अहिले सुर्खेतको वीरेन्द्रनगरस्थित इत्राममा मौरीका ८४ वटा घार छन्।
कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयअगाडि खाली जग्गामा राखिएका ती घार कुनै किसानको व्यवसाय भने होइन।
ती मौरीका घार हुन् बराहताल गाउँपालिका–५ स्थित जनज्योति माध्यमिक विद्यालयका। मौरीपालनका हेरालु चेतन चालिसेका अनुसार यी घार बड्डीचौरबाट केही महिनाअघि सुर्खेत सारिएका हुन्।
'अरिंगालबाट सुरक्षित राख्न मौरीका घार वीरेन्द्रनगर ल्याइएको हो,' उनले भने, 'बड्डीचौरमा मौरी राखिएको ठाउँमा धेरै जंगल भएकाले बर्खाको मौसममा अरिंगालले बढी सताउँछ।'
विद्यालयका सय घारमध्ये केही चाहिँ बड्डीचौरमै छन्। सुर्खेतमा ल्याइएका यी मौरी अझै केही महिना यतै रहनेछन्।
जनज्योति माध्यमिक विद्यालयले व्यावसायिक रूपमा मौरीपालन गरेको दस वर्ष भयो। स्कुलमा प्राविधिक विषय सुरू गर्न सहयोगार्थ २०६९ सालमा आयोजित महायज्ञमा एक जना स्थानीय कृषकले दस वटा घार मौरी दान गरेका थिए। तिनै घार राखेर स्कुलले व्यावसायिक मौरीपालन सुरू गरेको हो।
'हामीले महायज्ञ गरेर स्कुलको नाममा दान–चन्दा माग्दा कलाधर जैसीले दस घार मौरी हामीलाई दान गर्नुभयो,' जनज्योति माविका प्रधानाध्यपक नारायण सिग्देलले भने, 'हामीले त्यो दान स्वीकार गरेर विद्यालयको तर्फबाट मौरीपालन सुरू गरेका हौं।'
कलाधर गाउँमा व्यावसायिक मौरीपालक थिए। उनीसँग त्यस बेला बाइस घार मौरी थिए। विद्यालयले व्यावसायिक पालन गर्ने भएपछि बाँकी बाह्र घार पनि विद्यालयलाई नै बेचिदिए। प्रधानाध्यापक सिग्देलका अनुसार महायज्ञ सकिएको केही दिनपछि कलाधरले बाँकी मौरी पनि किन्न आग्रह गरे। विद्यालयले हेरालु बस्नु पर्ने शर्त राख्यो। कलाधर तयार भए। यसरी विद्यालयले बाइस घार राखेर मौरीपालन सुरू गर्यो।
त्यति बेला विद्यालयले कलाधरसँग प्रतिघार छ हजार रूपैयाँका दरले बाह्र घार थिए। अहिले एउटा मौरी घार कम्तीमा दस हजार रूपैयाँ पर्छ। प्रधानाध्यापक सिग्देलका अनुसार मौरीपालनको भौतिक सम्पत्ति कम्तीमा दस लाख रूपैयाँ बराबर भएको छ।
'यसबाट विद्यार्थीले आर्जन गरेको ज्ञान र सीप उक्त भौतिक सम्पत्तिको तुलनामा कयौं गुणा बढी छ,' प्रधानाध्यापक सिग्देलले भने।
त्यति बेला विद्यालयले कृषि क्याम्पसका लागि भनेर महायज्ञ गरेको थियो। हाल कृषि र भेटिरिनरीतर्फ कक्षा एघार र बाह्र सञ्चालनमा छन्। क्याम्पस भने सञ्चालन हुन सकेको छैन। कृषिमा बिएससी पढाउने विद्यालयको योजना पूरा भएको छैन।
प्रधानाध्यापक सिग्देलले भने, 'मध्यपश्चिम विश्वविद्यालय र रामपुर क्याम्पसले बेलाबेला हेरेका भए पनि स्नातक तहको प्राविधिक पढाइ सुरू हुन सकेको छैन।'
स्कुलले भेटिरिनरी र कृषितर्फ १८ महिने र तीन वर्षे कक्षा सञ्चालन गरेको छ। मौरीपालनमा कृषि विषयका विद्यार्थीले केही श्रम गरेका हुन्छन्, खास गरी मह निकाल्ने समयमा। केही वर्षयता मौरीपालनबाट वार्षिक कम्तीमा दस क्विन्टल मह उत्पादन भइरहेको छ। स्कुलबाटै बिक्री हुन्छ। केही मात्रामा सुर्खेतको वीरेन्द्रनगर र काठमाडौं पठाइन्छ।
