सर्वोत्तम सिमेन्टले सिमेन्ट उत्पादनका लागि नेपाल विद्युत प्राधिकरणबाट थप ९ मेगावाट विद्युत प्राप्त गर्ने भएको छ। यस सम्बन्धमा नेपाल विद्युत प्राधिकरण र सर्वोत्तम सिमेन्टबीच विद्युत खरिद-बिक्री सम्झौता सम्पन्न भएको छ।
सम्झौतामा नेपाल विद्युत प्राधिकरणका तर्फबाट निर्देशक सच्चिदानन्द यादब र सर्वोत्तम सिमेन्टका तर्फबाट कम्पनी सचिव नबराज पौडेलले हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार सर्वोत्तम सिमेन्ट लिमिटेड लाई हाल ८ मेगावाट विद्युत प्रदान गरि रहेको मा थप ९ मेगावाट विद्युत प्रदान गर्ने सहमति भएको छ।
यससँगै सर्वोत्तम सिमेन्टले अब १७ मेगावाट विद्युत प्राप्त गर्ने भएको छ। यसका लागि थप विद्युत प्राप्त गर्नको लागि आवश्यक हुने विद्युतिय सामाग्री तथा ट्रान्सफरमर जडान कार्य अगाडी बढाइएको छ।
कम्पनीले आन्तरिक श्रोतको सदुपयोग गर्दै देशभित्र उत्पादित जलविद्युतको खपत देशभित्रै बढाउने सरकारको योजनामा सघाउनुका साथै यस अघि सिमेन्ट उत्पादनका लागि अन्य श्रोतबाट प्राप्त गरिरहेको उर्जाको खपतलाई समेत घटाउन मद्दत पुग्ने विश्वास लिएको छ।
कम्पनीले सर्वोत्तम ब्राण्डमा हाल दैनिक ३००० मेट्रिक टन क्लिंकर र ३००० मेट्रिक टन सिमेन्ट उत्पादन गरिरहेको तथा निकट भविष्यमै २०००-२००० हजार मेट्रिक टन क्षमता थप गर्ने तयारी गरिरहेको छ।