० वर्ष टेकेका सशान्तमा जोस उत्तिकै देखिन्छ। उनी बर्गरमा भविष्य खोजिरहेका छन्। उनको पारिवारिक पृष्ठभूमि होटल व्यवसाय होइन। पत्रकारिताका विद्यार्थी हुन्। केही पत्रिकामा फ्रिल्यान्सरका रूपमा लेख्छन्। संगीतमा उत्तिकै रूचि छ।
अरू क्षेत्रमा रमाइरहेका सशान्तलाई बर्गर क्याफे खोल्ने सोच कसरी आयो?
उनी सानैदेखि बर्गर खान्थे। मनपर्ने खाजामध्ये पर्थ्यो बर्गर। ठूलो भएपछि विभिन्न सिलसिलामा विदेश जाने क्रम बढ्यो। धेरै मुलुकका बर्गर खाए। ती स्वाद नेपालमा पाइनेभन्दा फरक पाए।
'अमेरिका, जापान, थाइल्यान्ड लगायत देशमा बर्गर खाँदा यहाँको भन्दा स्वाद फरक पाएँ,' उनले भने, 'ती स्वाद मुखमै झुन्डियो।'
मिठो स्वादले दिमागमा आइडिया पनि फुरायो, उनी सोच्न थाल्यो, त्यही स्वादको बर्गर बनाउने।
तर कसरी सम्भव होला? फेरि विदेशमा खाएको बर्गरको स्वाद बनाउने कसरी?
कुनै आइडिया थिएन। आँट र मेहनत भने भरपुर थियो। यत्ति भए जस्तोसुकै काम पनि गर्न सकिन्छ भन्ने लाग्यो उनलाई।
यसअघि नै क्याफे खोल्ने रहर पालेर बसेका थिए उनी।
'सहरमा क्याफे कल्चरको विकास भइरहेको देख्दा पछि एउटा सानो क्याफे खोल्छु भन्ने धेरै पहिलेदेखि सोचेको थिएँ,' सशान्तले भने, 'पछि क्याफेसँगै बर्गरमा रूचि भयो।'
बर्गरको फरक स्वाद पस्किने गरी क्याफे खोल्ने योजना बनाए उनले। घर सल्लाह गरे। साथीसँग प्रस्ताव गरे। कुरा मिल्यो। कहाँ खोल्ने भन्ने हुँदै थियो, त्यही बेला सानेपास्थित उनको घरको भुँइतला खाली भयो।
परिवार र साथीसँगको छलफलपछि उनले घरको भुँइतलालाई चिटिक्क बनाए। एक जना साथीसँग मिलेर ३० लाख रूपैयाँ लगानी गरे। अनि सन् २०१९ मा उनले क्वीन्स इटरी सञ्चालनमा ल्याए।
क्वीन्स सञ्चालनमा आएको केही महिनामै कोरोना लकडाउन भयो। भर्खरै खुलेको क्याफे बन्द गर्नु परे पनि सशान्तले हार मानेनन्। बर्गरका परिकार बढाउन विभिन्न काम गरे। थप अनुसन्धान गरे।
'लकडाउनले सबै काम बन्द भए पनि घरमै बसेर यसबारे थुप्रै काम गर्ने अवसर पाएँ,' उनी सुनाउँछन्।
अब उनको सपना छ- क्वीन्सको बर्गरलाई ब्रान्डका रूपमा स्थापित गर्ने। क्वीन्सले पस्किने बर्गरका परिकार सबैतिर बाँड्ने।
छोटो समयमै चित्त बुझ्दो व्यापार भएकाले उनी सन्तुष्ट छन्। आफूजस्ता युवाहरूलाई पनि स्वदेशमै बस्न र केही गर्न सुझाव दिन्छन्।
'घुमफिर वा कामका सिलसिलामा जुनसुकै देश पुगे पनि फर्केपछि त्यहाँको सीप, त्यहाँ देखेका नयाँ कुराको उपयोग नेपालमै गर्नुपर्छ,' उनी भन्छन्।
सम्पादकीय नोटः हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। (setopati@gmail.com
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)