'वार्षिक दस क्विन्टल भनेको यहाँको न्यूनतम मूल्य नै छ लाख रूपैयाँ हो। त्यसबाट हेरालुलाई वर्षको डेढ–दुई लाख तलब दिएर बाँकी हाम्रो आम्दानी हो,' सिग्देलले भने, 'चरन क्षेत्र बढाउन सके अझ धेरै उत्पादन हुन्छ।'
जनज्योति माविले मौरीका लागि चरनयोग्य बिरुवा लगाउने योजना बनाएको छ। प्रधानाध्यापक सिग्देलका अनुसार अहिले विद्यालयले कागतीको बिउ मगाएको छ। आफैं नर्सरी राखेर बेर्ना उत्पादन गर्ने तयारी छ।
सिग्देलका अनुसार कागतीको बेर्ना विद्यार्थीलाई चार–पाँच वटाका दरले उनीहरूका घरमा रोपेर हुर्काउन लगाउने योजना छ। अन्य इच्छुक स्थानीय बासिन्दाले पनि बिरूवा निःशुल्क पाउने छन्। यति गर्न सके गाउँमा कागती फुल्दा मौरीलाई चरन हुने र गाउँलेले कागती बेचेर केही आम्दानी हुने अपेक्षा विद्यालयको छ।
मौरी चर्नयोग्य अन्य पनि बिरुवा पनि मगाएर प्रत्येक विद्यार्थीका बारीमा हुर्काउने योजना पनि रहेको प्रधानाध्यापक सिग्देलले बताए। विद्यालयले मह प्याकेजिङ गराउँछ। प्याकेजिङ गरिएको मह विद्यालयबाट फुटकर प्रतिकेजी आठ सय रूपैयाँमा बिक्री हुन्छ। होलसेल मूल्य बढीमा सात सय रूपैयाँ पर्छ। यही मह काठमाडौंमा ९५० मा रूपैयाँमा बिक्री हुन्छ।
प्रधानाध्यापक सिग्देलका अनुसार विद्यालयले उत्पादन गरेको मह विदेश निर्यात गर्ने तयारी छ। यसका लागि काठमाडौंस्थित 'गोल्डेन ग्रुप' सँग सम्झौता भएको छ।
'हामीले एउटा सम्झौता गरेका छौं,' सिग्देलले भने, 'उहाँहरूले आफ्नो ब्रान्ड बनाएर हाम्रो मह चाँडै विदेश पठाउनुहुन्छ।'
जनज्योतिको मह ब्रान्डिङ गर्दा एकतर्फ विद्यालयको र अर्कोतर्फ निर्यातकको नाम राखिनेछ। सिग्देलका अनुसार चाँडै दुई क्विन्टल मह विदेशी बजारमा पुग्नेछ।
स्कुलले तोरी फुल्ने समयमा मौरी चर्न कैलाली पठाउँछ। बर्खाको समयमा वीरेन्द्रनगर ल्याएर स्थानीय प्रजातिका फूलमा चराउने गरिएको छ।
२०२९ सालमा स्थापित जनज्योति माविमा हाल २६ जिल्लाका विद्यार्थी प्राविधिक शिक्षा पढ्दै छन्। प्राविधिक शिक्षाअन्तर्गत अभ्यास कक्षाका लागि आवश्यक सबै संरचना विद्यालयसँग छ। मौरीपालनसँगै विद्यालयले विद्यार्थीको प्रत्यक्ष सहभागिता हुने गरी अरू कृषि कर्म पनि गरेको छ। पाँच रोपनी जग्गा भाडामा लिएर माछा, बंगुर र कुखुरा पालिएका छन्। च्याउ र अन्य तरकारी खेती पनि छ।
जनज्योति माविले आफ्ना विद्यार्थीलाई ससानो ऋण दिएर पढाइसँगै व्यवसाय गरेर कमाउन पनि प्रेरित पनि गर्छ।यसनिम्ति चार वर्षयता पढ्दै–कमाउँदै कार्यक्रम चलिरहेको छ। यसअन्तर्गत ऋण लिएर व्यवसाय गर्न चाहने विद्यार्थीले आफ्नो समूह गठन गर्नु पर्छ। रोजेको व्यवसायसम्बन्धी एउटा प्रस्तावना तयार गरी कक्षा शिक्षकलाई बुझाउनु पर्छ। त्यो हेरेर कक्षा शिक्षकले विद्यालयलाई सिफारिस गर्छन्।
यस प्रक्रियाबाट विद्यार्थीको समूहले एक लाख रूपैयाँसम्म ऋण पाउँछ। अझै लगानी आवश्यक भए बैंकिङ प्रक्रियाबाट ऋण पाउन पनि विद्यालयले सहजीकरण गरिदिन्छ।